निस्दीको राष्ट्रपति रनिङ सिल्ड उपाधि राधाकृष्णलाई


पाल्पा — जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि निस्दी गाउँपालिकामा आयोजित छनोट प्रतियोगिताको उपाधि राधाकृष्ण मावि बाँकामलाङले जितेको छ । यसअघिको प्रतियोगितामा बालहित मावि सहलकोट पहिलो भएको थियो ।


गाउँपालिकामा भएको प्रतियोगितामा १२ माध्यमिक विद्यालयले भाग लिएका थिए । मित्याल झ्याल्टुङ खेल मैदानमा भएको प्रतियोगितामा राधाकृष्ण माविले ८ स्वर्ण, १ रजत र १ कास्यसहित पहिलो भएको हो । उसले १० पदक हात पारेको छ । ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित सरस्वती मावि गल्धा दोस्रो भयो । उसले १७ पदक जितेको छ । बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण, ७ रजत र ४ कास्य हात पारेको छ । उसले १५ पदक जितेको छ ।
२४ विद्यामा छात्र र छात्रा समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो । विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीको सशक्तीकरण हुने बताए । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले युवा पुस्तालाई अनुशासनमा राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए ।
उता, रामपुर नगरपालिकामा पनि राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, को व्यवस्थापनमा विजयपुर खेल मैदानमा प्रतियोगिता भएको हो ।
रामपुर नगरपलिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुको बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले खेलकुदले अनुसाशनसँगै एकता र सद्भाव कायम राख्ने बताए । प्रतियोगितामा नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच छात्र–छात्रा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, हाइजम्प, लङजम्पका सहित एथलेटिक्सका विद्याहरुमा प्रतिस्पर्धा हुने शिक्षा शाखा प्रमुख विकल काफ्लेले बताए ।
