भेट्रान ५५ वर्षमाथि कपुरलाई स्वर्ण- खेलकुद - कान्तिपुर समाचार

भेट्रान ५५ वर्षमाथि कपुरलाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण पदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले आयोजक टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११, ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाख्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोबल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लब तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष/महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।

प्रकाशित : माघ १९, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

व्यवसायीले बैंकका सीईओहरूलाई भेटेर भने : कर्जाको ब्याज घटाउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित पदाधिकारीसँगको भेटवार्तामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कर्जाको ब्याज घटाउन आग्रह गरे । उच्च ब्याजदरका कारण समग्र मागमा संकुचन आएकाले यतिबेला उद्योगीको मनोबल खस्किएको अग्रवालको भनाइ छ ।

साना तथा मझौला व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनर्संरचना गर्नुपर्ने, पुनर्तालिकीरण गर्नुपर्ने चेम्बरको सुझाव छ । उद्योगहरुको प्रबर्द्धनका लागि आधार दरमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न चेम्बरले आग्रह गरेको छ । चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरुपता आउन नसकेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले परिसंघले दिएका केही सुझाव संघले कार्यान्वयन गर्दै लगेको बताए । उनले बैंकहरुको निष्क्रिय कर्जा बढेको बताउँदै उद्योगीले पनि आफ्नो जिम्मेवार पूरा गर्नुपर्नेमा जोड दिए । ब्याजदरका विषयमा उद्योगी सडक आन्दोलनमा जानु जायज नहुने भएकाले यसलाई फिर्ता गर्दै धैर्य हुन केसीले आग्रह गरे । छलफलमा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेसनल काउन्सिल सदस्यहरु, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार दे, सल्लाहाकार अशोक शम्सेर राणालगायत सहभागी थिए ।


प्रकाशित : माघ १९, २०७९ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×