कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विदेश पलायन रोक्न तीन महिने लिग

लिगको एक महिने काउन्टडाउन
विनोद पाण्डे

भैरहवा — स्थापित फुटबलरहरू विदेश पलायनको लर्को छ । एकपछि अर्का फुटबल खेलाडीहरूले सुरक्षित भविष्यको आसमा देश छाडिरहेका छन् । पछिल्ला केही महिनायता मात्रै तीन दर्जनभन्दा बढी खेलाडी विदेश लागिसकेका छन् । ‘ए’ डिजिभन क्लबहरूलाई राम्रा खेलाडीको खडेरी परिसकेको छ । 

विदेश पलायन रोक्न तीन महिने लिग

विदेश लागेका खेलाडीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया छ । सदाबहार मिडफिल्डर विशाल राई पछिल्ला खेलाडी रहे, जसले विदेशमै भविष्य देखे । शुक्रबार उनी पनि अस्ट्रेलिया लागे । विशालको यात्राले नेपाली फुटबलमा अर्को सन्नाटा ल्याइदिएको छ । ए डिभिजन लिग हुन लागेको अवस्था र मछिन्द्र क्लबसँग सम्झौता गरे पनि उनले प्रवासको बाटो रोजे । तर, उनले विगतको अवस्था मनन गर्दै सम्भवतः पत्याउने ठाउँ देखेनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूको खिचातानी तथा क्लबले पारिश्रमिकमा अल्झाउने समस्याले उनलाई पनि पोलेको हुनुपर्छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ मा सुरु हुँदै छ । अर्थात नेपाली फुटबलको मेरुदण्ड मानिएको लिग सुरु हुन एक महिनामात्र बाँकी छ । एन्फाका महासचिव किरण राईले लिगको तयारी द्रुत गतिमा अगाडि बढेको र महिना दिन बाँकीको समयलाई काउन्टडाउनमा लिएको बताए । उनले स्थापित खेलाडी पलायनको शृंखला दुःखद पक्ष भएको सुनाए ।

महासचिव राई खेलाडीलाई विदेशी पलायनबाट रोक्न एन्फाले केही कार्यक्रम ल्याइरहेको बताउँदै थिए । पहिलो योजना सहिद स्मारक लिग नै भयो । नियमित हुन नसकेको सहिद स्मारक लिगलाई ६ महिना लामो लिग बनाउने र नेपाल सुपर लिग (एनएसएल) ३ महिना चलाउने । राईका अनुसार यस्तो भएमा ९ महिना फुटबल चल्नेछ । खेलाडी व्यस्त भएर मासिक तलब बुझ्नेछन् । उनले यस्तो भनिरहँदा एक महिनापछि हुने भनिएको लिग तीन महिनाभित्र सम्पन्न हुने तालिका बनाइएको छ ।

‘खेलाडी नेपालमै बसेर खेलेरै कमाउन सकुन् भनेर हामी लिगको तयारीमा छौं र यो नियमित पनि हुनुपर्छ । लिग ६ महिना र एनएसएल ३ महिना गरेर फुटबललाई चलायमान बनाउने योजनामा छौं । आगामी दिनमा खेलाडी बेरोजगार बन्न नपरोस्,’ महासचिव राईले खेलाडी विदेश पलायनबारे भने, ‘यसले एन्फालाई धेरै ठूलो चोट पुगेको छ । रहरका लागि मात्र नभएर खेलेर जीविकोपार्जन हुने वातावरण तयार होस् । तर हाम्रो बजेट, क्लबको बजेट सबै हेर्दा कतिपय खेलाडी सन्तुष्ट हुन सक्नुभएन ।’


कोभिड–१९, एन्फा निर्वाचनका कारण लामो समय फुटबल गतिविधि नहुँदाखेरि खेलाडीलाई मार परेकाले उनीहरूले अर्को बाटो रोजेको हुनसक्ने राईको तर्क छ । उनले भने, ‘फुटबलको राजनीति एकातिर चलिरहन्छ तर फुटबल विकास र फुटबल गतिविधिमा अब कुनै अवरोध हुँदैन । लिगका लागि विदेशिएका खेलाडीहरू पनि आउँदैछन् भन्ने सूचना पाएको छु ।’ एन्फाले खेलाडी उत्पादनमा पनि ध्यान दिने उनले जनाए ।

लिगका निर्देशक सञ्जिव मिश्र क्लबहरू नै चाँडो सक्ने पक्षमा रहेका कारण लिग लम्बिन नसकेको बताउँछन् । तर, महासचिव राई भन्छन्, ‘क्लबको समस्या एन्फाले नसुन्ने भन्ने हुँदैन । एन्फाले मंसिरमै लिग गर्ने घोषणा गरे पनि क्लबहरू तयार नहुँदा लिग हुन ढिला भएको हो ।’

केही क्लबहरू यस वर्ष लिग नै नगरौं अर्को वर्षबाट जाउँ भनेर अनुरोध गरेको राई स्मरण गर्छन् । उनी भन्छन्, ‘खेलाडीलाई अझ बढी बेरोजगार बनाउने पक्षमा हामी थिएनौं, त्यसैले यो वर्ष समयलाई केही मनन गरेर भए पनि हामी लिग आयोजना गर्न लागेका हौं, अर्को वर्ष ६ महिना सञ्चालन हुने लिग बनाउँछौं ।’

अर्को वर्षदेखि एन्फा र क्लबबीच जुहारी खेल्नुपर्ने वातावरण नबन्ने महासचिवको दाबी थियो । जसअनुसार जनवरीबाट लिग सुरु हुने निर्णय एन्फा र क्लबले गरेका छन् ।

लिगको तयारी ५० प्रतिशत पूरा भयो भन्दै गर्दा एन्फाले लिगका लागि प्रमुख प्रायोजक अहिलेसम्म पाउन नसकेको महासचिव स्वीकार्छन् । लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङका लागि गरिएको टेन्डर आह्वान सोमबार खुला गरिएपछि यसको आकार कस्तो हुने एउटा मोडल तयार हुनसक्छ । डबल राउन्ड रोबिनका आधारमा हुने लिगमा १ सय ८२ खेल हुनेछ ।


दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्समा १४ ‘ए’ डिभिजन क्लबले लिगका खेलहरू खेल्ने तालिका बनाइएको छ । एन्फाले क्लबहरूलाई तयारी खर्च ३० लाख दिने घोषणा गरेकामा पहिलो किस्तास्वरुप १५ लाख उपलब्ध गराइसकेको जनाएको छ । लिग विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो र तेस्रो हुनेले ५० र २५ लाख पाउनेछन् । फेयर प्ले अवार्ड र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले जनही ३ लाख पाउनेछन् ।

सरकारी सहयोगको अपेक्षामा

एन्फाले लिगका लागि सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरेको जनाएको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयसँग सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ३ करोड, ‘बी’ डिभिजनका लागि २ करोड र ‘सी’ डिभिजनका लागि १ करोड माग गरेको छ । ‘ए’ डिभिजन लिगको बजेटमात्र १२ करोड रुपैयाँ रहेको छ ।

‘यो लिग र खेलमात्र होइन, यसबाट सयौं युवाको रोजगारी सिर्जना भएको छ । यो एउटा उद्योगको रूपमा विकास हुन गइरहेको छ,’ एन्फा महासचिव राईले भने, ‘अर्को एउटा एङगलबाट हेर्दा पर्यटनसँग सम्बन्धित छ । त्यसैले सरकारले खेलकुदको नजरबाट मात्र लगानी गर्नुपर्छ भन्ने होइन ।’

लिगको पाँच चरणको खेलतालिका सार्वजनिक भइसकेको छ । त्यसपछि तीनदेशीय फुटबल आयोजना गर्ने तयारी एन्फाको छ । त्यसैलाई मध्यनजर गर्दै पुरुष राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न अन्तर्वार्ता गर्ने तयारी गरेको एन्फाले जनाएको छ ।

इन्ट्रिग्रिटीको दायरा फराकिलो

लिगमा जति पनि अनैतिक कार्य हुने खतरा हुन्छ, त्यो सबै हेर्ने गरी इन्ट्रिग्रिटीको ठूलो टोली बनाइएको एन्फाले जनाएको छ । पहिला १ जना रहेकामा एन्फाले यसपालि इन्ट्रिग्रिटी समिति ३ सदस्यीय बनाइएको छ । केशवकुमार शाह प्रमुख रहेको इन्ट्रिग्रिटी टोलीमा लोक गुरुङ उपप्रमुख र सुदर्शन भट्ट सदस्य छन् । ‘लामो समय अनुसन्धानमा दक्षता हासिल गरेकालाई अफिसरहरूलाई हामीले इन्ट्रिग्रिटी टोलीमा राखेका छौं,’ महासचिव राईले भने ।

विगतका लिगलाई फिक्सिङले धुमिल बनाउने गरेको थियो । त्यसैले यसपालि सचेत रहेको जनाउँदै राईले भने, ‘यसपालि त्यस्ता घटना आएमा कुनै सम्झौता हुँदैन । यो कुनै मजाकको विषय होइन । यो राष्ट्रिय प्रतिष्ठाको विषय हो ।’ विगतमा जस्तै यस वर्ष पनि हरेक टोलीलाई इन्ट्रिग्रिटीका बारेमा जानकारी गराइने लिग संयोजक मिश्र बताउँछन् ।

प्रकाशित : माघ २०, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?