नेपाल टी–२० लिग

सम्झौताले बाँध्‍न नसक्दाको परिणाम

बैंक ग्यारेन्टी गरिने अन्तर्राष्ट्रिय प्रचलन भए पनि क्यानको यति ठूलो सम्झौतामा कहींकतै त्यो उल्लेख छैन
विनोद पाण्डे

काठमाडौँ — कोभिड–१९ को जगजगी थियो । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा भर्चुअल रूपमा काठमाडौंमा आयोजना गर्न लागिएको थियो । मिति थियो २०७७ मंसिर ३ । प्रमुख अतिथि थिए, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल ।

सम्झौताले बाँध्‍न नसक्दाको परिणाम

साधारणसभाको मुख्य एजेन्डा थियो नेपाल प्रिमियर लिग (नेपाल टी–२० लिग) । सदस्य–सचिव सिलवाल विगतको भोगाइका कारण नेपाल टी–२० लिगको आयोजक पक्ष देख्नेबित्तिकै हच्किए ।

सन् २०१७ मा एक भारतीय कम्पनी नेपाल आएर एसियन क्रिकेट प्रिमियर लिग आयोजना गरेको थियो । म्याच फिक्सिङले भरिपूर्ण त्यो प्रतियोगिता अन्त्यमा विदेशबाट ल्याइएका खेलाडीलाई पारिश्रमिक नदिई र होटलको बिल पनि नतिरी आयोजक रहेको त्यो भारतीय कम्पनी भागेको थियो ।

अर्को एउटा त्यस्तै काण्ड आयो जसमा सिलवाल आफैं सम्बन्धित थिए । राखेप सदस्य–सचिव सिलवाल र दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई राखेर भारतको एनके मिडिया भेन्चर प्रालिले २०१९ को डिसेम्बरमा नेपालले आयोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुदका लागि प्रसारण अधिकार सम्झौता गरेको थियो । एनके मिडियाले त्यसवापत नेपाली पक्षलाई ८ करोड र टेलिभिजनमा आएको विज्ञापनको ५० प्रतिशत रकम दिने घोषणा गरेको थियो । तर साग सुरु हुनैलाग्दा एनके मिडिया नेपालबाट फरार भयो ।

त्यही एनके मिडियासँगको भोगाइका कारण सचेत बनिसकेका सिलवालले क्यानको साधारणसभामा नेपाल टी–२० लिगका बारेमा भनेका थिए, ‘नेपाली क्रिकेटका लागि नेपाल प्रिमियर लिग आवश्यक छ, तर यसमा ख्याल पुर्‍याउनुपर्छ । यो भनेको क्यानले आफैं आयोजना गर्नुपर्छ । क्यान विवादमा फस्नु हुँदैन । यसमा दायाँबायाँ गर्न मिल्दैन । पारदर्शी ढंगले विधि र प्रक्रिया मिलाएर निर्णय गर्नुस । यो एनपीएलचाहिँ हुनैपर्छ र उपयुक्त मौकामा हुनुपर्छ । यसले हाम्रा खेलाडीलाई ठूलो एक्सपोजर दिन्छ ।’

...

क्यानले एनपीएलका लागि टेन्डर आह्वान नगरी हचुवाको भरमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग पहिला १० र त्यसपछि त्यसलाई छोट्याएर ८ वर्षे सम्झौता गरेको थियो । धेरैले यसलाई ‘कौडीको भाउ’ मा एनपीएल आयोजना सुम्पेको भनेर नेपाली क्रिकेटको सर्वोच्च निकायको आलोचना गरेका थिए । क्यानबाट कमर्सियल र स्ट्रेजेटिक पार्टनरको अधिकार लिएर नेपाल टी–२० लिग आयोजनामा पूर्ण वर्चस्व जमाएको सेभेन थ्री स्पोर्ट्स अहिले प्रतियोगिताको बीचमै फरार भएको छ । जे डर थियो, आखिर त्यही भयो । खेलाडी र प्राविधिकको पारिश्रमिक र सेभेन थ्री स्पोर्ट्सबाट क्यानले पाउने दस्तुर अन्योल रहेको समयमा नेपाल टी–२० लिगका खेल अहिले जसोतसो सञ्चालन भइरहेका छन् । डबल राउन्ड रोबिन लिगका खेल समाप्तिका क्रममा पुगेका छन् ।

यसबाहेक म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को इन्ट्रिग्रेटी युनिटका दुई सदस्यीय प्रतिनिधिमण्डल बिहीबार अकस्मात् काठमाडौं आएर छानबिन गरी फर्किइसकेको छ । त्यस्तै नेपाल टी–२० लिगको पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङका जालो बनाएको विषयमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका छन् भने राखेपले आफ्ना बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा छानबिनका लागि कार्यदल नै बनाइसकेको छ ।

‘नेपाल टी–२० लिगमा जे–जे भइरहेको छ, त्यो पूर्वानुमानित नै थियो,’ वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले भने, ‘दुई वर्षअघि क्यानको भर्चुअल साधारणसभामा क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता राष्ट्रिय र क्रिकेटको हितमा छैन । आयोजना अधिकार दिँदा कानुनीसहित सार्वजनिक खरिद ऐन प्रक्रिया पूरा गर्नुपर्ने जस्ता विषयमा मैले जोडदार आवाज उठाएको थिएँ ।’

...

२०७७ सालमा स्वीकृति लिएपछि कोभिड–१९ को बहाना बनाउँदै हराएको सेभेन थ्री स्पोटर््स एक वर्षपछि पुनः नेपाल टी–२० लिग आयोजनाका लागि आएको थियो । क्यानले गत वर्ष धनगढी साधारणसभाबाट सेभेन थ्रीलाई एनपीएल आयोजना गर्न दिने अधिकार पारित गरेको थियो । बस्न्यातले तीतो अनुभव सुनाए, ‘धनगढी साधारणसभामा मैले नेपाल टी–२० लिगको विषयमा पुनः विरोध गरेको थिएँ । यसरी गरेर हुँदैन, खुला आह्वान गरेर गर्नुपर्थ्यो । यो कम्पनीलाई दिनुहुँदैन, सेभेन थ्री स्पोर्ट्सको पोर्टफोलियो पनि राम्रो छैन भनेर भन्दा मलाई अध्यक्ष (चतुरबहादुर चन्द) ले तपाईं सधैंभरी विरोधमात्र गर्ने भनेर जवाफ फर्काउनुभएको थियो ।’ नेपाली क्रिकेट बचाउन यो भनाइ राखेको भन्दा अध्यक्ष चन्दले साधारणसभाको आवाज बेवास्ता गर्दै ‘तपाईंहरू आफ्नो धारणा राख्नुस्, हामी पास गर्छौं’ भनेर घमण्ड गरेको बस्न्यात स्मरण गर्छन् ।

सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० लिग आयोजनाको अधिकार दिइँदा उसले आफ्नो वेबसाइटमा २०१७ देखिको अडिट रिपोर्ट नै हालेको थिएन । जबकि संस्था २०१२ मा स्थापना भएको भनिएको छ । जसले गर्दा उसको वित्तीय अवस्थाबारे भन्न सकिने केही स्थिति थिएन । तत्कालीन अवस्थामा सेभेन थ्री स्पोर्ट्सको आफ्नो वेबसाइटमा अधिकृत चुक्ता पुँजी ३७ लाख भारु थियो । तर क्यानलाई ८ देखि १० वर्षको वार्षिक सम्झौतामा वार्षिक झन्डै ४ करोड दस्तुर दिने भनिएको थियो । यसअघि कुनै पनि क्रिकेट इभेन्ट आयोजना नगरेको सेभेन थ्री स्पोर्ट्सलाई क्यानले नेपाल टी–२० लिगको आयोजना अधिकार दिएको हो ।

सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक साकालानी क्यानलाई कुनै जानकारी नदिई सोमबार साँझ दिल्ली गएपछि आयोजकमध्ये एक भारतीय पक्ष फरार भएको जानकारी क्यानले पाएको थियो । त्यसको भोलिपल्ट उनीहरू क्यानको सम्पर्कमा आएका थिए । क्यानले दस्तुरवापत सेभेन थ्री स्पोर्ट्ससँग ३ करोड ९० लाख रुपैयाँ पाउनुपर्ने थियो ।

सम्झौताअनुरुपको उक्त रकम सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता सुरु हुनु एक दिनअघि क्यानको खातामा जम्मा गरिसक्नुपर्ने हो । तर सम्झौताको ३० प्रतिशत रकम १ करोड २० लाखमात्र सेभेन थ्री स्पोर्ट्सले क्यानको खातामा राखिदिएको थियो । भारतीय पक्षले अघिल्लो दिन ९६ लाख रुपैयाँ खातामा पठाइदिएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताउँछन् । भारतीय पक्ष नेपालमा नभएको अवस्थामा क्यानले सेभेन थ्रीबाट लिनुपर्ने १ करोड ७४ लाख रकम भने पाउने नपाउने अन्योल छ ।

सेभेन थ्री स्पोर्ट्ससँग करोडौंको सम्झौता गरे पनि कुनै बैंक ग्यारेन्टी नगर्नु क्यानको अर्को ठूलो कमजोरी देखिएको छ । जसका कारण अहिले खेलाडी तथा अफिसियलको पारिश्रमिकबारे पनि अन्योल छ । केही फ्रेन्चाइज टोलीले खेलाडीको पारिश्रमिक दिन सुरु गरे पनि अन्य केही टोलीका मालिक पहिचान नभएका कारण खेलका दिन ती टोलीका व्यवस्थापक भेटिन पनि छाडेका छन् ।

दुई कम्पनीबीच सम्झौता गर्दा बैंक ग्यारेन्टी गरिने अन्तर्राष्ट्रिय प्रचलन भए पनि क्यानले यति ठूलो सम्झौता गर्दा सामान्य ध्यान पुर्‍याएको पनि देखिँदैन । सम्झौतामा कहीं बैंक ग्यारेन्टी उल्लेख छैन । नेपाल टी–२० लिगको स्वामित्व आफ्नो भने पनि क्यानले ठेक्कामा दिए जसरी एकतर्फी सम्झौता गर्दा नेपाली क्रिकेट अहिले ठूलो दुर्घटनामा परेको छ ।

सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर भनिए पनि एउटा बुँदामा क्यानको प्रशासनिक र नियमन पनि उसैले गर्नसक्ने गरी अधिकार दिइएको छ । नेपाल टी–२० लिगका लागि क्यानले बोर्ड बैठकबाट गरेको हरेक निर्णयको माइन्युट ७२ घन्टाभित्र सेभेन थ्री स्पोर्ट्सलाई बुझाउनुपर्ने भनिएको छ ।

क्यानले टी–२० अधिकार दिए पनि सम्झौतामा टी–१०, टी–१५, टी–३० सहित भविष्यमा आईसीसीले अर्को कुनै संरचनाको खेल क्यालेन्डरमा राखे त्यो पनि नेपालमा सेभेन थ्री स्पोर्ट्सले मात्र आयोजना गर्न पाउने भनिएको छ । क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको ८ वर्षे सम्झौता सम्पन्न भएपछि पुनः अर्को सम्झौता गर्दा अरूले लगाएको बोलीमा सेभेन थ्री स्पोर्ट्सले कबुल गरेमा उसैले पाउने अर्को हास्यास्पद बुँदा राखिएको छ ।

नेपाल टी–२० बाहेक क्यानमातहत भएका अन्य प्रतियोगिताको बौद्धिक सम्पत्तिको हक पनि सेभेन थ्री स्पोर्ट्सको हुने सम्झौतामा रहेको छ । सम्झौतामा जिम्मेवारी र कार्यक्षेत्र पनि प्रस्ट खुलाइएको थिएन । नेपाल टी–२० लिगका उजुरी आएमा भारतको कानुन लाग्ने र त्यसमा मध्यस्थता गर्नुपरे नयाँ दिल्लीमा हुनुपर्ने उल्लेख छ ।

बेटिङ कम्पनी वान एक्स बेट घुमाउरो पारामा वान एक्स ब्याटको रूपमा जारी नेपाल टी–२० लिगको प्रमुख प्रायोजन बनेको छ । क्यानले सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौताको एउटा बुँदामा भनिएको छ, ‘विश्वको कुनै पनि कम्पनीलाई प्रायोजनसहित ल्याउन सकिने छ । त्यो सम्झौता क्यानलाई देखाउन बाध्य हुने छैन ।’

सम्झौतामा यस्ता धेरै बुँदा छन्, जसमा सेभेन थ्री स्पोर्ट्सले मुख्य आयोजक क्यानलाई देखाउनु नपर्ने भनिएको छ ।

प्रकाशित : पुस २३, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?