मकवानपुर गोल्डकप अन्तिम साता

मकवानपुर — पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २९ देखि फागुन ११ सम्म हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मकवानपुर गोल्डकप अन्तिम साता

प्रतियोगितामा आयोजक मकवानपुर–११ सहित ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्र क्लव, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नोपल पुलिस क्लब, नेपाल एपीएफ क्लब, एनआरटी, हिमालयन शेर्पा क्लव, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजक अध्यक्ष टीका लामाले बताए ।

विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई करिब ६ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ । तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरेको थियो । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याचले १० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि वाग्मती प्रदेशको खेलकुद विकास परिषद् तथा मकवानपुरका १० वटै स्थानीय तहबाट आर्थिक सहयोगमा हुँदै आएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले मात्र २५ लाख रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ । पत्रकार सम्मेलनमा वाग्मती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गोल्डकपलाई जिल्लाकै साझा र सानको रूपमा अघि बढाउनु आवश्यक रहेको धारणा राखे । ‘जिल्लाका स्थानीय तहले पनि अपनत्व ग्रहण गर्दै आएकोले यसको निरन्तरता सम्भव भएको हो,’ उनले भने, ‘यसलाई निरन्तरता दिँदै फुटबलका अन्य गतिविधिसमेत अघि बढाउनु आवश्यक छ ।’ साबिक विजेता आर्मी हो ।

प्रकाशित : माघ १०, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?