१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुदूरपश्चिम अपराजित च्याम्पियन

विनोद भण्डारी

इटहरी — सुदूरपश्चिम प्रदेशले अपराजित रहेर प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबारको रोमाञ्चक फाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरी सुदूरपश्चिमले पहिलोपल्ट प्रधानमन्त्री कप जितेको हो ।

सुदूरपश्चिम अपराजित च्याम्पियन

१ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बलअघि पूरा गर्‍यो । अन्तिम ओभरमा सुदूरलाई खेल जित्न ८ रन आवश्यक थियो । प्रदेश १ की कप्तान रुबिना क्षेत्रीले फालेको पहिलो बलमा सम्झना खड्काले १ रन जोडेपछि अर्को बलमा कविता जोशीले छक्का प्रहार गरी स्कोर बराबरीमा ल्याइन् ।

तर, त्यसपछिका दुई बलमा कुनै रन नबनेपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो । पाँचौं बलमा कविताले १ रन लिँदै विजयी रन बटुलिन् । कविता १९ र सम्झना २७ रनमा अविजित रहे । सम्झनाले ३३ बल खेल्दै २ चौका र कविताले २० बल खेल्दै समान एक चौका र छक्का प्रहार गरिन् ।

प्रदेश १ को उपाधि यात्रामा कप्तान रुबिना निकै महँगो बनिन् । उनले ३.५ ओभरमा ३६ रन खर्चेर एक विकेटमात्र लिइन् । उनकै ओभरमा सुदूरपश्चिमकी ब्याटर डली भट्टले एकै ओभरमा दुई छक्का प्रहार गरेकी थिइन् । डलीले १६ बलमा २२ रन जोडिन् ।

सुदूरपश्चिमले १३ ओभरमा ४१ रन जोडेर ३ विकेट गुमाएको स्थितिमा रुबिना आफ्नो तेस्रो ओभर लिएर बलिङमा आइन् । डलीले दोस्रो र पाँचौं बलमा छक्का प्रहार गर्दै म्याच पल्टाएकी थिइन् । विस्फोटक प्रदर्शन गरेकी उनले रुबिनाको तेस्रो ओभरमा थप एक चौका प्रहार गरिन् ।

सुदूरपश्चिमकी कविता कुँवरले १९ बलमा १२ रन, विन्दु रावलले ७ र रुबी पोदारले ८ रन जोडे । प्रदेश १ की सबनम राईले ४ ओभरमा १ मेडन राख्दै ९ रन र संगीता राईले १२ रन खर्चेर १–१ विकेट लिए । हिरनमयी रोय र रुबिनाले पनि १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले ५ विकेट गुमाउँदै काजोल श्रेष्ठको अविजित ४८ रन मदतमा १ सय १ रनको योगफल जोडेको थियो । काजोलले ६३ बल सामना गर्दै ८ चौका प्रहार गरिन् । ब्याटिङमा पनि शनिबार रुबिना जम्न सकिनन् । उनले २३ बलमा १४ रन जोड्दा एक चौका प्रहार गरिन् । अतिरिक्त १३ रन पाएको प्रदेश १ का लागि अप्सरी बेगमले २० बलमा १३ रन बनाइन् । सुदूरपश्चिमकी मनीषा चौधरीले ४ ओभरमा १८ रन दिँदै २ र ऋतु कनौजियाले ४ ओभरमा ८ रन खर्चेर एक विकेट लिए ।

कविताले जितिन् तीन पुरस्कार

विजयी टिमकी कविता कुँवर विधागत रूपमा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र उदीयमान खेलाडीको पुरस्कार जितिन् । तीनवटै पुरस्कार जित्नेक्रममा उनले सर्वोकृष्टको ३० हजार, उत्कृष्ट ब्याटरको २० हजार र उदीयमानको स्कुटर पुरस्कार पाइन् । प्रतियोगिताभर उनले ५ खेलमा ४ इनिङ्सको ब्याटिङ गर्दै दुई अर्धशतकका साथ १ सय ३४ रन बनाएकी थिइन् । कुल २० चौका र २ छक्का प्रहार गरेकी उनले बलिङतर्फ १६ ओभरमा ४ मेडन राख्दै ६७ रन खर्चेर २ विकेट लिएकी हुन् । उनले वाग्मतीविरुद्ध ५० र सेमिफाइनलमा मधेस प्रदेशविरुद्ध ७० रन बनाएकी थिइन् । सुदूरपश्चिमकै मनीषा चौधरी उत्कृष्ट बलर घोषित हुँदै २० हजार पुरस्कार प्राप्त गर्न सफल भइन् । उनले ५ खेलमा २० ओभर बलिङ गर्दै ७८ रन खर्चेर ११ विकेट लिएकी थिइन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाए । विजेता एवं उपविजेता टोलीसहित उत्कृष्ट खेलाडीलाई प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

प्रकाशित : माघ ७, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?