धनकुटामा सोमबारदेखि रामकृष्ण स्मृति महिला फुटबल हुने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा सोमबारदेखि रामकृष्ण स्मृति महिला फुटबल हुने

रमेशचन्द्र अधिकारी

धनकुटा — सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आउँदो सोमबारदेखि अन्तरपालिकास्तरीय नकआउन महिला फुटबल प्रतियोगिता हुँदैछ ।  मंगलबार आयोजित पत्रकार भेलामा यही माघ २३ देखि २६ गतेसम्म रामकृष्ण स्मृति महिला फुटबलको तेस्रो शृंखला सुरु हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा जिल्लाका सात वटा पालिकाका खेलाडी सहभागी हुने भएका छन् ।

२०७६ मा पहिलो पटक प्रदेश नं.१ स्तरीय महिला फुटबल प्रतियोगिता गरिएको थियो । त्यसपछिका शृंखला आर्थिक कारण अन्तरपालिकास्तरीय प्रतियोगितामा सीमित पार्नु परेको प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रत्येक खेलमा ओमेन अफ द म्याच र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिइने आयोजक समितिका सल्लाहकार तथा धनकुटा फुटबल संघका पूर्वअध्यक्ष गोविन्द राईले बताए ।

प्रतियोगिता सञ्चालनका लागि पाँच लाख ४० हजार रुपैयाँ संकलन भएको आयोजक समितिका सचिव कृष्ण भागवत श्रेष्ठले जानकारी दिए । यस्तै, ३ लाख ५० हजार अनुमानित खर्च हुने उनले जनाए ।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रकाशित : माघ १७, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

श्रमिकको समस्या सम्बोधन गर्न ६ महिनाभित्र मोबाइल एप आउँछ : श्रम मन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानकारी गराउन पाउने गरी मोबाइल एप ल्याउन लागिएको बताए । 

उनले मन्त्रालयमा रहेको कल सेन्टरको नामलाई परिवर्तन गरी ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’ बनाइएको बताए । श्रम मन्त्रालयमा ५ वर्षदेखि नै श्रमसम्बन्धी गुनासा सुन्न कल सेन्टर स्थापना भएको थियो । यो सेन्टरलाई श्रम मन्त्रीहरुले सधैं नाम हेरफेर गर्दै आएका छन् । अर्यालले केन्द्रमा आएका गुनासालाई उचित समयमै समाधान गर्न समय कार्ड लागू गरिएको बताए ।

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको ब्यवस्थापन गरिएको उनले जानकारी दिए । ‘अध्यागमनमा वैदेशिक रोजगारमा जानेहरुको लागि भनेर राखिएको छुट्टै लाइन हटाइएको छ । अब एनआरएनका अध्यक्षदेखि, भीआईपी प्रयोग नगर्ने मन्त्री वा सचिवहरुसँगै लाइन हुनेछ’, उनले भने, ‘विदेश जाँदै गर्दा काठमाडौं विमानस्थलमै अपहेलित महसुस हुने वातावरण अन्त्य भएको छ ।’



प्रकाशित : माघ १७, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×