काठमाडौँ — नेपाली यू–२० महिला टिमले शनिबार साफ यू–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा शुक्रबार पहिलो दिन नेपाली टिम प्रीति राईको कप्तानीमा उत्रेको थियो । दुई गोलले पछि परेको स्थितिमा नेपालका लागि एकमात्र गोल मनमाया दमाईले २४ औं मिनेटमा गरेकी थिइन् ।
बंगलादेशबाट अक्लिमा खातुन, सम्सानुहर र साहिदा अख्तरले गोल गरे ।
प्रतियोगितामा नेपाल र बंगलादेशसहित चार टिमको सहभागिता छ । डिफेन्डिङ च्याम्पियन भारतले उद्घाटन खेलमा भुटानलाई १२–० ले हराएको थियो । भुटानविरुद्ध भारतबाट नेहा, अनिता र लिन्डाले ह्याट्रिक गरेका थिए ।
साबिक उपविजेता नेपालले आइतबार भुटानसँग खेल्नेछ । अर्को खेलमा बंगलादेश र भारतको प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।
काठमाडौँ — नेपाली आकासमा उड्ने विमान तथा हेलिकोप्टरमा सन् २०२२ मा कम्तीमा १ सय वटा छड्के (आकस्मिक) जाँच गरिएको सिनामंगलस्थित फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले जनाएको छ ।
विभाग अन्तर्गतको एयरओर्दिनेस डिभिजनका प्रबन्धक रितेशराज पन्तका अनुसार नेपालमा दर्ता भएका २१ वटा हेलिकोप्टर र विमान कम्पनी (फिक्स्ड विङ) का वायुयान उडानयोग्य भए/नभएको अनुगमन गर्न कम्तीमा सय आकस्मीक जाँच गरिएको थियो ।
ती जाँचमा इन्जिनियर तथा प्राविधिकले नियम अनुसार मर्मतसम्भार गरे/नगरेको, यन्त्र तथा उपकरण पर्याप्त राखे/नराखेको लगायत प्राविधिक विषयमा जाँच गरिएको थियो । ‘सय हाराहारीका आकस्मिक जाँचमा मापदण्ड पालना नभएका कुनै घटनामा इन्जिनियर/प्राविधिकलाई सचेत गरायौं, कुनैमा रिफ्रेस तालिममा लिन लगाइयो, कतिपयमा कमजोरीमा आधारित दण्ड जरिवाना तोक्यौं,’ इन्जिनियरसमेत रहेका पन्तले भने ।
यस विभागमा जहाजको उडानयोग्यता जाँच्न ८ जना प्राविधिक छन् । यीनले यहाँ संचालनमा रहेका २१ वटा वायुसेवा कम्पनीका वायुयानको उडानयोग्यता तथा ती वायुयान मर्मत सम्भार गर्न तिनमा कार्यरत ४ सय ३० जना ‘लाइसेन्स होल्डर’ इन्जिनियरलाई जाँच, नियमन तथा पर्यवेक्षण गर्छन् ।
फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सन् २०२२ मा गरेका सय आकस्मिक जाँचबाहेक नियमित जाँच पनि हुन्छन् । तिनको भने वार्षिक तालिका प्रकाशन हुन्छ । तालिका अनुसार प्राविधिकहरुले वायुयानको उडान समयका आधारमा नियमित चेकजाँच गर्नुपर्छ । तिनले गरेको कामको पुन: फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागलाई पनि जानकारी गराउनुपर्छ । यसबाहेक जहाज उडान वृद्धि हुन्छन् । त्यस क्षेत्रमा पनि सेफ्टी स्ट्यान्डर्ड विभागका इन्जिनियर आकस्मिक जाँचमा जाने गर्छन् ।
वायुयान दर्ता गर्ने, उडानयोग्यता प्रमाणपत्र दिने, प्रमाणपत्र अनुसार जहाजको योग्यता सुनिश्चित गर्ने यस विभागले एयरलायन्सका इन्जिनियरलाई पनि अनुमतिपत्र जारी गर्छ । यसले विमानहरुको मर्मत सम्भार हुने बेस मेन्टिनेन्स सेन्टर (ह्यांगर) मा पनि अनुगमन गर्छ । हाल काठमाडौंमा आन्तरिक उडानमा रेहका बुद्ध, यती, श्री र नेपाल वायुसेवासँग मात्रै जहाज मर्मत गर्ने ह्यांगर रहेका छन् । अन्यले यीनकै ह्यांगर भाडामा लिई जहाज मर्मत गर्छन् ।