गण्डकी र एपीएफ फाइनलमा- खेलकुद - कान्तिपुर समाचार

गण्डकी र एपीएफ फाइनलमा

कान्तिपुर संवाददाता

गण्डकी — पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ शनिबार घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपीएफ क्लब भिड्ने छन् । शुक्रबार गण्डकी र एपीएफले सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाए ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१, २५–१८ को सोझो सेटमा हरायो । एपीएफका टेकराज अवस्थीले उत्कृष्ट खेलाडी पुरस्कार पाए । एपीएफ अपराजित रहँदै फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा घरेलु टोली गण्डकीले त्रिभुवन आर्मी क्लबमाथि प्रभावशाली जित पायो । गण्डकीले २५–२३, २५–२३, २५–१६ को नतिजा निकाल्यो । महिलातर्फ न्यु डायमन्ड स्पोटर््स क्लबले तेस्रो स्थान हासिल गर्‍यो । बिहीबार न्यु डायमन्डले गण्डकीलाई २५–१९, २५–१६, २५–१६ को सेटमा हरायो ।

शनिबार महिलातर्फ फाइनलमा उपाधिका लागि एपीएफ र आर्मी खेल्नेछन् । पुरुषतर्फ तेस्रो स्थानका लागि पुलिस र आर्मी खेल्नेछन् । पुरुषतर्फ उपाधिका लागि गण्डकी र एपीएफ खेल्नेछन् ।

दुवैतर्फ विजेताले समान ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौंथो हुनेले सान्त्वनास्वरुप ६५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : माघ १४, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

सुनकोसीमा जलयात्रालाई चाहिन्न मौसम

राजकुमार कार्की

सिन्धुली — जाडो मौसममा पनि सुनकोसी नदीमा जलयात्रा गरेर आनन्द लिनेको भीड बढेको छ । गर्मीयामका फागुन, चैत, वैशाख र जेठलाई जलयात्रा (र्‍याफ्टिङ) को मौसम मानिए पनि जाडो र वर्षायाममा समेत सुनकोसीमा आकर्षण बढेपछि व्यवसायी उत्साहित छन् । 

राजधानी काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनमा आएसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मूलकोट जलयात्राका लागि ‘हब’ बन्दै गएको छ । यहाँमा होटलले जलयात्राको व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन् ।

जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक तान्ने अभियानमा जुटेको व्यवसायी बताउँछन् । चार वर्षदेखि आफूले जलयात्रा व्यवसाय सुरु गरेको र सिजनमा भ्याइनभ्याई नै हुने गरेको मूलकोटको ताज रिसोर्टका प्रबन्धक मनोज श्रेष्ठ बताउँछन् ।

‘सिजनमा भ्याइनभ्याई नै हुन्छ । गुड फ्राइडे मनाउन काठमाडौं र तराईबाट प्याकेजमा ग्राहक आउँछन्,’ उनले भने, ‘शुक्रबार र शनिबार दुई दिनमा एक हजारदेखि एक हजार पाँच सय जनासम्मले सुनकोसीमा जलयात्रा गर्दै आएका छन् ।’

फागुनदेखि असारसम्म जलयात्राको सिजन हो । तर यतिबेला अफ सिजनमा पनि व्यवसाय सन्तोषजनक रहेको श्रेष्ठको भनाइ छ । जलयात्रा गर्न प्याकेजमा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ पर्ने उनी बताउँछन् । त्यसमा दुई छाक खाना, एक पटक ब्रेकफास्ट र बस्ने कोठाको थप सुविधा होटलले उपलब्ध गराउने व्यवसायीले जनाए ।

सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरदेखि मूलकोटसम्म सुनकोसीमा जलयात्राको नियमित रुट हो । यसका लागि १० वटा बोट (डुंगा) को व्यवस्था गरिएको छ । यसअघि यस क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षित जलयात्रा गरेका थिए ।


सुनकोसी जलयात्राका लागि उपयुक्त देखिएको र गाउँपालिकाले पनि अनुमति दिएर सहयोग गरेको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । ‘र्‍याफ्टिङ भन्नेबित्तिकै विदेशीहरूले मात्र गर्ने भन्ने बुझाइ थियो । तर अहिले आन्तरिक पर्यटक उत्तिकै आकर्षित छन् ।’

पर्यटनका लागि वैकल्पिक आकर्षक गन्तव्यका रूपमा आफूहरूले सुनकोसीमा र्‍याफ्टिङलाई विस्तार गरिरहेको मूलकोटकै होटल व्यवसायी मीन श्रेष्ठको भनाइ छ ।

जलयात्राका लागि आउने पर्यटकको स्वागत सत्कार र आतिथ्यका लागि होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिने जस्ता काम जारी रहेको उनले बताए । यसमा आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । जलयात्रामा आउनेहरूका लागि सुनकोसी गाउँपालिकाको मूलकोट, खाल्टे, रामटार, झागाझोली रातमाटा, बोहोरेटारमा सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्दै गएका छन् ।

प्रकाशित : माघ १४, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×