१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

काभ्रेमा बृहत् जिल्ला खेलकुद महोत्सव हुने

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेमा बृहत् जिल्ला खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिति, काभ्रे र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा उक्त महोत्सव हुने बताइएको छ ।

काभ्रेमा बृहत् जिल्ला खेलकुद महोत्सव हुने

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ माघ २० गतेदेखि बृहत् जिल्ला खेलकुद महोत्सव सञ्चालन हुने भएको हो ।

जिल्लामै पहिलो पटक आयोजना गर्न लागिएको खेलकुद महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले भने, ‘खेलकुद क्षेत्रको प्रवर्द्धनसँगै खेलाडीको क्षमता विकास गर्नुका साथै धेरै खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रलाई स्थानीय सरकारको ध्यानाकर्षण गराउन खेलकुद महोत्सवको आयोजना गरिएको हो ।’

महोत्सवमा जिल्लाका १३ पालिकाको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले जानकारी दिए । उनका अनुसार महोत्सवमा एथ्लेटिक्स, भलिबल, कराँते, डब्लूटीएफ तेक्वान्दो, कबड्डी, चेस, फुटबल, योगलगायत १२ वटा विधा हुनेछन् । १२ विधामा महिला र पुरुषको छुट्टाछुट्टै सहभागिता रहने उनले बताए । सबै विधाका खेलबाट पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टिमले १० हजार नगद पुरस्कार पाउने बताइएको छ ।

महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पनौतीमा रहेको क्षेत्रीय रंगशालामा गर्ने उनले बताए । महोत्सवमा कर्मचारी, विद्यार्थी, उद्योगी, व्यापारी, मानवअधिकारकर्मीलगायत जिल्लाका सरकारी, गैरसरकारी सबै निकायको सहभागिता रहने जिल्ला समन्वय समितिका प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित : माघ १९, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?