‘संयमतापूर्वक खेल्छु’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संयमतापूर्वक खेल्छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले बुधबार उज्वेकिस्तानकी फोजिलोना फरजोभासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

फाइनल पुग्दै इतिहास रचिसकेकी सुष्माले स्वर्ण पदकका लागि आफूले संयमतापूवर्क खेल्ने बताएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार शुभकामना दिन गरिएको भिडियो लाइभमा सुष्माले भनिन्, ‘उज्वेकी प्रतिद्वन्द्वी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ खेल्छिन् । मैले उनको खेल नियालेकी छु । मैले अगाडि बढेर संयमतापूर्वक खेल्ने रणनीति बनाएकी छु ।’ सदस्य–सचिव घिसिङले ऐतिहासिक रूपमा सुष्मा फाइनल पुगेकामा सिंगो देश र आफू खुसी भएको बताए । सुष्माले राष्ट्रलाई स्वर्ण दिलाउनेमा आफ्नो विश्वास रहेको सदस्यसचिवले सुनाए ।

सुष्मा सेमिफाइनलमा मंगोलिया र क्वाटरफाइनलमा भियतनामी प्रतिद्वन्द्वीलाई हराएर फाइनल पुगेकी हुन् । नेपाली बक्सिङ इतिहासमा महिला खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको हो । मंगलबार नेपालका विजय बाटा र त्रिशा जबेगु च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएका छन् । उनीहरू कांस्य पदकमै सीमित भए ।

महिला ७५ केजी तौलमा त्रिशा काजकिस्तानी एरजन गुल्सायसँग र पुरुष ८६ केजीमा विजय बाटा इन्डोनेसियाका मोसकिता माइकलसँग आरएसीको आधारमा पराजित भएका हुन् ।

प्रकाशित : माघ ११, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

सबैले गर्न पाऊन् राफ्टिङ यात्रा

राफ्टिङ व्यवसायमा संलग्न हाम्रो दक्ष जनशक्ति बजारको मागअनुरूप परिचालन गर्न नसक्दा भारत, युरोप, अमेरिका, अस्ट्रेलियालगायतमा पुगेको छ । यसरी विदेश पलायन हुने क्रम नरोके यो व्यवसायको भविष्य नै अन्योलमा पर्ने छ ।
हिक्मतसिंह ऐर

२०२२ नोभेम्बर २७ देखि २९ सम्म त्रिशूली नदीमा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा) ले अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगिताको २० औं संस्करणमा मलाई आमन्त्रित गरेको थियो । संयोगवश २२ वर्षअघि, पहिलो संस्करण भोटेकोसी नदीमा हुँदा पनि म सहभागी थिएँ । त्यति बेलाको रोचक घटना अझै सम्झिरहन्छु ।

नदीको बहाव नमिल्दा म पल्टिएको थिएँ । डोरी समात्दै केही छिन बगेपछि रिभर गाइडहरूले कुशलतापूर्वक राफ्टलाई पल्टाएका थिए । पछिल्ला वर्षहरूमा मैले राफ्टिङ गर्ने प्रशस्त अवसर पाएँ तर त्यो रोमाञ्च भुल्न सकेको छैन । नदीनालाले भरिपूर्ण नेपालजस्तो देशका लागि साहसिक पर्यटनको मेरुदण्ड नै हो— राफ्टिङ । तर, यसको प्रवर्द्धनका लागि यथोचित काम भएको छैन ।

पछिल्ला दुई दशकमा नेपालको पर्यटन क्षेत्रले अनेक आरोह–अवरोहबीच साहसिक खेलकुदका गतिविधिलाई नयाँ उचाइ दिएको छ । नेपाल विश्वव्यापी रूपमा उच्च आकर्षक गन्तव्यहरूको सूचीमा पर्ने गरेको छ । त्यसको कारण नेपालको प्रकृति र संस्कृतिसँगै प्रमुख साहसिक खेल गतिविधिहरू ट्रेकिङ, माउन्टेनियरिङ, राफ्टिङ आदि नै हुन् । नेपाल टुरिज्म तथ्यांक–२०२१ अनुसार ट्रेकिङ र माउन्टेनियरिङका लागि सन् २००० मा १,१८,७८० विदेशी आएका थिए भने कोभिड–१९ भन्दा पहिले २०१९ मा १,९७,७८६ जना । यो तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।

राफ्टिङ व्यावसायिक रूपमा नेपालमा सन् १९७६ मा हिमालयन रिभर एक्सफ्लोरेन्स कम्पनीका अमेरिकी नागरिक अल रिड र केही नेपाली कर्मचारीबाट सुरु भएको हो । त्यसको ४७ वर्षपछि अहिले सरकारले १४ नदीका १६ स्थानमा राफ्टिङ सञ्चालन गर्न अनुमति दिएको छ । सन् २००० मा १३० राफ्टिङ कम्पनी सञ्चालनमा थिए, अहिले घटेर ६०–६५ मात्र छन् । कम्पनीहरू घटिरहे पनि विभिन्न नदी किनारमा रिसोर्टहरू खुल्ने क्रम भने बढेको छ, जसले हजारौंलाई रोजगारी पनि दिइरहेको छ । हाल राफ्टिङको मुख्य केन्द्र त्रिशूली नदी हो, जहाँ ७० प्रतिशत राफ्टिङ गराइन्छ । त्यसपछि कर्णाली, सेती, भोटेकोसी, कालीगण्डकी, तमोर लगायत छन् । यो व्यवसायमा ठूलो लगानी गरिएको छ । एउटा राफ्टिङ कम्पनीले कम्तीमा दुइटा बोट र अन्य सामान राख्दा १५–२० लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ ।

राफ्टिङमा पहिले युरोपेली तथा अमेरिकी पर्यटकको चाप हुन्थ्यो, अहिले भारतीय र नेपालीहरू नै मुख्य ग्राहक छन् । नाराको एउटा तथ्यांक अनुसार, नारा–पर्यटन बोर्डबाट मात्र ४,००० भन्दा बढीले रिभर गाइड तालिम पाइसकेका छन् । तर पछिल्लो समय यो जनशक्ति भारत, युरोप तथा अमेरिकाका बजारमा पुगिसकेको छ ।

दक्षिण एसियामा नेपालमा भन्दा धेरैपछि सन् १९८० मा भारतमा गंगा नदीको कौदियालदेखि रामझुलासम्म राफ्टिङ सुरु गरिएको थियो । आज यो व्यवसाय भारतका ११ ठाउँमा गराइन्छ । पहिले हृषीकेशमा गंगा नदी किनारमा क्यापहरू हुन्थे, सन् २०१६ मा भारत सरकारले यसको सफाइमा ध्यान दिएपछि यस्तो गतिविधिको विकास सोचे अनुरूप भएको छैन । तैपनि अन्य नदी किनारमा ठूला–साना होटलहरू खुलिरहेकै छन् । राफ्टिङ व्यवसायले भारतमा वार्षिक १०० करोड रुपैयाँ आम्दानी गर्दै १०,००० जनालाई प्रत्यक्ष र ३०,००० जनालाई अप्रत्यक्ष लाभ दिइरहेको विभिन्न अध्ययनले देखाएका छन् । त्यहाँका व्यवसायी अनुसार, एक दिनमा औसत ८,००० पर्यटकले राफ्टिङ गर्ने गरेका छन् ।

भारतीय राफ्टिङ व्यवसाय नेपाली गाइड र तालिमकर्ताद्वारा सञ्चालन भएको पाइन्छ । हृषीकेशमा होस् वा कुल्लु मनाली वा लेह लद्दाखमा, राफ्टिङको रिभर गाइड नेपाली नै भेटिन्छन् । युरोप, अमेरिका र अस्ट्रेलियामा पनि नेपाली रिभर गाइडको वर्चस्व देखिन्छ । यसको मुख्य कारण नेपालमा बजारको आवश्यकता अनुसार जनशक्ति परिचालन नहुनु हो । राफ्टिङको दक्ष जनशक्ति यसरी विदेश पलायन हुने क्रम नरोके यो व्यवसायको भविष्य नै अन्योलमा पर्नेछ । बाह्रैमास राफ्टिङ सञ्चालन, अन्तर्राष्ट्रिय बजारमा राफ्टिङ प्याकेजको प्रचारप्रसार र नदी किनारमा पर्यटकीय पूर्वाधारको विकास कसरी र कसले गर्ने भन्ने चुनौती त छँदै छ ।

भारतले विभिन्न नदीमा राफ्टिङसँगै बोटिङ व्यवसाय पनि सञ्चालन गरिरहेको छ । बंगलादेशसँगको सिमाना मेघालयको डाउकीमा दैनिक हजारौं पर्यटक उमगेती नदीमा बोटिङ गर्न पुग्छन् । यो आम्दानीको गतिलो स्रोत पनि भएको छ । किन्तु जलस्रोतको धनी र करिब ६,००० खोलानाला भएको नेपालले पर्यटकीय गतिविधिका रूपमा राफ्टिङ मात्र सञ्चालन गरी न्यूनतम आम्दानी गरिरहेको छ । त्यसैले यसलाई बृहत् व्यवसायका रूपमा विकास गर्नु जरुरी छ । त्यसका लागि निम्नलिखित सुझाव मननीय छन्—

१. नेपालका राफ्टिङ गतिविधिबारे अमेरिकाका विभिन्न सहर, युरोप, अस्ट्रेलिया, जापान लगायतमा व्यापक प्रचारप्रसार गर्नुपर्छ । यसका लागि गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न सकिन्छ ।

२. नदी किनारसम्म पुग्ने सडक लगायत त्यहाँ शौचालय, लाइफ गार्ड आदि न्यूनतम आवश्यकता पुर्‍याउन सकिएको छैन । भोटेकोसी, त्रिशूली नदी किनारमा हालै पर्यटन विभागले एकएक शौचालय एवं चेन्जिङ रुम बनाएको छ, जुन पर्याप्त छैन । नदीमा राफ्टिङ पूर्वधारको विकास गरिहाल्नुपर्छ ।

३. राफ्टिङ गतिविधि ८० मिटरदेखि १,२०० मिटरसम्मको उचाइमा राम्रो हुन्छ । त्यसैले हाइड्रो ड्यामको निर्माण पनि १,२०० मिटरमाथि गर्नुपर्‍यो भन्ने व्यवसायीहरूको जोडदार माग छ । यस विषयमा बृहत् अध्ययन गरी दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ ।

४. भारतीय बजारलाई लक्षित गरी सीमावर्ती सहरहरूमा राफ्टिङको सप्ताह प्याकेजको प्रचारप्रसार गर्नुपर्छ । हाम्रो पूर्वी सीमाका सिलिगुडी, कोलकाता, दरभंगा तथा राँचीजस्ता भारतीय सहरका पर्यटकहरूलाई कोसी, अरुण र तमोर नदीमा राफ्टिङ गराउन सकिन्छ । पटना र गोरखपुरको बजारबाट पनि पर्यटकहरूलाई त्रिशूली, नारायणी, सेती तथा कालीगण्डकीमा तथा नयाँ दिल्ली, हरियाणा, लखनउका पर्यटकहरूलाई महाकाली र कर्णाली नदीमा राफ्टिङ गराउन सकिन्छ ।

५. राफ्टिङ व्यवसायलाई सञ्चालन गर्न र यसको वार्षिक कर प्रतिवेदन बुझाउन सात ठाउँ धाउनुपर्ने बाध्यताको अन्त गर्नुपर्छ । संघीयदेखि स्थानीय सरकारसम्मका निकायले यस विषयमा ध्यान पुर्‍याउनुपर्छ । निजी क्षेत्रद्वारा सञ्चालित यो व्यवसायलाई एकद्वार प्रणालीबाट ‘डिजिटली’ चलाउनुपर्छ र यसको अनुगमन गर्नुपर्छ ।

६. तमोर नदीमा ताप्लेजुङको मूलघाटदेखि सुनसरीको चतरासम्मको राफ्टिङलाई अझ सुविधासम्पन्न बनाउनुपर्छ । महाकाली नदीमा पनि राफ्टिङ व्यवसाय सञ्चालन गर्न नेपाल सरकारले भारत सरकारसँग समन्वय गर्नुपर्छ । भारत सरकारले महाकाली नदी किनार झुलाघाटदेखि पञ्चेश्वर, चुका र बुमसम्म राफ्टिङको अनुमति दिएको छ, रिसोर्ट पनि खोलिएका छन् । हजारौं आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । तर नेपाल सरकार तथा हाम्रो निजी क्षेत्रले यसमा चासो लिएको पाइँदैन ।

७. आन्तरिक पयर्टन प्रवर्द्धनका लागि संघ तथा स्थानीय सरकारहरूले आफ्ना तथा निजी कम्पनीका कर्मचारीहरूलाई राफ्टिङका लागि प्रोत्साहन गर्नुपर्छ ।नदी नै नदीले भरिपूर्ण नेपालमा आउने सबै पर्यटकलाई राफ्टिङ यात्रा गराउन सकियो भने यो व्यवसायको उन्नति हुँदै जानेछ ।

-ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन् ।

प्रकाशित : माघ ११, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×