महबुबले खेलाडीसँग राखेका थिए फिक्सिङ प्रस्ताव- खेलकुद - कान्तिपुर समाचार

महबुबले खेलाडीसँग राखेका थिए फिक्सिङ प्रस्ताव

एउटा नो–बल वा वाइड तथा थोरै रन बनाउन तोकिएको सीमाभित्र आउट भएमा ६ देखि १० लाखसम्म दिने सट्टेबाजको प्रस्ताव
पोखराका खेलाडीलाई विचौलियाले एक पटक भेटेर र अर्को पटक सामाजिक सन्जालबाट प्रस्ताव गरिएका
विनोद पाण्डे

काठमाडौँ — ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ को आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका सदाबहार अलराउन्डर महबुब आलमले नेपाल टी–२० लिग क्रिकेटमा दुई नेपाली खेलाडी र सट्टेबाजबीच मध्यस्तकर्ताको भूमिका निभाएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फिक्सिङ र अनियमिततामा नेपाली र विदेशी गरी १० जना संलग्न रहेको मंगलबार जनाएको छ । त्यसमा एक नेपाली र अर्का विदेशी खेलाडी हुन् । १० मध्ये दुई नेपालीमा मध्यस्तकर्ताको भूमिकामा काम गरेका महबुब आलम र स्पट फिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलमलाई सोमबार ब्युरोले पक्राउ गरेको थियो ।

‘६ जना विदेशी व्यक्ति फिक्सिङ, स्पट फिक्सिङमा जोडिएका छन्, जसमा चार व्यवस्थापकको भूमिका, एक खेलाडी र एक बाहिरी व्यक्ति रहेका छन्, जसले बीचको मान्छेको भूमिकामा बिचौलियाको काम गर्ने गरेको पाइएको छ,’ ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले भने । ‘फिक्सिङका लागि ५ वटा प्रस्ताव आएकोमध्ये तीन खेलाडीले आईसीसीको एन्टी करप्सन युनिट (एसीयू) लाई रिपोर्ट गरेको, जसका कारण उनीहरू क्लिन देखिएका छन्,’ थापाले अगाडि भने, ‘खेलको अनैतिक क्रियाकलापमा जोडिन चाहँदैन भने उसले सट्टेबाजमार्फत आएको प्रस्ताव अस्वीकार गरेर रिपोर्ट गर्छ । दुई खेलाडीले यसलाई रिपोर्ट गरेका छैनन् ।’

महबुब र आदिलको नाम प्रहरीले सार्वजनिक गरिसकेको छ । अन्यको नाम तत्काल खुलाउने अवस्थामा नरहेको र तिनीहरू अनुसन्धानकै क्रममा भएको ब्युरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए । स्पट फिक्सिङका क्रममा एउटा नो–बल वा वाइड तथा थोरै रन बनाउन तोकिएको सीमाभित्र आउट भएमा सट्टेबाजले ६ देखि १० लाखसम्मको नगद प्रस्ताव गरेको र अन्य लोभ पनि देखाइएको आचार्यले सुनाए ।फिक्सिङ गर्दा प्राप्त रकम कसरी पठाइएको छ भनेर आफूहरू प्रमाणिकरणमै रहेको उनले जानकारी गराए ।

कसरी गरियो फिक्सिङ प्रस्ताव ?

काठमाडौं नाइट्सका व्यवस्थापन पक्षले आफ्ना खेलाडीलाई भेटेरै प्रस्ताव गरेको ब्युरोको अनुसन्धानमा देखिएको छ । नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता दौरान आफ्ना खेलाडीमाथि प्रस्ताव गरिएको र त्यसबारे एन्टी करप्सन युनिट (एसीयू) मा रिपोर्ट गरेको जनाएका थिए । पोखरा एभेन्जर्ससँग पुस १८ गतेको खेलमा पराजित भएपछि भारतीय प्रशिक्षक चेतन नन्दा नाइट्सको टोलीमा देखिएनन् । सोही दिन नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र

प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई दिल्ली फरार भएका थिए । नाइट्सका भारतीय व्यवस्थापक जशकरण वाही पनि पछिल्लो तीन खेलमा ‘डगआउट’ मा थिएनन् ।

विराटनगर सुपर किंग्सका टिम व्यवस्थापनले विदेशी खेलाडीलाई प्रस्ताव गरिएको ब्युरोको रिपोर्टमा छ । विराटनगर टोलीमा व्यवस्थापनमा दुईमध्ये एक राहुल शर्मा थिए । लाइभ बेटिङ र स्पट फिक्सिङको आरोपमा एसीयूले उनलाई र कप्तान वेस्ट इन्डिजका आन्द्रे म्याकार्थीलाई पनि टिमबाट हटाएको थियो । राहुल शर्माका छोरा गौरांशु शर्मा विराटनगर टोलीमा ओपनिङ ब्याटर थिए ।

जनकपुर रोयल्सबाट खेलेका आदिललाई मध्यस्तकर्ताले सामाजिक सन्जालबाट प्रस्ताव राखेका थिए । बाँकी दुई खेलाडीमा महबुबको भूमिका रहेको ब्युरोले पत्ता लगाएको छ । पोखराका खेलाडीलाई विचौलियाले एक पटक भेटेर र अर्को पटक सामाजिक सन्जालबाट प्रस्ताव गरेको हो । पोखराका खेलाडीलाई प्रस्ताव गर्ने विचौलियाले फार वेस्टका खेलाडीलाई सामाजिक सन्जालबाट प्रस्ताव गरेको थियो ।

महबुबले सन् २००० मा यूएईमा जापानसँगको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध कीर्तिपुरमा खेलेयता महबुबले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छैनन् । १७ वर्ष नेपालबाट खेलेका तर सम्मान पाउने आशामा औपचारिक संन्यास घोषणा नगरेका महबुब नेपाल टी–२० लिगका बेला कीर्तिपुर मैदानमा देखिएका थिएनन्, तर उनले सामाजिक सन्जालबाट नेपाली खेलाडीलाई प्रस्ताव गरेका थिए ।

उनले प्रस्ताव गरेका दुवै खेलाडीले एसीयूमा उजुरी गरेपछि महबुब विचौलियाको भूमिकामा रहेको पत्ता लागेको थियो । ‘महबुबले नेपालका दुई खेलाडीलाई आर्थिक प्रलोभन देखाउँदै स्पट फिक्सिङ गर्ने प्रयास गरेको प्रमाणबाट पुष्टि हुन्छ,’ वरिष्ठ प्रहरी उपरीक्षक आचार्यले भने ।

आदिलका कसुर

नेपाल टी–२० लिगका ३–४ वटा खेलमा स्पट फिक्सिङ भएको र अन्य खेलमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । टी–२० लिगको १२ औं खेलमा आदिलले काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए । त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल उनले अफ स्टम्पभन्दा धेरै बाहिर फाले । उनले उक्त खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए ।

‘मोहम्मद आदिल आलमलाई एउटा नो–बल र त्यही ओभरको दोस्रो बल वाइड फाल्न प्रस्ताव आएको थियो । उनले खेलेको कम्तीमा दुई खेलमा त्यही प्रकारले खेल खेलेको देखिएको छ । सट्टेबाजको यस्तो प्रस्ताव आउँदा उनले कुनै किसिमबाट पनि रिपोर्ट गरेको देखिँदैन, जुन उनले स्वीकारेका पनि छन्,’ आचार्यले भने, ‘संलग्नमध्ये २ खेलाडी, ४ जना बीचको व्यक्ति जो बिचौलियाको काम गरेर खेलमा हार जितको सट्टेबाजी लगाउने र खेललाई दूषित बनाउनेहरू हुन् ।’ आदिलले अर्को एक खेलमा निकै लामो ओभर स्टेपमा नो–बल फालेका थिए ।

गत वर्ष पपुवा न्युगिनीविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोलीमा ‘डेब्यु’ गरेका आदिलले आफूलाई अलराउन्डरको रूपमा स्थापित गरेका थिए । नेपाल टी–२० लिगमा खेल्ने खेलाडीलाई तीन समूहमा वर्गीकरण गरिएको थियो । जसअनुसार पारिश्रमिक १५, १० र ५ लाख राखिएको थियो । ‘बी’ ग्रेडमा रहेका आदिलको नेपाल टी–२० लिग खेलेवापत १० लाख पारिश्रमिक थियो ।

नाम नखुलाइएका स्पट फिक्सिङका आरोपी एक विदेशी खेलाडीलाई पनि व्यवस्थापन टिमबाट फिक्सिङको प्रस्ताव गर्दा आईपीएललगायतका विभिन्न प्रतियोगितामा खेल्ने व्यवस्था मिलाइदिन्छु भनेर प्रलोभन देखाइएको ब्युरोले जनाएको छ । टिम व्यवस्थापनको निर्देशनमा एक खेलाडीले एक खेलमा १ रनमात्र बनाएर स्पट फिक्सिङ गरेको देखिन्छ । विराटनगर सुपर किंग्सको कप्तानी गरेका म्याकार्थीले जनकपुर रोयल्ससँगको खेलमा १ रनमात्र बनाएका थिए । ५ खेलपछि उनलाई एसीयूको निर्देशनमा टोलीबाट हटाइएको थियो । उनको स्थानमा रोहित पौडेललाई कप्तान बनाएपछि विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

महबुब र आदिललाई मात्र अहिले पक्राउ गरिएको र अझै केही व्यक्ति पक्राउ पर्नेक्रममा रहेको ब्युरोले जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ स्पट फिक्सिङ र अनिमियताका लागि आकर्षित हुन्छ । दोषीलाई दफा ३३ को सजाय बमोजिम ३ वर्ष कैद र ५० हजार जरिवाना हुन सक्नेछ ।

यो घटनाले ठूलो सबक दिने जनाउँदै आचार्यले भने, ‘क्रिकेट हाम्रो राष्ट्रको एउटा महत्त्वपूर्ण खेल हो, यसलाई सफा राख्नुपर्छ भन्ने सबैको चासो हो । हामीले प्राविधिक हिसाबमा पनि यसलाई अध्ययन गरेका छौं । त्यसैले यसले गर्दा पछिल्लो अवस्थामा हुने क्रियाकलाप धेरै हदसम्म निरुत्साहित गर्न सहयोग पुग्छ भन्ने विश्वास लिएका छौं ।’

प्रकाशित : माघ ११, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा

‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ आरोपमा अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम पक्राउ, दर्जन बढी खेलाडी शंकाको घेरामा
विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो । 


दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् । राजविराजस्थित पब्लिक विन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौं ल्याइसकेको छ । बारा घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए ।

महबुब र आदिल पक्राउका विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । सीआईबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धान घेराभित्र रहेका छन् । ‘खेलाडीलाई लाइभ बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव राख्नेहरू व्यक्तिगतभन्दा पनि संस्थागत हिसाबमै देखिएको छ,’ आचार्यले भने, ‘विदेशी खेलाडी र खेलाउनेहरू पनि यसमा संलग्न देखिएका छन् । अनुसन्धान गरिरहेका छौं ।’ फिक्सिङ काण्डमा नेपाली क्रिकेट खेलाडी परेको यो पहिलो घटना हो ।

महबुबले सन् २००० देखि २०१७ सम्म राष्ट्रिय टोलीबाट खेल्ने क्रममा एकदिवसीयमा सबै १० विकेट लिने दुर्लभ कीर्तिमान बनाएका थिए । २००८ मा न्युजर्सीमा मोजाम्बिकविरुद्धको खेलमा उनले पाएको त्यो सफलता तीव्र गतिका बलरको हकमा विश्व क्रिकेटमै पहिलो हो । महबुब ५० ओभरको खेलमा नेपालबाट १ सय विकेट लिने पहिलो खेलाडीसमेत हुन् । आदिल गत वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले आफूलाई राम्रो अलराउन्डरका रूपमा स्थापित गरेका छन् ।

नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुलमखुला लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको आरोप लगाउँदै प्रतियोगिताबाट आफू अलग भएको घोषणा गरेका थिए । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीमाथि सट्टेबाजले प्रस्ताव गरेपछि आफूहरूले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी दिएको जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छुट्टै छानबिन समिति बनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी–२० लिगका विषयमा एक साताभित्र विवरण बुझाउन राखेपलाई निर्देशन दिएको थियो ।

नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको घटना बाहिर आएको दुई दिनपछि आईसीसीको प्रतिनिधिमण्डल अकस्मात् काठमाडौं आएको थियो । आईसीसी इन्ट्रिग्रिटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल टी–२० लिगको खेल हेर्नुका साथै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सीआईबीलगायतका टोलीसँग छलफल गरेको थियो । सट्टेबाजले प्रस्ताव गरेका खेलाडी र नेपालका अन्य प्रमुख खेलाडीसँग पनि टोलीले सोधपुछ गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर आह्वान नगरी हचुवाका भरमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गरेर नेपाल टी–२० लिग आयोजना गरेको थियो । सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको स्ट्राटेजिक र कमर्सियल साझेदार थियो ।

८ वर्षे सम्झौताअनुरूप क्यानले दस्तुरबापत ३३ करोड पाउने भनिएको थियो, जसमध्ये ३ करोड ९० लाख रुपैयाँ पहिलो वर्ष भुक्तानी हुनुपर्ने सम्झौता थियो । यो रकम सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म क्यानको खातामा जम्मा गरिसक्नुपर्थ्यो । तर सम्झौताको ३० प्रतिशत रकम अर्थात् १ करोड २० लाख मात्र खातामा आएको थियो ।

नेपाल टी–२० लिगको पाँचौं दिनसम्म क्यानले पनि दस्तुर नपाएको र खेलाडीले पारिश्रमिक नपाएको गुनासो सुरु भइसकेका बेला सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई सुटुक्क दिल्ली पुगेका थिए । भारतीय पक्षले त्यसको दुई दिनपछि ९६ लाख रुपैयाँ क्यानको खातामा पठाइदिएको थियो ।

सीआईबी स्रोतका अनुसार महबुबले तिनै जतिनको सम्पर्कमा रहेर नेपाली खेलाडीलाई प्रस्ताव गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । स्पट फिक्सिङ गरिएको अवस्थामा सट्टेबाजको निर्देशनमा बलरहरूले विशेष गरी इनिङ्सको पहिलो र अन्तिम ओभरमा वाइड र नोबल फाल्ने गर्छन् । ब्याटरले धेरै बल खेलेर थोरै रन बनाउँछन् ।

आफ्नो इसाराअनुरूप खेलाडीले खेल्न लागेपछि सट्टेबाजले लाइभ बेटिङमा ठूलो रकममा पैसा लगाएर मालामाल हुने र त्यसको केही अंश स्पट फिक्सिङ गरेका खेलाडीलाई दिने गर्छन् ।

स्पट फिक्सिङमा गरिने नोबल अधिकांश ‘ओभर स्टेप’ को हुन्छ । आदिलले एक खेलमा ओभर स्टेपमा क्रिजभन्दा निकै बाहिर गएर नोबल गरेका थिए । त्यसपछि उनी शंकाको घेरामा परेका थिए । स्पट फिक्सिङको आरोपपछि एसीयू टोलीले विराटनगर सुपर किंग्सका विदेशी कप्तान र भारतीय व्यवस्थापकलाई टोलीबाट हटाएको थियो । लुम्बिनी अल स्टार्ससँगको क्वालिफायर्स १ खेलमा जनकपुरका कप्तान वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले ७ वाइड बल फालेका थिए ।

केही फ्रेन्चाइज टोलीको मालिक पहिचान नै नभएको तर तिनीहरू सट्टेबाजमार्फत आफ्ना खेलाडीलाई प्रस्ताव राख्न सक्रिय रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । खेल दौरान स्वस्फूर्त प्रदर्शन पनि नदेखिएको र लाइभ बेटिङसँग जोडिएका घटनामा पैसाको कारोबार बढी भएको पाइएपछि घटना छानबिन गरेका हौं,’ प्रहरी स्रोतले भन्यो, ‘दर्जनभन्दा बढी खेलाडी शंकाको घेरामा छन्, त्यसमध्ये प्रत्यक्ष संलग्न भएको प्रमाणकै आधारमा खेलाडी समातिएका हुन् । उनीहरूसँग जोडिएका अरू पनि हुन सक्छन् ।’

लाइभ बेटिङबाट आम्दानी हुने भएपछि खेलाडीहरू प्रलोभनमा फसेको प्रहरी स्रोतको भनाइ छ । ‘यसलाई आधार बनाएर अरू खेलसँग सम्बन्धितलाई पनि अनुसन्धान गर्न सकिन्छ तर तत्कालका लागि मान्छे पक्राउ परिसकेका कारण मुद्दा चाँडो दर्ता गराउनुपर्ने दबाब छ । अन्यलाई शंकास्पद हिसाबमा राखेर अरू मुद्दा दर्ता पनि गर्न सकिन्छ,’ स्रोतले भन्यो ।

प्रकाशित : माघ १०, २०७९ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×