१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुई दशकपछि त्रिभुवन गोल्डकप हुँदै

पर्वत पोर्तेल

झापा — ३० को दशकमा राजधानी बाहिरकै प्रतिष्ठित प्रतियोगिताको पहिचान बनाएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ को पुनर्आयोजना गर्ने चाँजो मिलेको छ । जिल्लाकै इज्जतिलो प्रतियोगिता गर्न करिब दुई दशकपछि स्थानीय जुर्मुराएका हुन् ।

दुई दशकपछि त्रिभुवन गोल्डकप हुँदै

मोफसलकै ठूलो र प्रतिष्ठित यो प्रतियोगिता देशको राजनीतिक परिवर्तनसँगै ओझेल परेको थियो । १८ वर्षपछि प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवसायी र सामाजिक अगुवाहरु अघि सरेका हुन् ।

पछिल्लो पटक २०६१ मा प्रतियोगिता आयोजना भएपछि ठप्प थियो । ०६२/०६२ को राजनीतिक परिवर्तनका कारण प्रतियोगिता हुन नपाएको स्थानीय व्यवसायी दिपेश ढकालले जनाए । युवा उद्यमी ढकालकै अगुवाइमा गोल्डकप आयोजक समिति निर्माण गरिएको छ । ‘गोल्डकपको नाम परिवर्तन गरेर भद्रपुर, झापा गोल्डकप जुराइएको छ,’ ढकालले भने, ‘यो वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिने योजनामा हामी जुटेका हौं ।’

ढकालका अनुसार प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको कडीको रुपमा रहने छ । ‘बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको झापा गोल्डकपलाई यस वर्ष रोकेर मेची रंगशालामा भद्रपुर–झापा गोल्डकप आयोजना गर्न लागिएको हो,’ ढकालले जनाए ।

प्रतियोगिताको मिति भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मात्रै तय गरिने जनाइएको छ । ‘यही माघ भित्रमा प्रतियोगिता आयोजना हुने छ,’ ढकालले थपे, ‘एन्फासँगको सहकार्यमा प्रतियोगिता हुने छ ।’ प्रतियोगिताका विजेताले नगद १३ लाख पाउने छन् । उपविजेता टिमले नगद ७ लाख पाउने छन् ।

गोल्डकप आयोजक समितिका महासचिव तथा भद्रपुरका पूर्वप्रमुख जीवन श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि मेची रंगशालाको स्तरोन्नति सुरु गरिएको जनाए । श्रेष्ठले भने, ‘अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी रंगशालाको मैदानमा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ । प्याराफिटहरु पनि व्यवस्थित गरिने छ ।’

पटकपटक पहल

०६२/०६३ को जनआन्दोलनको चेपुवामा पर्यो गोल्डकप । गणतन्त्र आयो । राजा महाराजाको नाममा स्थापित प्रतियोगिता आयोजना गर्ने जाँगर स्थानीयले खासै चलाएनन् । त्यसपछि यो प्रतिष्ठित प्रतियोगिता ओझेल पर्‍यो।

भद्रपुर नगरपालिकाका पूर्व प्रमुख श्रेष्ठका अनुसार जनआन्दोलन लगत्तै प्रतियोगिताको नाम फेरेर पुनर्आयोजना गर्ने कुरा चलेपनि नाम फेर्ने विषयमा कुरा नमिल्दा प्रतियोगिता अलपत्र परेको थियो । प्रतियोगितालाई निरन्तरता दिन भद्रपुरका स्थानीय व्यवसायी तथा राजनीतिकर्मीहरुले पटक–पटक पहलकदमी गरे । तर टुंगोमा पुगेन । ‘अन्तिममा आर्थिक कारण नै बाधक बन्यो,’ त्यो बेला प्रतियोगितालाई निरन्तरता दिन बनेको ‘त्रिभुवन गोल्डकप ट्रष्ट’ का संयोजक टिकाराज ढकालले सुनाए ।

गोल्डकपको इतिहास

त्रिभुवन गोल्डकपको सुरुआत पञ्चायतकालमै भएको थियो । जतिबेला मुलुक राजा महेन्द्रको एकतन्त्रीय शासनमा थियो, त्यही बेला अर्थात् २०२४ सालताका प्रतियोगिताको थालनी भयो । उबेला स्थानीय स्तरमा मात्रै सीमित रहेको प्रतियोगिता २०३१ पछि भने अन्तर्राष्ट्रियव्यापी बन्यो ।

प्रतियोगितामा तत्कालीन महेन्द्र पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जनकपुर चुरोट कारखाना लगायतका चर्चित क्लबका साथै भारतको मोहन बगान, बंगलादेश र भुटानको टिम सहभागी हुन्थे । २०३६ को जनमत संग्रहका बेला प्रतियोगिता स्थगित भयो । त्यसपछि पुनः प्रतियोगिताले निरन्तरता पाएको खेलकुद क्षेत्रका अग्रज लेखनाथ पराजुली सम्झन्छन् । ०४७ सालसम्म चल्यो । फेरि रोकियो । ‘समय–समयमा भएका राजनीतिक उतारचढावले प्रतियोगिता प्रत्यक्ष रुपमा प्रभावित भयो,’ पराजुलीले भने, ‘०४७ सालपछि एकैचोटी १२ वर्षपछि मात्रै प्रतियोगिता भयो, ०५९ मा ।’ ०६० मा पुनः एक वर्ष रोकिएर ०६१ मा मात्रै आयोजना भएको प्रतियोगिता त्यसयता पूर्णरुपमै ठप्प थियो । ०५९ र ०६१ का दुवै प्रतियोगिता तत्कालीन युवराज पारस शाहले उद्घाटन गरेका थिए ।

प्रकाशित : पुस १०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?