महिला टिमको तयारी

काठमाडौँ — महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक छनोटमा ४३ खेलाडीलाई बोलाएको अखिल नपाल फटबल संघ (एन्फा) ले सोमबार जनाएको छ ।

दुवै टिम ओलम्पिक २०२४ छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्दै छन् । त्यसैको तयारीमा अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले दुई मैत्रीपूर्ण खेलको लागि नेपाली टिमलाई चेन्नईमा बोलाएको हो । एन्फाका अनुसार खेल फेब्रुअरी १५ र १८ मा हुनेछ । यही दुई खेलका लागि एन्फाले पुलिसका प्रशिक्षक थापालाई टिम सम्हाल्ने जिम्मेवारी दिएको हो । त्रिचालिस खेलाडीको बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरु हुने बताइएको छ ।
चोटका कारण गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप गुमाएकी प्लेमेकर रेनुका नगरकोटेलाई पहिलोपल्ट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किने भएकी छन् ।
एपीएफकी उनी राष्ट्रिय टिमकी पूर्वकप्तान पनि हुन् । भारतको महिला लिग खेलिरहेका गोलकिपर एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गीता राना र फरवार्ड सावित्रा भण्डारीलाई समावेश गरिएको ४३ खेलाडीको सूचीमा आर्मीकी अनुभवी डिफेन्डर अञ्जली वाइबा पनि छन् ।
महिला फुटबलमा पनि नेपाल र भारत परम्परागत प्रतिद्वन्द्वी हुन् । चार महिनाअघि दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाइ १–० ले हराएको थियो । भारतीय महिला टिमले दक्षिण एसियाली टिमविरुद्ध बेहोरेको पहिलो हार हो त्यो । तर, फाइनलमा बंगलादेशविरुद्ध ३–१ ले हारेपछि नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना फेरि तुहिएको थियो । ओलम्पिक छनोटको प्रारम्भिक चरणका खेलहरू अप्रिलमा हुँदै छ, जसमा नेपाली टिमले भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित : माघ १७, २०७९ ०७:१६