कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

एएफपी

मेलबर्न — आर्यना सबालेन्काले पहिलो सेट गुमाएर पनि एलेना रेबकिनालाई अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा पराजित गर्दै शनिबार पहिलोपल्ट ग्रान्ड स्लाम उपाधि जितेकी छन् ।

सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

कडा प्रहारमा माहिर बेलारुसकी सबालेन्का ४–६, ६–३, ६–४ को जित हात पारेपछि हर्षाश्रुसहित कोर्टमै ढलेकी थिइन् । उनले विम्बल्डन च्याम्पियन रेबकिनाविरुद्ध दुई घन्टा २८ मिनेटको प्रतिर्स्धापछि रड लेभर एरिनामा सफलता हात पारेकी हुन् । २४ वर्षीया सबालेन्काले आँसु पुछेपछि मस्कोमा जन्मिएकी रेबकिनासँग अंकमाल गरिन् । २४ वर्षीया सबालेन्काको करियरको यो १२ औं उपाधि हो ।

महिला टेनिसमा शक्तिशाली प्रहार गर्न सिपालु दुई खेलाडीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । पाँचौं वरीयताकी सबालेन्का आफ्नो टिमसँग खुसीयाली मनाउनका लागि प्लेयर्स बक्सतर्फ दौडिएकी थिइन् ।

‘धन्यवाद, टुरकै आकर्षक मेरो टिमलाई । हामी धेरै कुरा बेहोरेर आएका छौं । गत वर्ष पछाडि परेका थियौं,’ ट्रफी हात पारेपछि सबालेन्काले आफ्नो टिमलाई सम्बोधन गर्दै भनिन्, ‘तपाईंले मेरा लागि जे गर्नुभयो त्यसका लागि धेरै धेरै धन्यवाद । आई लभ यू गाइज ।’

उनले थपिन्, ‘उत्कृष्ट दुई साताका लागि एलेनालाई बधाई दिन चाहन्छु । उनी महान् खेलाडी हुन् । पक्कै पनि हामी अझै धेरैपल्ट प्रतिस्पर्धा गर्नेछौं । आशा गर्छौं कि ती खेलहरू ग्रान्ड स्लामको फाइनल होस् ।’

मेलबर्न पार्कमा दुई साता निकै रोमाञ्चक र नाटकीय रह्यो । यी दुई खेलाडीको उत्कृष्ट लयमा ग्राउन्ड स्ट्रोक, लोभलाग्दा सर्भिस र लामो समय चलेका खेल मुख्य आकर्षण रहे ।रेबकिनाले पहिलो सेट ३४ मिनेटमै जितेकी थिइन् । सबालेन्काले सन् २०२३ मा पहिलोपल्ट सेट गुमाएकी हुन् । तर, उनले ५७ मिनेटको प्रतिस्पर्धामा दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमन गरेर फाइनल तेस्रो तथा निर्णायक सेटसम्म लम्ब्याइन् । अन्तिम सेटमा एकपछि अर्को सर्भिस गर्दै प्रतिस्पर्धा सनसनीपूर्ण बन्यो ।

कजाकस्तानको प्रतिनिधित्व गरेकी रेबकिनाले पहिलो सर्भिस ३–३ को अवस्थामा पर्याप्त भएन । उनले दुई ब्रेक प्वाइन्ट जोगाइन् । तर, तेस्रो सर्भिस भारी पर्यो र सबालेन्का ५–३ ले अगाडि बढिन् । त्यसपछि आफ्नो सर्भिसमा उत्कृष्ट प्रदर्शन गर्दै सबालेन्काले अन्तिम सेट ६–४ ले कब्जा गरी पहिलो ग्रान्ड स्लामको कब्जा गरिन् । यसक्रममा उनले ५१ विनर्स र १७ एस प्रहार गरिन् ।

यस जितसँगै सबालेन्का करिअरकै उच्च दोस्रो वरीयतामा उक्लिने भएकी छन् । सात महिनायता दोस्रोपल्ट ग्रान्ड स्लामको फाइनल पुगेकी रेबकिना पनि शीर्ष दसमा उक्लिने पक्का भएको छ । दुवै खेलाडीले अस्ट्रेलियन ओपनमा करिअरकै उत्कृष्ट नतिजा निकालेका हुन् । यसअघि रेबकिना सन् २०२० मा तेस्रो चरणसम्म पुगेकी थिइन् भने सबालेन्का २०२१ र २०२२ मा चौथो चरणबाट बाहिरिएकी हुन् ।

पुरुषतर्फको फाइनलमा आइतबार सर्बियाका नोभाक जोकोभिच र जर्मनीका स्टेफानोस सिसिपासबीच प्रतिस्पर्धा हुनेछ । नौपल्ट अस्ट्रेलियन ओपन जितिसकेका ३५ वर्षे जोकोभिच यसपालि च्याम्पियन बने स्पेनका राफेल नडालको २२ ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन् । यता २४ वर्षे सिसिपास भने पहिलो ग्रान्ड स्लाम उपाधिको पर्खाइमा छन् ।

प्रकाशित : माघ १५, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?