उसुमा काठमाडौं टिम च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उसुमा काठमाडौं टिम च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेको छ । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्धप्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोस्रो भयो । ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्यसहित तेस्रो स्थान हात पार्‍यो ।

त्रिपुरेश्वरस्थित राखेप सेमिकभर्डहलमा भएको प्रतियोगिताको थाउलो पुरुषतर्फ ड्रागनका रोजिश बल र महिलामा बुद्धप्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी भए । सान्सौं पुरुषतर्फ कपन उसु क्वानका प्रतीक कुलुङ र महिलामा यिन याङ्की उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई वाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगायतले पुरस्कृत गरे ।

स्वर्ण विजेता सम्मानित

सोही प्रतियोगिता समापनमा आयोजक कालभैरव उसु क्वानले वृहत राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ र ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान गरेको थियो । एलिना चौधरी (५ स्वर्ण), मंगलप्रसाद थारु (४ स्वर्ण), अशोक खालिङ (४ स्वर्ण), सुस्मिता तामाङ (४ स्वर्ण) तथा ३ स्वर्ण जितेका निमा घर्तीमगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी सम्मानित भए ।


प्रकाशित : माघ ११, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

दिलीप हत्या मुद्दा : बुधबार पनि भएन फैसला 

सन्तोष सिंह

धनुषा — धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप महतो हत्या मुद्दामा बुधबार पनि फैसला हुन सकेन । धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले घटनास्थलमा पुगेर प्रतिवेदन तयार गर्ने तत्कालीन प्रहरी निरीक्षक रामकुमार यादवसहित तीन जना प्रहरीलाई अदालतमा हाजिर हुन आदेश दिएको छ । 

यसअघि गत मंसिर २९ गते हत्यामा प्रयोग भएको टिपर धनीलाई बुझ्ने आदेश दिइएको थियो । गएको पुस २८ गते अदालतमा उनको बकपत्र भएको थियो । मुद्दामा हालसम्म २० वटा पेसी चढिसकेको छ । तर, मुद्दा किनारा लागेको छैन । विगत ३ वर्षमा २० पटक पेसी चढेको छ ।

२०७६ माघ २२ मा दर्ता भएको यो मुद्दा अहिले पनि साक्षी बुझ्ने चरणमै छ । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहााबाट जीवितै फर्किएनन ।

दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका छन । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन । दिलीपलाई लिभरले हत्या गरी ना ७ ख ६४१३ नं. टिपरको पछाडि चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको थियो ।


प्रकाशित : माघ ११, २०७९ २१:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×