शुक्रको सहज जित

काठमाडौँ — शीर्ष वरीयताका प्रो शुक्रबहादुर राईले २० औं स्थानका टंकबहादुर कार्कीलाई ५/४ ले हराएर मंगलबार सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरण पार गरेका छन् ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सुरु भएको कुल दुई लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा सहज जित हात पारेसँगै शुक्रले क्वाटरफाइनलमा स्थान बनाए । उनले सेमिफाइनल प्रवेशका लागि दसौं वरीयताका भुवनकुमार रोकाविरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
भुवनले एक स्थानमाथिका रामे मगरको चुनौती २/१ ले समाप्त पार्दै अन्तिम आठमा शुक्रविरुद्ध खेल्ने पक्का गरेका हुन् ।
त्यस्तै, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो स्थानका जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति, धनबहादुर थापा र रमेश अधिकारीले पनि नकआउट प्रतियोगिताको पहिलो दिन जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेका छन् । डिफेन्डिङ च्याम्पियन भुवनले १९ औं स्थानका सरोज मोक्तानलाई २/१ ले हराए । उनले सेमिफाइनल प्रवेशको होडमा आठौं वरीयताका धनबहादुरविरुद्ध खेल्नेछन् । धनबहादुरले पहिलो चरणमा बलभद्र राईलाई ३/२ ले पराजित गरेका थिए ।
कृष्णमान राजवाहकलाई अन्तिम होलमा पराजित गरेका जयरामले क्वाटरफाइनलमा दिनेशविरुद्ध खेल्नेछन् । दिनेशले सूर्यप्रसाद शर्मालाई पन्छाएर पहिलो चरण पार गरेका हुन् । रविले प्रदीपकुमार लामालाई २/१ ले हराएर रमेशविरुद्धको भेट
निश्चित गरे । रमेशले सञ्जयलाई ३/१ ले पाखा लगाएका हुन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ को तेस्रो प्रतियोगितामा क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछ ।
प्रकाशित : माघ ११, २०७९ ०८:४४