कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गोर्खा ट्रेल ब्लेजरमा विश्वका ३ सय धावक दौडिँदै

सुनसरी — हङकङस्थित गोर्खा सेमेस्ट्री ट्रस्ट (जीसीटी हङकङ) र चाइल्ड वेल्फेयर स्किम (सीडब्लूएस हङकङ)को संयुक्त आयोजनामा माघ २१ (फेब्रुअरी ४) गते गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको चौथो संस्करण हुने भएको छ ।

गोर्खा ट्रेल ब्लेजरमा विश्वका ३ सय धावक दौडिँदै

विश्वका विभिन्न युद्धमा ज्यान गुमाएर वीरता प्राप्त गरेका गोर्खा सैनिकहरूको सम्झना र सम्मानमा लोक कल्याणकारी (च्यारिटी) गोर्खा ट्रेलब्लेजर प्रतियोगिता गर्न लागिएको हो । हङकङमा गोर्खा ट्रेल ब्लेजर सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको छ ।

आयोजक संस्थामध्ये जीसीटीका सचिवसमेत रहेका प्रतियोगिताका प्रवक्ता देवराज राईले १२ किमी र २६ किमी दूरीको दौडमा सहभागी हुन विश्व भरीका धावकहरुले अनलाइनमार्फत् नाम दर्ता गरिरहेका छन् । गोर्खा ट्रेल ब्लेजरले गनरनिङ हङकङद्वारा ‘बेस्ट न्यु रेस र बेस्ट रेस’को अवार्डसमेत प्राप्त गरिसकेको प्रवक्ता राईले बताए ।

उनले भने, ‘५ सय जना धावकलाई हङकङमा दौडाउने योजना रहे पनि कोरोना महामारीका कारण हङकङ सरकारको नीति अनुसार धावक संख्या घटाइएको छ । लोक कल्याणका लागि विश्वका करिब ३ सय जना धावकले मात्र गोर्खा ट्रेल ब्लेजरमा सहभागिता जनाउन सक्छन् ।’

हालसम्म प्रतियोगितामा बेलायत, अमेरिका, क्यानडा, चीन, नेपाल, जापान, कोरिया, ताइवान, जर्मनी, इटाली, फ्रान्सलगायत मुलुकका २ सय ५० धावकहरुले आफ्नो नाम दर्ता गरिसकेका छन् । लोक कल्याणकारी दौड प्रतियोगिता भएकाले गोर्खा ट्रेल ब्लेजरमा सहभागिता जनाउन ४ सय हङकङ डलर शुल्क तिर्नुपर्छ भने थप २ सय ५० हङकङ डलर च्यारिटी फण्डमा जम्मा गर्नुपर्छ ।

प्रतियोगिता संचालन गरेर संकलन भएको रकमलाई जीसीटी र सीडव्लुएसले आधा हिस्सा नेपालका र आधा हिस्सा हङकङका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्दै आएको प्रवक्ता राईले बताए । उनले भने, ‘यसपटक करिब ३ लाख हङकङ डलर (करिब ५० लाख ६ हजार रुपैयाँ) संकलन गरेर लोक कल्याणकारी क्षेत्रमा खर्च गर्ने उद्देश्य राखेका छौं ।’

आयोजक संस्थामध्ये सीडव्लुएसका दौड प्रतियोगिताका निर्देशक दर्शन शाक्यले संकलित रकम बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने बताए । उनले १२ किमी र २६ किमी दौड विजेताहरुलाई नेपालको मौलिक हस्तकलाको रुपमा रहेको कलात्मक दापसहितको खुकुरी र मेडल प्रदान गरिने बताए ।

दौडका सहनिर्देशक आमोद राईले हङकङको ट्रेल रनिङको क्यालेन्डरभित्र सूचीकृत भएकाले प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । उनले हङकङका डाँडापाखाहरुमा बेलायती उपनिवेशकालमा पहिलो पटक गोर्खाहरुले नै ट्रेल पहिचान गरेर प्रयोगमा ल्याएकाले हङकङले दौडको मान्यता दिएको बताए । गोर्खा ट्रेल ब्लेजर रेस हङकङको न्यु टेरिटोरीज अन्तर्गत लाउ सुइ हेउङ रिजर्भियर कन्ट्री ट्रेलबाट सुरु भएर क्लाउडी हिल हुँदै विल्सन ट्रेल, निडल हिलको उकालो छिचोलेर फेरि लाउ सुइ हेउङमा फर्किने रुट रहेको छ ।

प्रकाशित : माघ १८, २०७९ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?