कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४
नेपाल टी–२० लिग प्रकरण

त्रुटि भएको क्यानको स्वीकारोक्ति

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाका क्रममा केही त्रुटिहरू भएको स्वीकारेको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर बनाउँदै क्यानले पहिलो पटक आयोजना गरेको लिग विवादले घेरिएको थियो ।

त्रुटि भएको क्यानको स्वीकारोक्ति

दुई साताअघि सकिएको लिग ‘लाइभ बेटिङ’, ‘स्पट फिक्सिङ’, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको, राखेपको स्वीकृति नलिई आयोजना गरिएको र श्रम स्वीकृति नलिई आयोजना गरिएको थियो । निजी स्वार्थको लिग भनिएका कारण आफूहरू दुःखी रहेको जनाउँदै क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै दर्ता हुन नसक्नु, समयमै श्रम स्वीकृति प्राप्त गर्न नसक्नु जस्ता प्रक्रियागत त्रृटिले सधैं आलोचनामात्र भएको बताए ।

‘अञ्जानमा त्रुटि भएको छ, हाम्रो खराब उद्देश्य थिएन । काम गर्दैगर्दा त्रृटि भएको कुरा सच्याउन हामी तयार छौं । नेपाल टी–२० लिगको एउटा अध्याय सकिएको छ, जुन खराब योजना थिएन । तर यसका नकारात्मक असरहरूमात्र बाहिर आए । जबकि नेपाल टी–२० लिग डबल राउन्ड रोबिनमा हुनु, ८० प्रतिशत नेपाली खेलाडीले पारिश्रमिक पाइसक्नु, केही पाउनेक्रममा रहनु जस्ता सकरात्मक पक्ष छन्,’ अध्यक्ष चन्दले भने, ‘तर, स्पट फिक्सिङले गर्दा त्यो चर्चामा आएर अरू कुराहरू पनि बिग्रिएजस्तो लाग्छ ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फिक्सिङ र अनियमिततामा नेपाली र विदेशी गरी १० जना संलग्न रहेको मंगलबार जनाएको थियो । त्यसमा एक नेपाली र अर्का विदेशी खेलाडी हुन् । १० मध्ये दुई नेपालीमा मध्यस्तकर्ताको भूमिकामा काम गरेका महबुब आलम र स्पट फिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलमलाई सोमबार ब्युरोले पक्राउ गरी मुद्दाको प्रक्रिया अगाडि बढाएको छ ।

‘कहींकतै नेपाल क्रिकेट संघ प्रत्यक्ष वा संघका पदाधिकारीको स्वार्थ जोडिएको भेट्टाउनु भएमा सजाय भोग्न तयार छौं । कमीकमजोरी निश्चित रूपमा भएको छ, जानीजानी गल्ती गरिएको छैन,’ चन्दले भने । सीआईबी र राष्ट्रिय खेलकुद परिषद्ले छानबिन गरिरहेकाले क्यानले आफ्नो धारणा राख्न समय लगाएको तर्क चन्दको थियो । एकेन्द्र कुँवरको नेतृत्वमा रहेको राखेपको छानबिन समितिले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्दै क्यानलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

राखेपले क्यान निलम्बन गरे पुनः दुर्घटना दोहोरिने बताउँदै अध्यक्ष चन्दले भने, ‘जानीनजानी त्रुटि भयो । तर, अब फेरि के नेपाली क्रिकेटलाई पुरानै अवस्थामा पुर्‍याउने हो ? आईसीसीकै रोहबरमा यो नेपाल क्रिकेट संघको निर्वाचन भएको हो । आईसीसी टोली नै आएर क्यान निर्वाचन गरेको हो । बोर्डले नै चाह्यो भने हामी केही अगाडि निर्वाचन गर्न सक्छौं । ६ महिना अगाडिसम्म निर्वाचन गर्ने अधिकार हामीलाई छ । निर्वाचित कमिटी प्रतिस्थापन गर्ने निर्वाचन समितिले नै हो ।’

क्यानले आफूखुसी गरेको निर्वाचनविरुद्ध ७ वर्षअघि राखेपले त्यसलाई मान्यता नदिएर समान्तर समिति खडा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमा हस्तक्षेप भएको, भ्रष्टाचार र पारदर्शिता नभएको भन्दै सन् २०१६ मा गरेको निलम्बन झन्डै चार वर्ष रहेको थियो । राखेपले फेरि यही प्रवृत्ति दोहोर्‍याए क्यान पुनः निलम्बनको बाटोमा जाने संकेत चन्दले गरे ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको केही कमजोरीका कारण यो अवस्था आएको चन्दको दाबी थियो । उनले भने, ‘सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता बोर्ड बैठक हुँदै साधारणसभामार्फत गरिएको हो । सबै कानुनी पाटालाई नियालेर यसबारेमा हामी प्रक्रियामा जान्छौं र क्यानको बोर्ड बैठकमा यो छलफलको विषय बन्छ ।’ बोर्ड बैठक माघ १७ गते पोखरामा बस्ने छ ।

नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सेनाले खुल्लम खुला लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको आरोप लगाउँदै प्रतियोगिताबाट आफू अलग भएको घोषणा गरेका थिए भने काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीमाथि सट्टेबाजले प्रस्ताव गरेपछि आफूहरूले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी दिएको जनाएका थिए । यस्तो गम्भीर आरोप लागे पनि क्यानले यसलाई भ्रामक र मिथ्या सूचना भएको भनी गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति निकाल्न हतार गरेको थियो ।

अध्यक्ष चन्दले यसको पनि बचाउ गरे । ‘आईसीसीले सीआईबीबाहेक खेलकुद परिषद्लाई पनि यसको जानकारी नगराउनु भनेको छ । त्यहीअनुरुप हामीले प्रतियोगिताका दौरान केही नभनेको तर सीआईबीलाई स्पट फिक्सिङको मामिलामा सहयोग गर्दै आइरहेका छौं । प्रतियोगिताका क्रममा क्यानले स्पट फिक्सिङ छ भनेर भनिरहने हो भने लिग बन्द नै हुन्थ्यो,’ चन्दले भने, ‘स्पट फिक्सिङमा संलग्न हुनेलाई जोकोहीलाई कारबाही हुनेछ ।’

एसीयूले स्पट फिक्सिङमा संकेत गरेका व्यक्ति र अफिसियलहरू बाहिर राख्दै लिग सुचारु गरेको चन्दको दाबी थियो ।

प्रकाशित : माघ १३, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?