चेल्सीमा फेलिक्स- खेलकुद - कान्तिपुर समाचार

चेल्सीमा फेलिक्स

बीबीसी

लन्डन — चेल्सीले एट्लेटिको म्याड्रिडका स्ट्राइकर जाओ फेलिक्सलाई यो सिजनको बाँकी खेलका लागि लोनमा अनुबन्ध गरेको छ । यसका लागि चेल्सीले १ करोड १० लाख युरो (९७ लाख पाउन्ड) तिर्ने सहमति भएको छ ।

आर्सनल र म्यानचेस्टर युनाइटेडसँग पनि सम्पर्क भए पनि २३ वर्षीय फेलिक्सको रोजाइमा चेल्सी परेको हो । पोर्चुगिज खेलाडीले एट्लेटिकोसँगको सम्झौतामा पनि थप एक वर्षका लागि हस्ताक्षर गर्दै सन् २०२७ को जुनसम्म लम्ब्याएका छन् । ‘चेल्सी विश्वकै उत्कृष्ट टिममध्ये एक हो र उसको उद्देश्य पूरा गर्नका लागि मैले सहयोग गर्ने आशा गरेको छु,’ फेलिक्सले भने, ‘यहाँ आइपुगेकामा म धेरै धेरै खुसी छु । स्टामफोर्ड ब्रिजमा खेल्न निकै उत्साही छु ।’

एट्लेटिकोले इतिहासकै पाँचौं महँगो खेलाडीको रूपमा फेलिक्सलाई १९ वर्षको उमेरमै अनुबन्ध गरेको थियो । त्यसका लागि स्पेनी क्लबले बेन्फिकालाई सन् २०१९ मा ११ करोड ३० लाख पाउन्ड तिरेको थियो । उनले सबै खालको प्रतियोगितामा एट्लेटिकोबाट १ सय ३१ खेल खेल्दै ३४ गोल र १८ असिस्ट गरेका छन् ।

फेलिक्स गत महिना कतारमा भएको विश्वकपमा क्वाटरफाइनलबाट बाहिरिएको पोर्चुगिज टिममा थिए, जहाँ उनले ५ खेलमा एक गोल गरेका थिए । त्यसपछि उनले एट्लेटिकोका लागि दुई खेल खेल्नेक्रममा डिसेम्बर २९ मा इल्चेविरुद्ध २–० को जितमा गोल गरे भने आइतबार बासिलोनाविरुद्ध १–० ले हारेको खेलमा पनि ७३ मिनेट मैदानमा उत्रिएका थिए । यो सिजन एट्लेटिकोका लागि २० खेलमा ५ गोल र ३ असिस्ट गरेका छन् ।

‘जनवरी ट्रान्सफर’ मा बेनाइट बाडिसेल, डेविड दात्रो फोफना र आन्द्रेय सान्तोसपछि फेलिक्स चेल्सीमा आबद्ध भएका हुन् । प्रिमियर लिगमा चेल्सी हाल १० औं स्थानमा छ । चेल्सी शीर्ष चारभन्दा १० अंक पछाडि परेको छ । लिग कप र एफए कपबाट पनि बाहिरिइसकेको छ । चेल्सीलाई एफए कपको तेस्रो चरणमा गत साता म्यानचेस्टर सिटीले ४–० ले हराएको थियो ।

प्रकाशित : पुस २८, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

जन्मजात मुटुको समस्या समाधान गर्न 'अम्बिकल स्टेम सेल'को प्रयोग

'अम्बिकल स्टेम सेल' बच्चा जन्मँदा नालमा हुने कोशिका हुन् जसबाट रगतमा हुने विभिन्न कोशका साथै शरिरको कुनै पनि अंगका तन्तुसम्म जैविक रूपमा नै निर्माण गर्ने क्षमता राख्छ ।
बीबीसी

लण्डन — ब्रिस्टल हार्ट इन्स्टिच्युटका प्राध्यापक मासिमो क्यापुटोले एक बालकमा भएको जन्मजात मुटुसम्बन्धी समस्यालाई ठीक गर्न स्टेम सेल 'स्काफोल्डिङ' (तहगत संरचना) प्रयोग गरेका छन्। यसले भविष्यमा मुटुसम्बन्धी समस्या लिएर जन्मने बालबालिकाको उपचारका लागि नयाँ आशा जगाउनुका साथै सहज जीवनयापनको बाटो पनि खोलिदिएको छ ।

जन्मजात मुटुको रोग भएका बालबालिकालाई धेरै शल्यक्रियाको आवश्यकता नपर्ने गरी प्रविधिको विकास गर्ने सफल हुने उनको आशा छ । 'अम्बिकल स्टेम सेल' भनेका बच्चा जन्मँदा नालमा हुने कोशिका हुन् जसबाट रगतमा हुने विभिन्न कोशका साथै शरीरको कुनै पनि अंगका तन्तुसम्म जैविक रूपमा नै निर्माण गर्ने क्षमता हुन्छ।

प्राध्यापक मासिमोले स्टेम सेल स्काफोल्डिङ शल्यक्रिया गरेका बालक फिनले, अहिले दुई वर्ष पुगेका छन् र स्वस्थ छन् । तर उनी जन्मँदा उनको मुटुको मुख्य धमनी गलत बाटोतर्फ मोडिएर जन्मिएका थियो । त्यसैले जन्मिएको केवल चार दिनमै उनको पहिलो ओपन-हर्ट सर्जरी ब्रिस्टल रोयल अस्पताल फर चिल्ड्रेनमा गरिएको थियो।

दुर्भाग्यवश शल्यक्रियाले समस्या समाधान गर्न सकेन र उनको मुटुको कार्य झनै बिग्रिएको थियो । जसका कारण उनको मुटुको बायाँ भागमा रगतको प्रवाहको गम्भीर रूपमा अभाव हुन थालेको थियो । 'ऊ बाँच्ने सम्भावना राम्रो छैन भनेर हामी सुरुदेखि नै तयार थियौं,' उनकी आमा मेलिसाले भनिन्, '१२ घण्टापछि फिनले अन्ततः शल्यक्रियाबाट बाहिर आयो तर उसलाई जीवित राख्न मुटु र फोक्सोको बाइपास मेसिन चाहिने भयो । साथै उसको मुटुको कार्य उल्लेखनीय रूपमा बिग्रिएको थियो।'

आमा मेलिसाका साथमा दुई वर्षका फिनले ।

हप्तौंको सघन हेरचाहपछि पनि फिनलेको उपचार गर्ने कुनै परम्परागत तरिका थिएन र उसको मुटुको कामलाई निरन्तरता दिन केवल औषधिको मात्रै भर थियो। तर एउटा नयाँ नविन प्रयासस्वरूप प्लेसेन्टा बैंकबाट स्टेम सेल समावेश गरेर शल्यक्रिया गर्ने निधो गरियो ।

प्रा. क्यापुटोले क्षतिग्रस्त रक्तनली बढ्न मद्दत गर्ने आशामा स्टेम सेलका कोशिकालाई सीधै फिनलेको मुटुमा 'इन्जेक्ट' गरे। "एलोजेनिक" कोशिका लन्डनको रोयल फ्री हस्पिटलका वैज्ञानिकले प्रयोगशालामा बनाएका थिए र तीमध्ये लाखौंलाई फिनलेको मुटुको मांसपेशीमा इन्जेक्ट गरिएको थियो।

शरीरले अस्वीकृत नगरेको खण्डमा एलोजेनिक कोशिकामा तन्तुका रूपमा बढ्ने क्षमता हुन्छ र फिनलेको केसमा, क्षतिग्रस्त मुटुको मांसपेशीलाई पुन: उत्पन्न गरेको देखिन्छ।

'हामीले उसलाई दिइएका सबै औषधिहरूबाट बन्द गर्‍यौं र भेन्टिलेसनबाट पनि निकाल्यौं,' प्रा. क्यापुटोले भने, 'उनी अस्पतालबाट डिस्चार्ज भए र अब एक खुसी बालकका रुपमा हुर्किंदै गरेका छन् ।'

बायो-प्रिन्टर प्रयोग गरेर बनाइएको स्टेम सेल स्क्याफोल्ड प्रयोग गरेर रक्त नलीहरूमा रहेका भल्भहरूको मर्मत गर्न तथा हृदयको दुई मुख्य पम्पिङ च्याम्बरहर बीचको प्वालहरूमा रहेको समस्यालाई सुधार गर्न सकिन्छ । कृत्रिम तन्तु सामान्यतया बच्चाहरूमा रहेको मुटुको समस्यालाई ठीक गर्नका लागि प्रयोग गरिन्छ । तर यो असफल हुनसक्छ किनभने बच्चाको उमेरसँगै त्यसरी कृत्रिम रुपमा राखिएको भल्भ बढ्न सक्दैन र भविष्यमा थप शल्यक्रिया आवश्यक पर्दछ।

प्रा. कापुटोका अनुसार प्रयोगशालामा गर्नुपर्ने केही कार्यपछि अर्को दुई वर्षमा त्यस्ता प्याचहरूको क्लिनिकल परीक्षण हुने आशा राखिएको छ । स्टेम सेल प्लास्टरको परीक्षणले जन्मजात मुटुमा समस्या रहेका बालबालिकालाई सहज हुने आशा प्रदान गरेको छ ।

बेलायतमा हरेक दिन, लगभग १३ बच्चाहरु जन्मजात मुटुसम्बन्धी समस्याका साथ जन्मिने गरेको ब्रिटिस हार्ट फाउन्डेशनको तथ्यांकले देखाउँछ। त्यस्ता बालबालिकाको मुटुलाई ठीक गर्न प्रयोग गरिने कृत्रिम सामग्री बिरामीको प्रतिरक्षा प्रणालीद्वारा अस्वीकार गर्ने तथा तिनले मुटुमा दाग निम्त्याउने हुँदा अन्य जटिलताहरू निम्त्याउन सक्छ । साथै, बिस्तारै केही महिना वा वर्षहरूमा त्यो शल्यक्रिया असफल हुनसक्छ। त्यसैले पनि एउटा बच्चाले आफ्नो बाल्यकालमा धेरैपटक एउटै मुटुको शल्यक्रिया गर्नु पर्ने हुन्छ । युकेमा हरेक वर्ष जन्मजात मुटुको समस्या भएका करिब २०० बालबालिका दोहोर्‍याएर शल्यक्रिया गरिन्छ।

प्रा. क्यापुटो र उनको टोलीका अनुसार स्टेम सेल प्रविधिले एनएचएसलाई हरेक शल्यक्रियाका लागि आवश्यक पर्ने अनुमानित ३० हजार पाउन्ड बचत गर्न सक्छ र प्रत्येक वर्ष लाखौं पाउन्ड बचत हुनसक्छ। स्टेम सेल जीवविज्ञानका विशेषज्ञ र एसएलएम ब्लू स्काइज इनोभेसन लिमिटेडका निर्देशक डा. स्टेफन मिङ्गरले पनि यस अनुसन्धानको प्रशंसा गरका छन्।

'मैले थाहा पाएसम्म स्टेम सेल इन्फ्युजनले वयस्कमा हुने हृदयघात वा अन्य मुटुका विफलतालाई न्यूनतम उपचारात्मक फाइदा मात्र देखाएको छ,' उनले भने, 'म खुसी छु कि क्लिनिकल टोलीले एक मानक क्लिनिकल परीक्षण गर्नेछ र जसले हामीलाई यो सफलता हो भनेर बताउनेछ र हामीलाई यसको पछाडिको संयन्त्रको पनि राम्रो बुझाइ दिनेछ।'

-बीबीसीबाट साभार

प्रकाशित : पुस ५, २०७९ १३:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×