रेजिना कपको उपाधि ओखलढुंगाले जित्यो - खेलकुद - कान्तिपुर समाचार

रेजिना कपको उपाधि ओखलढुंगाले जित्यो 

कान्तिपुर संवाददाता

संखुवासभा — भोजपुरलाई हराउँदै ओखलढुंगा भलिबल टिमले १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।संखुवासभाको खाँदबारीमा शनिबार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ को अन्तरले हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेस्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । 

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । वेस्ट स्पाईकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारीका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार र २ सय १० तोलको चाँदीको शिल्ड हात पार्‍यो । उपविजेता बनेको भोजपुरले ५५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माविले जनायो । विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।

प्रकाशित : माघ २१, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

माओवादीले संगठन सुदृढीकरण अभियान चलाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन् । 

पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सबै केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय भएको उनले बताए ।

'दुई महिनापछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने भन्ने निर्णय भयो । सबै फिल्डमा जाने र केन्द्रीय समितिको निर्णय गर्ने र त्यसका लागि सबै कमिटी मञ्चको बैठक बस्ने निर्णय भयो । चुनावको समीक्षाको विषयमा ठाउँठाउँमा घात, अन्तर्घात भयो, यसको निमित्त फिल्डको रिपोर्ट बुझ्ने कुरा भएको छ । माघको २६ गतेदेखि ५ गतेभित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने निर्णय भएको छ । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रुपमा केही निर्देशन र केही वक्तव्यहरू छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ,’ उनले भने ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिए । पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उनले जानकारी दिए । '२ महिना सबै फिल्डमा जाने, पार्टी पंक्तिबाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रिय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ,' उनले भने । दुई महिना पार्टी कार्यकर्ता र जनताबाट आएपछि केन्द्रीय समिति बैठक बसेर नयाँ कार्ययोजनासहित अगाडि बढ्ने उनको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७९ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×