खेलाडी उत्पादनमा उपमहानगर चासो

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ । फुटबलका लागि उर्वरभूमिको रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ ।

खेलाडी उत्पादनमा उपमहानगर चासो

जिल्लामा हुने प्रतियोगिता र राष्ट्रियस्तरका प्रतियोगितामा हेटौंडाको प्रतिभा पुर्‍याउने उद्देश्यसहित उपमहानगरले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्न हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ । स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।

कार्यविधि स्वीकृत भएसँगै उपमहानगरपालिकामा आवासीय सुविधासहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यविधिअनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडी छनोट गरी एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

पारित कार्यविधिअनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडीसहित ४५ जनालाई बन्द प्रशिक्षणमा राखेर नियमित प्रशिक्षण, आवास, खानपान, शिक्षा र स्वास्थ्योपचार सुविधासहित एकेडेमी सञ्चालन गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । एकेडेमीमा नगरका ४५ महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउन उपमहानगरले चालु आव २०७९/०८० का लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघसंगको सहकार्यमा नगरप्रमुख मिनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिनेछ । कार्यविधि पारित भएसँगै अब जिल्ला फुटबल संघ मकवानपुरसँग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारिक सम्झौताको काम अघि बढाउने तयारीमा उपमहानरपालिका रहेको प्रवक्ता न्यौपानेले बताए । फुटबलको उर्वरभूमि रहेको मकवानपुरमा सञ्चालित एकेडेमीबाट निस्किएका खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाउने विश्वास उपमहानगरको छ । जिल्लामा हुने राष्ट्रियस्तरका दुई ठूला प्रतियोगिताका लागि स्थानीय टोलीमा बाहिरका खेलाडी समावेश गराउनुपर्ने बाध्यतालाई एकेडेमीले पूरा गर्दै जाने अपेक्षा गरिएको छ ।


प्रकाशित : माघ १७, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?