२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सम्झना कप मंगलबारदेखि

काठमाडौँ — पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कुल २ सय ५६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल टेबलटेनिस क्लबको आयोजनामा प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म आयोजना हुँदैछ ।

सम्झना कप मंगलबारदेखि

भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट १–१ गरी पुरुषतर्फ २ सय खेलाडी सहभागी हुनेछन् । महिलातर्फ सहभागी हुने सबै ५६ खेलाडी नेपाली हुनेछन् । टेबलटेनिस संघका महासचिव शंकर गौतमले विदेशबाट आउने खेलाडीहरू क्लबस्तरीय भएको जनाए । पुरुष र महिलातर्फ गरी एकल, टिम, भेट्रान (४० वर्षमाथि), पुरुषतर्फ भेट्रान एकल (५५ वर्षमाथि) गरेर ७ विधामा प्रतिस्पर्धा हुनेछ ।

नेपाली टेबलटेनिस इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रहेको छ । पुरुष र महिलातर्फ गरी एकल, टिममा क्रमशः पहिलो र दोस्रो हुनेलाई ५० हजार, २५ हजार प्रदान गरिने भएको छ भने सेमिफाइनलमा पराजित हुने खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै भेट्रानतर्फ पहिलो र दोस्रो हुनेले क्रमशः २० र १० हजार र सेमिफाइनलमा पराजित हुनेले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितालाई सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिले मुख्य प्रायोजन तथा मेटल सेपर र मेटा उडले सहप्रायोजन गरेका छन् । प्रतियोगिताको अफिसियल इक्विपमेन्ट पार्टनरमा डीएचएस र लिनिङ रहेका छन् । आयोजक ललितपुर टेबलटेनिस क्लबले प्रतियोगिताका लागि आइतबार मेटल सेपर र लिनिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । क्लबका अध्यक्ष उर्दीप जोशी तथा लिनिङबाट चाइना ट्रेड लिंकका प्रबन्ध निर्देशक राजेन महर्जन र मेटल सेपरका प्रबन्ध निर्देशक नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

लिनिङअन्तर्गत रहेको डबल ह्याप्पिनेसले प्रतियोगिताका लागि भनेर विश्वकपका लागि प्रयोग हुने ३ वटा बोर्ड ल्याएको महर्जनले जनाए । उनका अनुसार एउटा बोर्डको १० लाख पर्नेछ । टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगितालाई संघको प्रमुख कार्यक्रमअन्तर्गत राखिएको जनाए । पुरुषतर्फ एकलमा विजेता स्यान्टु श्रेष्ठ विदेशमा रहेकाले यसपटक सहभागी हुने छैनन् ।

प्रकाशित : माघ १६, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?