सबालेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबालेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलारुसकी आर्यना सबालेन्काले अस्ट्रेलियन ओपन टेनिस-२०२३ को उपाधि जितेकी छिन् ।

महिला सिंगलतर्फ उनले फाइनलमा कजाकस्तानकी एलिना रिबाकिनालाई ४-६, ६-३ र ६-४ ले हराएकी हुन् । सबालेन्काले पहिलो पटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

सबालेन्काले तटस्थ झन्डामुनि प्रतियोगितामा भाग लिएकी थिइन् । बेलारुसले रुस-युक्रेन युद्धमा रुसलाई समर्थन गरेकाले उनी तटस्थ झन्डामुनि प्रतियोगितामा भाग लिएकी हुन् ।

फाइनलमा हार बेहोरेसँगै रिबाकानाले दोस्रो ग्रान्डस्लाम उपाधि जितबाट विमुख रहिन् । यसअघि उनले २०२२ मा विम्बल्डनको उपाधि जितेकी थिइन् ।

सबालेन्काले सेमिफाइनलमा पोल्यान्डकी माग्डा लिनेटलाई हराएकी थिइन् । त्यसअघि पाँचौं वरीयताप्राप्त सबालेन्काले क्रोएसियाकी डोना भेकिकलाई ६–३, ६–२ ले हराएर सेमिफाइनल यात्रा तय गरेकी थिइन् ।

पुरुषतर्फको उपाधिका लागि भने आइतबार नोभाक जोकोभिच र स्टेफानोस सिसिपासबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ १४, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेको राप्ती सोनारीमा सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन हुने

रुपा गहतराज

नेपालगन्ज — बाँकेको राप्ती सोनारीमा सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन हुने भएको छ । सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा हुन लागेको हो ।

थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपाल बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनमा समकालीन थारु साहित्यबारे विमर्श, विभिन्न रचना वाचन, थारु भाषाको पुस्तकको प्रदर्शनी र बिक्री गरिनुका साथै थारु साहित्यको अनुसन्धान, राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाकेको मातृभाषा, विकासमा बरघरको भूमिका, पश्चिम थरुहटमा राजनीतिक फिलिंगो, होमस्टेमा थारु समुदायः उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा लगायतका विषयमा छलफल हुने बताए ।

त्यसैगरी सिकलसेल एनिमियाको कहर : जनस्वास्थ्यमा प्रतिकुल असरबारे पनि छलफल हुनेछ । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहास बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको केन्द्रीय सदस्य दहितले जानकारी दिए ।

थारु गोचाली समाज नेपालका महासचिव कालुराम समर्पणले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुको स्वागतका लागि राप्ती सोनारीका विभिन्न ७ स्थानमा स्वागत गेट निर्माणको काम जारी रहेका जानकारी दिए।

देशभरबाट आउने झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७९ २०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×