न्यु डायमन्ड र एपीएफ विजयी- खेलकुद - कान्तिपुर समाचार

न्यु डायमन्ड र एपीएफ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । डायमन्डकी रिमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।

उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले १० हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो खेलमा साबिक विजेता नेपाल एपीएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गर्‍यो । पुलिस सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप विजेता टोली हो । एपीएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजारसहित ट्रफी प्राप्त गरिन् ।

यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्यसचिव घिसिङले भलिबलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गरे ।

प्रतियोगितामा तीन विभागीय टोली र न्यु डायमन्डको सहभागिता छ । गण्डकी प्रदेश टिम र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने बताइए पनि दुई टिमले भाग लिएनन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित प्रतियोगिता माघ २४ सम्म चल्नेछ । विजेताले ३ लाख, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सलिना सम्मानित

न्यु डायमन्डकी लिबेरो एवं राष्ट्रिय भलिबल टोलीकी सलिना श्रेष्ठलाई शेरबहादुर खड्का प्रतिष्ठानले उद्घाटनका अनवरमा नगदसहित सम्मान गरेको छ । उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका कदर गर्दै ५० हजारसहित स्पेसल अवार्डबाट सम्मानित गरिएको होशेरबहादुर खड्का स्मृति प्रतिष्ठानबाट न्यु डायमण्ड युथ स्पोर्टसकी सलिना श्रेष्ठ स्पेसल अवार्ड ग्रहण गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : माघ २१, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट बनेका पाँच भवनको एकैसाथ उद्घाटन

राजकुमार कार्की

सिन्धुली — भारत सरकारको सहयोगमा निर्माण सम्पन्न पाँचवटा भवनको शनिबार एकैसाथ उद्घाटन गरिएको छ । भारतीय दूतावास मार्फत निर्माण भएका दुईवटा विद्यालय  र तीनवटा स्वास्थ्य चौकी भवनको राजदूत नवीन श्रीवास्तवले कमलामाइ नगरपालिका वडा नं १ को चण्डेश्वरी माविमा आयोजित कार्यक्रममा एकसाथ उद्घाटन गरेका हुन् । 

चण्डेश्वरी माविको भवन १२ वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । २ करोड ३१ लाखको लागतमा २ तले निर्माण सम्पन्न भएको भवनको शिलान्यास भारतीय राजदूतले २०६५ सालमा शिलान्यास गरेका थिए । २०६८ सालमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन भने हुन सकेको थिएन ।

भर्खरै निर्माण सम्पन्न भएको तीनपाटन गाउँपालिका २ को भवानी माविको भवन चण्डेश्वरी माविमै व्यानर राखेर उद्घाटन गरिएको थियो । उक्त भवन चार करोड १९ लाखको लागतमा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । भवन १० वर्षमा बनेको हो । दूतावासबाट रकम निकासा ढिला भएकाले समय बढी लागेको जनाइएको छ । दुवै भवनको सिद्धबाबा कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।

उक्त क्षेत्रमा दुई करोड ११ लाखको लागतमा तीनवटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएका हुन् । सुनकोसी गाउँपालिकाको दुम्जा र गोलन्जोर गाउँपालिकाको बाशेश्वर र ग्वाल्टारमा स्वास्थ्यचौकी भवन बनेका छन् । उद्घाटन कार्यक्रम भारतीय राजदूत श्रीवास्तवले पाँचवटा भवन सम्पन्न गर्न ८ करोड खर्चिएको बताए । काममा भएको ढिलासुस्तीले रकम निकासा समेत ढिलो भएको राजदूत श्रीवास्तवको प्रष्टोक्ती थियो । काम जुन गतीमा हुन्छ, पैसा त्यहि गतीमा आउ“छ, उनले भने, ‘एउटा विद्यालय तीन वर्षमै बन्यो । अर्कोलाइ १० वर्ष लाग्यो ।’

राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत–नेपाल मिलेर अघि बढे दुवै देशलाई फाइदा हुने बताए । विकास निर्माणमा गरेको सहयोगले भारत र नेपालको सदियौंदेखिको मित्रता अझ प्रगाढ भएर जाने उनको विश्वास थियो ।

नेपाल र भारत छिमेकी मुलुक मात्र नभएर भाइचाराको सम्बन्ध रहेको राजद‍ूत श्रीवास्तवको भनाइ थियो । भारतीय दूतावासका विकास साझेदारी एवं पुनर्निर्माणका प्रथम सचिव करुण बंसलले जनताको जीवनस्तर उकास्ने कार्यक्रममा भारत सरकार सहयोग गर्न इच्छुक रहेको बताए । विद्यालय बस र स्वास्थ्यचौकीलाई एम्बुलेन्स माग भएमा सहयोग गर्ने उनले जनाए । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले शीत भण्डार र भुइँकटहर उद्योग स्थापनामा सहयोग गर्न राजदूत श्रीवास्तवलाई आग्रह गरेका थिए ।

प्रकाशित : माघ २१, २०७९ १७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×