२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अजारेन्का पुगिन् सेमिफाइनल

एएफपी

मेलबर्न — भिक्टोरिया अजारेन्काले मंगलबार तेस्रो वरीयताकी जेसिका पेगुलालाई ६–४, ६–१ ले पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेकी छन् । सन् २०१३ मा अजारेन्काले अस्ट्रेलियन ओपन जितेकी थिइन् । त्यसयता उनी सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो ।

बेलारुसकी २४ औं वरीयताप्राप्त खेलाडीले अमेरिकी प्रतिद्वन्द्वीलाई हराउन सुरुआती सेटमा ६४ मिनेट खर्चेकी थिइन्, तर दोस्रो सेट भने सजिलै जितिन् ।

अब अन्तिम चारमा उनले विम्बल्डन च्याम्पियन एलेना रेब्किनाको सामना गर्नेछिन् । ‘उनलाई हराउन जहिले पनि अप्ठ्यारो नै हुन्छ, किनभने म उनको प्रगतिकै कामना गर्छु,’ जितपछि अजारेन्काले भनिन् । सन् २०१२ मा पनि अस्ट्रेलियन ओपन जितेकी ३३ वर्षीया अजारेन्का जेसिकाको निकै नजिककी साथी हुन् । उनले थपिन्, ‘तर मलाई पनि आफ्नो उत्कृष्ट टेनिस खेल्नु थियो । जेसिकाको खेल निकै राम्रो छ र प्रदर्शन एकनासको छ । उनीविरुद्धको खेल्न गाह्रो हुनेमा म सुरुमा नै निश्चित थिएँ ।’

जेसिका भने आफ्नो खेलजीवनको तेस्रो अस्ट्रेलियन ओपन क्वाटरफाइनल खेल्दै थिइन् । तर प्रत्येकपल्ट उनको सेमिफाइनल पुग्ने चाहना अधुरो नै रहेको छ । त्यतिमात्र नभएर उनी ग्रान्ड स्लामको सेमिफाइनल पुग्न सकेकी छैनन् ।

पुरुषतर्फ स्टेफानोस सिसिपास आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि नजिक पुगेका छन् । उनले सेमिफाइनल यात्रा निश्चित गर्नेक्रममा गैरवरीयताप्राप्त चेक गणतन्त्रका जिरी लेहचेचलाई ६–३, ७–६, ६–४ ले हराए ।

उनले अब रुसी खेलाडी करेन खाचानोभको सामना गर्नेछन् । प्रतियोगितामा चुनौती कायम राख्ने २४ वर्षीय सिसिपास सबभैन्दा उच्च वरीयताका खेलाडी हुन् । यस्तोमा तेस्रो वरीयताका खेलाडी सिसिपासका लागि मेलबर्नमा रहेका ग्रिक समुदाय उनको समर्थनमा उत्रिएका छन् । चौथोपल्ट अस्ट्रेलियन ओपन सेमिफाइन पुगेका सिसिपासले भने, ‘यसपल्ट मैले फरक खेलें, किनभने मैले जितका लागि कसरी खेल्नुपर्छ, त्यो बुझ्ने प्रयास गरें । तर यो खेल निकै कठिन रह्यो, अहिलेसम्मकै सबैभन्दा कडा प्रतिस्पर्धा चलेको खेल थियो ।’

उता, रड लेभर एरिनामा रुसी खानाचोभ र अमेरिकी सेबास्टियन कोर्डाबीच निकै रोमाञ्चक खेल भइरहेको थियो । तर त्यो खेल पूरा हुन भने पाएन । प्रतियोगितामा १८ औं वरीयताका खेलाडी कोर्डा नाडीको चोटका कारण तेस्रो सेटमा खेल छाड्न बाध्य रहे । त्यतिबेला खेल खाचानोभको पक्षमा ७–६, ६–३, ३–० चलिरहेको थियो । उनी ग्रान्ड स्लाम प्रतियोगिताको सेमिफाइनल पुगेको लगातार दोस्रोपल्ट हो । यसअघि उनी सन् २०२२ को यूएस ओपनमा पनि अन्तिम चारसम्म पुगेका थिए ।

अर्कोतर्फ २२ वर्षीय कोर्डा आफ्ना बुवा पिटर कोर्डाको बाटोमा थिए, जतिबेला बुवा कोर्डाले सन् १९९८ मा अस्ट्रेलियन ओपन जितेका थिए । तर, खेलका क्रममा उनी राम्रोसँग र्‍याकेट समात्न पनि सकिरहेका थिएनन् । एडिलेड अन्तर्राष्ट्रिय टेनिसका क्रममा पहिलोपल्ट चोटको अनुभव गरेका कोर्डाले सुरुआती चार चरणको खेलमा त्यसलाई खासै अनुभव गरेनन् । खेलपछि भने, ‘यो खेलमा म भली प्रहार गर्ने स्थितिमा पनि थिइनँ ।’

प्रकाशित : माघ ११, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?