कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना ८ अंकले अगाडि

रियल म्याड्रिड एक खेल कम खेलेको अवस्थामा पछाडि परेको हो
एएफपी

सेभिया — राफिन्हा र रोबर्ट लेवान्डोस्कीको गोल सहयोगमा बार्सिलोनाले ला लिगामा बुधबार रियल बेटिसलाई २–१ ले पराजित गर्दै ८ अंकको अग्रता लिएको छ ।

बार्सिलोना ८ अंकले अगाडि

यस जितसँगै क्याटलन क्लबले दोस्रो स्थानको रियल म्याड्रिडमाथि दबाब बढाएको छ । रियल एक खेल कम खेलेको अवस्थामा ८ अंक पछाडि परेको हो । फ्रान्सेली विंगर ओसमन डेम्बेले चोटको कारण केही साताबाहिर भएको अवस्थामा राफिन्हाले पाएको आवसरमा आफूलाई प्रमाणित गरेका हुन् । गत वर्ष लिड्सबाट बार्सिलोना आएयता राफिन्हाले डेम्बेलेको उत्कृष्ट लयका कारण खेल्ने समय कमै पाएका थिए ।

राफिन्हाले ६५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तीन खेलको प्रतिबन्धबाट फर्किएका लेवान्डोस्कीले ८० औं मिनेटमा दोस्रो गोल गरे । जुल्स कोन्डेले आफ्नै पोस्टमा गोल गरेपछि बेटिसले खेलमा खेलमा संघर्ष गर्दै अंक जोड्ने अवसर पाएको थियो तर बार्सिलोना जितबाट रोकिएन ।

‘मेरो विचारमा राम्रो खेल भयो,’ बासिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘हामीले धेरै राम्रो खेल्यौं । निकै उत्कृष्ट भन्न चाहन्छु ।’

उनले थपे, ‘निकै कठिन अवस्थामा हामीले धेरै राम्रो प्रदर्शन गर्‍यौं । नतिजाप्रति मात्रै होइन, हामीले जसरी खेल्यौं, यसमा धेरै खुसी छु । गिरोनाविरुद्धको खेलपछि हामीले धेरै सुधार गरेका छौं ।’

गत साता सामान्य प्रदर्शनका बावजुद पनि क्याटलन प्रतिद्वन्द्वी गिरोनाविरुद्ध १–० को जितसहित बार्सिलोनाले अघिल्ला तीनै खेलमा जित हासिल गरेको थियो । तर, सेभियाविरुद्ध उच्चस्तरको प्रदर्शनसहित ३ अंक जोड्यो । आफ्ना समर्थकसामु बेटिसले राम्रो सुरुआत गरेको थियो । सुरुमै लुइस हर्नान्डेजको प्रयासमा एलेजान्द्रो बाल्देले उत्कृष्ट बचाउ गरे । अर्कोतिर लेवान्डोस्कीको हेडरमा बल बाहिर गयो । पेड्रीले पनि बललाई पोस्टको दिशा दिन सकेनन् ।

इंग्ल्यान्ड

म्यानचेस्टर– म्यानचेस्टर युनाइटेड ओल्ड ट्राफोर्डमा नटिङ्घम फरेस्टलाई २–० ले हराएर समग्रमा ५–० को जितसहित लिग कपको फाइनल पुगेको छ ।

एरिक टेन हागको टिमका लागि सेमिफाइनलको अन्तिम १७ मिनेटमा एन्थोनी मार्सियल र फ्रेडले गोल गरे । दोस्रो लेगको यो जितसँगै युनाइटेडले फेब्रुअरी २६ मा बेम्बलीमा हुने न्युकासलविरुद्ध फाइनल खेल्ने पक्का गर्‍यो । युनाइटेडले पछिल्लोपल्ट सन् २०१७ मा जोसे मोउरिन्होको पालोमा उपाधि जितेयता तीन व्यवस्थापक परिवर्तन भएको छ । त्यसयताको उपाधि खडेरी तोड्नका लागि टेन हाग एक जित नजिक आइपुगेका छन् ।

रेड डेभिल्सले गत साता सिटी ग्राउन्डमा भएको पहिलो लेगमा ३–० को सफलता हात पारेको थियो । त्यो फराकिलो जितपछि टेन हागले टिममा खेलाडी परिवर्तन गर्ने अवसर पाएका थिए । उनले एफए कपको चौथो चरणमा शनिबार रिडिङविरुद्ध ३–१ को जितमा सहभागी मार्कस रासफोर्डसहित ६ खेलाडीलाई बेन्चमा राखेका थिए ।

प्रकाशित : माघ २०, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?