२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आसिफलाई आईसीसी स्पिरिट अवार्ड

‘चिट गर्ने, विवाद गर्ने मनमा कहिल्यै आएन, स्वभावले पनि दिएन’
विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेटर मोहम्मद आसिफ शेखले यस वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ जितेका छन् । विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले वर्ष २०२२ मा गरेको प्रदर्शनलाई आधार मानेर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदर गरेको भन्दै उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

आसिफलाई आईसीसी स्पिरिट अवार्ड

नेपाली खेलाडीले पहिलो पटक आईसीसीको वार्षिकी अवार्ड पाउन लागेको हो । सन् २०२२ को फेब्रुअरी १४ मा भएको एक घटनामा देखाएको उदारताका लागि विकेटकिपर आसिफलाई आईसीसीले यो अवार्डबाट पुरस्कृत गर्न लागेको हो । ‘यो अवार्ड पाउँछु भनेर आस गरेको थिइनँ । त्यसपछि पनि विश्व क्रिकेटमा यस्तो दृश्य दोहोरिएको थियो, त्यो भएर मैले नै पाउँछु भन्ने आशा थिएन । मैलेभन्दा पनि नेपाली क्रिकेटले पाएजस्तो लाग्यो,’ उनले कान्तिपुरसँग भने ।

ओमानको मस्कटमा चार राष्ट्रसम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल आयरल्यान्डविरुद्ध खेल्दै थियो । आयरल्यान्ड १८ ओभरमा ११३–८ को दयनीय अवस्थामा थियो । आयरल्यान्डमाथि तोकिएको ओभरभित्र विजय हात पारे नेपालले प्रतियोगिता जित्ने थियो । आयरल्यान्ड छिटो रन बटुल्न आतुर थियो ।

१९ औं ओभरको तेस्रो बलमा मार्क एडेएरले प्रहार गरेको बल लेग साइडमा गएको थियो । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी फलो थ्रुबाट केही अगाडि गएर बल नियन्त्रण गर्नेक्रममा नन स्ट्राइकबाट दौडिरहेका एन्डी म्याकब्रिनसँग ठोक्किन पुगे । लड्न पुगेका म्याकब्रिन उठेर स्ट्राइक एन्डमा जाँदा ढिला भइसकेको थियो । कमलसिंहले बल नियन्त्रणमा लिएर विकेटकिपर एरियातिर थ्रो फालेको बलमा आसिफले रनआउट गरेनन् । उनले म्याकब्रिन ठोक्किएर लड्न पुगेको भन्दै रनआउट गरेका थिएनन् । उक्त घटनापछि आसिफ र म्याकब्रिनले हात मिलाउँदै खेल सुचारु गरेका थिए ।

‘त्यो क्षणमा मेरो पूर्व तयारी केही थिएन । स्टम्प नजिकै फिल्डिङ गरेका केही खेलाडीले रनआउट नगर भनेको सुनेको थिएँ, त्यसै पनि म रनआउट गर्ने पक्षमा थिइनँ,’ आसिफले भने, ‘मेरो स्कुलका प्रशिक्षक जहोर अन्सारीदेखि तत्कालीन प्रशिक्षक पुबुदु दासानायके सबैले मलाई यही सिकाउनुभयो । त्यसैले होला चिट गर्ने, विवाद गर्ने भन्ने कहिल्यै आएन अनि स्वभावले पनि दिएन ।’

आयरल्यान्डले निर्धारित २० ओभरमा १ सय २७ रन बनाएको थियो । नेपाल १ सय ११ रनमा अलआउट हुँदै खेल १६ रनले गुमाएको थियो । आसिफले त्यो क्षण सम्झँदै भने, ‘मैले त्यो रनआउट गरेको भए हामी पनि त्यतिखेर खुसी हुने पक्षमा थिएनौं ।’

प्रकाशित : माघ १३, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?