भुटनिज युथ स्पोर्ट्सले जित्यो वाग्मती गोल्डकपको उपाधि


मकवानपुर — पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि विदेशी क्लब भुटनिज युथ स्पोर्ट्सले जितेको छ । मकवानपुरको पूर्वीक्षेत्रस्थित वाग्मती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा संकटा क्लबलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन भएको हो ।


निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो । भुटनिजका गोलरक्षक पूजन थापामगर म्यान अफ दी फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । उनले संकटाका सुरजज्यू ठकुरीले प्रहार गरेको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई उपाधि जिताएका थिए ।
उपाधिसहित भुटनिजले नगद ८ लाख र संकटाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । यो जितसँगै वाग्मती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।
पुस २४ गतेबाट वाग्मती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सातावटा ए डिभिजन टोलीका सातवटा क्लबसहित १० टोलीको सहभागिता रहेको थियो ।
प्रकाशित : माघ ३, २०७९ १७:४९