नेपालको प्रारम्भिक टोली- खेलकुद - कान्तिपुर समाचार

नेपालको प्रारम्भिक टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाका लागि शुक्रबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रतियोगिताका खेल फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदै छ ।

सूर्य तामाङ, मौसम ढकाल र अंकित सुवेदीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । उनीहरूसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिल शाह, विक्रम सोब र भुवन कार्कीले नेपाली टोलीमा स्थान पाएका छन् ।

अन्तिम टोलीमा १५ खेलाडीले स्थान पाउनेछन् । लिग २ मा नेपालको यो सातौं शृंखला हो । नेपालले फेब्रुअरी १४ मा नामिबियासँग पहिलो खेल खेल्ने छ । फेब्रुअरी १५ नामिबिया र स्कटल्यान्ड, फेब्रुअरी १७ नेपाल र स्कटल्यान्ड, फेब्रुअरी १८ मा नेपाल र नामिबिया, फेब्रुअरी २० मा नामिबिया र स्कटल्यान्ड तथा फेब्रुअरी २१ मा नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित : माघ १४, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

कोदो उत्पादन बढ्दै, क्षेत्रफल घट्दै

सीमा तामाङ

काठमाडौँ — हेपाहा बालीका रूपमा चिनिएको कोदो उत्पादन बढ्दै गए पनि क्षेत्रफल घटिरहेको छ । कृषि विभागको तथ्यांकले पछिल्ला ८ वर्षमा उत्पादन र उत्पादकत्व बढ्दै गएको देखिएको छ । कोदोले ओगट्ने क्षेत्रफल भने बर्सेनि घटिरहेको छ । 

आर्थिक वर्ष ०७०/७१ मा २ लाख ७१ हजार १८३ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन भए पनि आर्थिक वर्ष ०७६/७७ सम्म आइपुग्दा घटेर २ लाख ६२ हजार ५ सय ४७ हेक्टरमा सीमित थियो । तर आर्थिक वर्ष ०७७/७८ मा भने दुई हजार ८ सय ५४ हेक्टर क्षेत्रफल बढेको कृषि मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा २ लाख ६५ हजार ४ सय १ हेक्टरमा कोदो लगाउँदा ३ लाख २६ हजार ४ सय ४३ टन उत्पादन भएको छ ।

हाइब्रिड जातका कोदो रोप्न थालेसँगै उत्पादन र उत्पादकत्व बढ्दै गएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले बताए । ‘रैथाने बाली भए पनि हाइब्रिड बीउ प्रयोग गर्दा उत्पादकत्व र उत्पादन बढ्यो । तर किसानले कोदो रोप्न छाड्दा क्षेत्र भने घटेको हो,’ उनले भने, ‘मान्छेको क्रयशक्ति बढेकाले आधुनिक खानपानको शैली अपनाउँदा कोदोलगायत रैथाने बाली लोपन्मुख हुँदै छन् ।’

युवा बिदेसिने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने चलनले समेत कोदो लगाउने क्षेत्रफल घट्दै गएको उनले जानकारी दिए । कोदो खाद्य सुरक्षा, पोषण, जलवायु परिवर्तन, धार्मिक–सांस्कृतिकलगायत हिसाबले महत्त्वपूर्णसमेत छ । पछिल्लो समय सर्वसाधारणले यसको महत्त्वबारे बुझ्दै गएकाले बजारमा यसबाट बनेका सामग्रीको माग समेत बढ्दै गएको उनले बताए । बजारमा माग बढेसँगै कोदो लगाउने क्रमसमेत बढेको छ । संघीय सरकारले कोदोजन्य बाली प्रवर्द्धनकै लागि १ सय ३३ पालिकाका लागि यस वर्ष २८ करोड बजेट विनियोजन गरेको छ ।

खाद्य सुरक्षाका हिसाबले धान, गहुँ, मकै, कोदो, फापर र जौलाई मुख्य खाद्यान्न बाली मानिए पनि यसको उपभोग हुन सकेको छैन । खाद्य सुरक्षामा यी बालीको योगदानमा समेत ठूलो असन्तुलन रहेको पाइएको छ । वार्षिक घरपरिवार सर्वेक्षण ०१६/१७ अनुसार प्रतिव्यक्ति प्रतिवर्ष १ सय १८ किलो चामल, मकै १७.६, गहुँ २१.० कोदो ३.५, फापर र जौ क्रमश ०.१ किलो मात्र उपभोग गरेको तथ्यांक छ । मुलुकमा सबैभन्दा बढी चामल खपत हुने गरेको छ । वार्षिक ३४ लाख ८० हजार टन चामल आवश्यक हुँदा आन्तरिक उपलब्धता ३१ लाख २३ हजार टन मात्रै छ ।

तर अन्य बाली उत्पादनको ठूलो परिमाण भने मुख्य खानाका रूपमा उपभोग नभई अन्य प्रयोजनका लागि प्रयोग हुने गरेको देखिएको छ । उक्त वर्ष २ लाख ४७ हजार टन आपूर्ति हुँदा १ लाख टन हाराहारीमा मात्रै उपभोग भएको छ । झन्डै १ लाख ३० हजार टन कोदो अन्य प्रयोजनका लागि प्रयोग भएको छ । कोदोमा शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवन, अमिनोएसिडलगायत खाद्यपदार्थ पाइन्छ । हड्डी बलियो बनाउन, मुटु तथा रगतको मात्रा वृद्धि गर्न र मधुमेह एवं एनिमिया जस्ता रोगको औषधीय वस्तुका रूपमा कोदो प्रयोग गरिने केन्द्रका प्रमुख श्रेष्ठले बताए । ‘कोदोले रगतमा बोसो र कोलेस्ट्रोलको मात्रा घटाउँछ । जाडोयाममा कोदो खानाले चिसोबाट बचाउन र सर्दी हटाउन यो उपयोगी हुन्छ,’ उनले भने ।


पौष्टिक आहारले भरिपूर्ण कोदोलगायत रैथाने बाली प्रवर्द्धनका लागि सरकारले सुरु गरेको कार्यक्रमको सकारात्मक नतिजासमेत देखिन थालेको छ । मकवानपुरगढी गाउँपालिकामा कार्यक्रम सुरु भएको तीन वर्षमा कोदोजन्य बाली लगाउने क्षेत्रफलमा वृद्धि भएको छ । तीन वर्षअघि २ सय ५० हेक्टर जमिनमा मात्र कोदोबाली लगाइन्थ्यो । हाल ३ सय हेक्टर जमिनमा लगाउन थालिएको गाउँपालिकाले जनाएको छ ।

संघीय कार्यक्रमसँगै गाउँपालिकाले पनि रैथाने बाली प्रवर्द्धनका लागि बजेट छुट्याउँदै आएको छ । कोदोको उत्पादन र उत्पादकत्व बढाउने र स्कुलको दिवा खाजा कार्यक्रममा समेत सातामा एक दिन रैथाने उत्पादनका खानेकुरा दिन तालिम सञ्चालन गरिरहेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

‘संघको बजेट किसानसँगै छलफल गरेर विभिन्न प्रविधि, उन्नत बीउबिजनलगायतमा खर्च गर्छौं,’ उनले भने, ‘कोदो बालीको क्षेत्र विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्न बजेट खर्च हुन्छ ।’ गाउँपालिकाले यस वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने किसानलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहन अनुदानसमेत दिन थालेको जनाएको छ । ‘यस वर्ष ३ हेक्टर बाँझो जग्गा खनजोत भइसक्यो,’ उनले भने, ‘उत्पादन प्रवर्द्धनसँगै मृल्य शृंखलामा आबद्ध गराई प्रशोधन गरेर बजारसम्म पठाउन गाउँपालिकाबाट सहयोग गरिरहेका छौं ।’

गाउँपालिकाले नै कोदोको न्यूनतम समर्थन मूल्य यस वर्षका लागि प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । गाउँपालिकाभर उत्पादित कोदो वडा–४ का कृषि सहकारीले खरिद गर्छन् । कोदो भण्डारणका लागि समेत गाउँपालिकाकै सहयोगमा भवन निर्माण भएको उनले बताए । ‘गाउँपालिकाले कोदो खरिद गरेबापत सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान दिन्छ,’ उनले भने, ‘सहकारीले खरिद, भण्डारण र बिक्रीबापत २ रुपैयाँ आफैं राख्छ भने किसानलाई प्रतिकिलो दुई रुपैयाँ किसानलाई दिन्छ ।’ सबै कोदो एकै पटक बिक्री नहुने भएपछि गाउँपालिकाले प्रशोधन गरी लेबलिङ गरेर बिक्रीवितरण गर्ने तयारीमा जुटेको छ ।

बर्सेनि ३ करोड रुपैयाँ हाराहारीमा आयात हुने कोदो आर्थिक वर्ष ०७५/७६ मा एकै पटक ८ करोड ३ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा ७ करोड १५ लाख १७ हजार र ०७७/७८ मा ६ करोड ३३ लाख १९ हजारको कोदो आयात भएको थियो ।

गत आर्थिक वर्ष फेरि कोदो आयात घटेको विभागको तथ्यांक छ । गत वर्ष ३ करोड ९९ लाख २३ हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार ८७ किलो कोदो (बीउ) आयात भएको हो । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म एक करोड २० लाख ९ हजार रुपैयाँ बराबरको ३ लाख ५२ हजार ६६० किलो कोदो आयात भएको विभागले जनाएको छ ।


प्रकाशित : माघ १४, २०७९ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×