कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हिमालयन शेर्पा विजयी

सुवास विडारी

मकवानपुर — हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । हिमालयनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो ।

हिमालयन शेर्पा विजयी

अब टोलीको भेट भुटनिज युथ क्लब अमेरिकासँग हुनेछ । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा हिमालयनका गोलरक्षक दीप कार्कीले आर्मीको दुई पेनाल्टी रोकेपछि टोलीको जित सम्भव भयो । उनी म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । टाइब्रेकरमा शेर्पाका विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र इरिक बेलीले गोल गरे । आर्मीबाट टेकबहादुर बुढाथोकी र भरत खवासले मात्र गोल गरे । दिनेश हेम्जन र कमलबहादुर थापाको पेनाल्टी प्रहार गोलरक्षक दीपले बचाए ।

निर्धारित समयमा आर्मीका लागि नवयुग श्रेष्ठ र हिमालयनका विदेशी खेलाडी प्रिन्सले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । उनलाई विपक्षी डिफेन्डर अमृत श्रेष्ठले बक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टीको मौका दिएका थिए ।

पहिलो हाफमा एक गोलले अगाडि रहे पनि दोस्रो हाफमा आर्मीले निकै फितलो प्रदर्शन गर्‍यो । खेलको ६० औं मिनेटमा हिमालयनका प्रिन्सले हेडिङमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले विश्वास श्रेष्ठको कर्नरमा हेड गरेका थिए । खेलको ७२ औं मिनेटमा उनै विश्वासको फ्रिकिक प्रहार आर्मीका गोलरक्षकले मुस्किलले बचाए । आर्मीका फरवार्ड नवयुग, भरत खवास र टेकबहादुर बुढाथोकीले राम्रो मौका सिर्जना गर्न सकेनन् । फलस्वरुप आर्मी सिजनको दोस्रो नकआउट प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिन पुग्यो । यसअघि पोखरामा सम्पन्न आहा–रारा पोखरा गोल्डकपमा पनि आर्मी पहिलो खेलमै पराजित भएको थियो । शेर्पाले तीन विदेशी खेलाडी मैदानमा उतारेको थियो । उनीहरूको प्रदर्शनमा आर्मीले दबाबमा खेल्नुपरेको थियो । बुधबार मछिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २७, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?