तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई- खेलकुद - कान्तिपुर समाचार

तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई

कान्तिपुर संवाददाता

नुवाकोट — अन्तरपालिकास्तरीय 'प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता'को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।तादी गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार अमरज्योति नमुना मावि, खरानीटारको मैदानमा भएको फाइनल खेलमा आयोजक टिमलाई हराउँदै म्यागङको टिम च्याम्पियन बनेको हो ।

२५-१५-२५-२५ स्कोर बनाउँदै म्यागङ विजेता बन्यो भने उपविजेता तादीले २१-२५-२३-२२ स्कोर बनाएको थियो । पञ्चकन्याको टिम तेस्रो बनेको छ ।

तादी गाउँपालिकाका कर्मचारी राजेश श्रेष्ठका अनुसार शुक्रबार भएको सेमिफाइनलमा पञ्चकन्या गाउँपालिकाको टिमलाई हराउँदै म्यागङ फाइनल प्रवेश गरेको थियो । म्यागङले सेमिफाइनलमा २५-२५-२५ सोझो सेटमा पञ्चकन्यालाई पराजित गरेको थियो । पञ्चकन्याले २०-२४-२४ स्कोर बनाएको थियो ।

उपविजेता बनेको तादी सेमिफाइनलमा दुप्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । तादीले २०-२५-२५-२५ र दुप्चेश्वरले २५-१५-२०-२१ स्कोर बनाउन सफल भएको थियो ।

विजेता टिमले ट्रफीसहित १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गरेका छन् ।

'खेलमार्फत विकास अनुशासन र गतिशीलता' भन्ने मूल नाराका साथ यही माघ १८ देखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । समापन समारोहमा संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, प्रदेश सांसद रमेशकुमार महत, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी लगायत सहभागी थिए ।

प्रकाशित : माघ २१, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ

पर्वत पोर्तेल

झापा — भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् ।

भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी) को ४१ औं बटालीयनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन र सोफी उल आलम छन् । एसएसबीले बंगलादेशीलाई अवैध रुपमा नेपाल प्रवेश गराउन सहयोग गर्ने भारतको जलपाइगुडीका मोहम्मद हुसेन र कोच बिहारका मोहम्मद सिपानलाई समेत पक्राउ गरिएको एसएसबी श्रोतले जनाएको छ ।

अभियुक्तहरुलाई खोरीबारी प्रहरीले सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×