अस्ट्रेलियन ओपन

जोकोभिचद्वारा कीर्तिमान बराबर

एएफपी

मेलबर्न — नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको सफलता ‘आफ्नो करिअरकै सबभन्दा ठूलो जित’ भएको बताएका छन् । स्टेफन सिसिपासलाई हराएर १० औंपल्ट अस्ट्रेलियन ओपनको उपाधि जित्दै आइतबार सर्वाधिक २२ पल्ट ग्रान्डस्लाम उपाधि जितेका राफेल नडालको कीर्तिमान बराबरी गरेपछि उनी भावुक बने ।

जोकोभिचद्वारा कीर्तिमान बराबर

सर्बियाली खेलाडी जोकोभिच ह्यामस्ट्रिङको चोट र कोटबाहिरको चर्तिकलापछि तेस्रो वरीयताका ग्रिक सिसिपासलाई रोड लाभेर एरिनामा ६–३, ७–६ (७/४) र ७–६ (७–५) ले पराजित गर्दै शीर्ष वरीयतामा पनि फर्किएका छन् । ३५ वर्षीय उनी जितपछि प्लेयर्स बक्समा उक्लिँदै आमासँग अंकमाल गरेपछि सम्हाल्नै गाह्रो हुने गरी रोएका थिए । उनका बुबा सेरजानले भने विवादास्पद रूपमा भ्लादिमिर पुटिनको मुहारसहितको रुसी झन्डा बोकेका समर्थकसँग बुधबार तस्बिर खिचाएपछि फाइनल खेल गुमाएका थिए ।

सिसिपासविरुद्धको जबरजस्त जितसँगै जोकोभिचले मेलबर्न पार्कमा उत्कृष्ट पुनरागमन गरे । कोभिडविरुद्धको खोप नलगाएका कारण अस्ट्रेलियाबाट फर्काइएपछि उनले गत वर्षको प्रतियोगिता गुमाएका थिए । ‘परिस्थितिले गत वर्ष नखेलेको, यस वर्ष फर्किएको आधारमा यसलाई मेरो अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्णमध्येको एक प्रतियोगिता भन्न चाहन्छु,’ २२ नम्बर लेखिएको ज्याकेट लगाएपछि जोकोभिचले बताए ।

अरू बेलाभन्दा उनी बढी नै भावुक हुँदै भने, ‘गत चार वा पाँच साता कसरी बितायौं भन्ने मेरो टिम र परिवारलाई मात्रै थाहा छ । त्यसैले म यसलाई परिस्थितिकै कारण पनि सम्भवतः मेरो जीवनकै सबैभन्दा ठूलो जित भन्छु ।’ उनले बुबासँग जोकोभिच सिनियर (बुबा) कोर्ट क्षेत्रमा नभएको नै राम्रो हुने निर्णय गरिएको पनि प्रस्ट पारे । बुबाको अनुपस्थितिमा प्लेयर बक्समा सिट खाली राखिएको थियो । सेमिफाइनलमा पनि त्यस्तै गरिएको थियो । ‘त्यसले उनलाई (बुबा) र मलाई निकै पीडा दिन्छ किनभने यो विशेष हो । पृथक् क्षण हो । यदि यस्तै दोहोरिन्छ भन्ने कसलाई थाहा हुन्छ र !’

अस्ट्रेलिया प्रवेशमा लगाइएको तीन वर्षको प्रतिबन्ध फुकुवा गरेपछि जोकोभिचले मेलबर्नमा सर्वकालीन महान् खेलाडीको तहमा जब्बर रूपमै उभिनुअघि यसै वर्ष एडिलेड इन्टरनेसनलको उपाधि जितेका थिए । उनले वर्चस्व कायम गर्दै जितेपछि नडालको २२ ग्रान्डस्लाम उपाधिलाई बराबरी गरे । यो संख्या संन्यास लिइसकेका रोज फेडेररको भन्दा दुई उपाधिले बढी हो । स्पेनी महान् खेलाडी चोटसँग संघर्ष गर्दै दोस्रो चरणबाट बाहिरिएका थिए । नडाल र जोकोभिचले पछिल्ला १९ मध्ये १६ वटा ग्रान्डस्लामको उपाधि जितेका छन् ।

प्रकाशित : माघ १६, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?