रोहिणी अध्यक्ष कपको उपाधि १ नं वडालाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहिणी अध्यक्ष कपको उपाधि १ नं वडालाई

सन्जु पौडेल

तिलोत्तमा — रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो । टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो ।

सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २ सय १९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २/२ विकेट लिए ।

जितका लागि २ सय २० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७० रन बनायो । उसको लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए । प्रतियोगितामा धिरु म्यान अफ द म्यान अफ द सिरिज घोषित भए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई ६० हजार र उपविजेता हुने टीमलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै, सेमिफाइनलमा पुगेका दुइटा टीमलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका-७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागिता थियो ।

प्रकाशित : माघ १४, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा दुई स्वास्थ्य केन्द्र निर्माण सुरु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका-१७ को मोतीपुर र वडा नम्बर १३ को बेलबासमा १६/१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बन्ने भएका हुन् ।

वडा १७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरे । प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए । उनले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताए ।

पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र सुविधाका लागि मोतीपुर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको जानकारी गराए । उनले स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताए । स्वास्थ्य केन्द्रको भवन निर्माण आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने निर्माण पक्षले प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले जनाए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्नेछ ।

प्रकाशित : माघ १३, २०७९ १६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×