‘इंग्लिस टिम पूर्णतातर्फ’- खेलकुद - कान्तिपुर समाचार

‘इंग्लिस टिम पूर्णतातर्फ’

द गार्डियन

कराँची — पाकिस्तानमाथि ३–० को ऐतिहासिक टेस्ट शृंखला जितेपछि इंग्लिस टिमका प्रशिक्षक ब्रेन्डन म्याकलम मान्छन्, आफ्नो टिम पूर्णतातर्फ अग्रसर छ । इंग्ल्यान्डले कराँचीमा भएको तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

यससँगै पाकिस्तानलाई उसकै भूमिमा भएको टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गर्ने इंग्ल्यान्ड पहिलो टिम बनेको थियो । म्याकलमले भने, ‘पछिल्लो चार साता अद्वितीय रह्यो, यो निकै सन्तुष्टि दिने खालको प्रदर्शन थियो ।’

उनले भने, ‘यो शृंखलामा हामीले पक्कै पनि विशेष उपलब्धि हासिल गरेका छौं । यसलाई हामी कहिल्यै पनि बिर्सने छैनौं ।’ अहिलेको शृंखलाअगाडि इंग्ल्यान्डले आफ्नो भूमिबाहिर पाकिस्तानलाई २२ वर्षयता कुनै पनि टेस्टमा हराउन सकेको थिएन । पाकिस्तानविरुद्ध पछिल्ला २२ टेस्टमा इंग्ल्यान्ड दुई अवसरमात्र विजयी थियो । तर, सन् २००५ यता पहिलोपल्ट पाकिस्तानमा खेलिरहेको इंग्ल्यान्डले आफ्नो समग्रै इतिहासमै चौथोपल्ट घरबाहिर ‘ह्वाइटवास’ गरेको हो ।

रावलपिन्डीमा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले पहिलो दिन नै ४ विकेट गुमाएर ५ सय ६ रन बनाएको थियो । यसै ‘फ्लायट’ पिचमा पाँचौं दिनको अन्त्यतिर खराब प्रकाशबीच जित निकालेको थियो । मुल्तानको दोस्रो टेस्ट पनि रोमाञ्चक रह्यो । कराँचीमा प्राप्त तेस्रो जित भने सजिलो थियो । यो सबै सफलता त्यस्तो स्थितिमा प्राप्त भएको थियो, जतिबेला शृंखला हुनु २४ घण्टामात्र बाँकी छँदा इंग्ल्यान्डका केही खेलाडी बिरामी परेका थिए ।

‘हामीले शृंखलाका क्रममा सबैखाले चुनौती सामना गरेको थियौं,’ न्युजिल्यान्डका म्याकलमले भने, ‘केही चुनौती रणनीतिक थिए, केही चुनौती प्राविधिक थिए, केही चुनौती मानसिक पनि रहे । भ्रमणका क्रममा केही खेलाडी बिरामी परे । यी सबै परिस्थितिमा अहिले जस्तो क्रिकेट खेल्नु, त्यो पनि तीन फरक क्रिकेट मैदानमा । मेरो विश्लेषणमा हामी पूर्णताको नजिक छौं ।’ यो शृंखलाको सबैभन्दा ठूलो विशेषता ह्यारी ब्रुक्सको उदय रह्यो ।

जोनी बेरिस्टोको खुट्टा भाँचिएपछि मात्रै ब्रुक्सले अवसर पाएका थिए । तर म्याकलम मान्छन्, बेरिस्टो ठीक भएपछि टिममा फर्कन्छन् । यसै शृंखलाका क्रममा इंग्ल्यान्डले १८ वर्षीय रेहान अहमदको डेब्यु अवसर थियो । उनी टेस्ट क्रिकेटमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्ने कान्छा खेलाडी बने । लेग स्पिनर अहमद तेस्रो टेस्टको दोस्रो इनिङ्समा पाकिस्तानका ५ ब्याटरलाई आफ्नो सिकार बनाउँदै उत्कृष्ट सुरुआत लिन सफल भए ।

म्याकलमले फ्रेन्चाइज क्रिकेटमा अहमद उपयुक्त हुने दाबी गरे । शुक्रबार हुने इन्डियन प्रिमियर लिगको खेलाडी लिलामीमा लेस्टरसायरका अहमदको नाम पनि छ । म्याकलम थप्छन्, ‘हामीले उनको खेललाई नजिकबाट हेरिरहेका हुनेछौं र यो महत्त्वपूर्ण छ । म उनलाई सकेसम्म बढी फ्रेन्चाइज क्रिकेट खेल्न प्रेरित गर्नेछु । त्यो पनि सबैतर्फ खेलेर बहुमूल्य अनुभव बटुल्न । अझ फरक–फरक खेलाडी, प्रशिक्षक र परिस्थितिबीच ।’

प्रशिक्षकमा म्याकलम र कप्तान बेन स्टोक्सको आगमनयता इंग्ल्यान्डले पछिल्लो १० मध्ये ९ टेस्ट जितेको छ । स्टोक्स भन्छन्, ‘हामीले जे गरेका छौं, त्यो विशेष छ । पाकिस्तानलाई उसकै भूमिमा ३–० ले हराउनु निकै गर्विलो उपलब्धि हो । लगातार जितिरहेका बेला इंग्ल्यान्डका लागि खेल्नुको मज्जा नै बेग्लै हुन्छ ।’ अब इंग्ल्यान्डले फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध दुई टेस्टको शृंखला खेल्नेछ । जुनमा आयरल्यान्डविरुद्ध एक टेस्ट खेलेपछि इंग्ल्यान्डको ध्यान अस्ट्रेलियाविरुद्धको एसेज शृंखलामा हुनेछ ।

प्रकाशित : पुस ७, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

नचाहिएका ‘सुपर स्टार’

द गार्डियन

लन्डन — क्रिस्टियानो रोनाल्डो अब त्यस्ता ‘सुपरस्टार’ भएका छन्, जसको आवश्यकता कसैलाई भएन । आखिर पोर्चुगलले पनि त्यही बाटो रोजेको छ, जुन यसअघि म्यानचेस्टर युनाइटेडले अपनाएको थियो । त्यो हो, रोनाल्डोविना खेल्ने अनि नतिजा राम्रो निकाल्ने । उनीविनाको पोर्चुगल साँच्चै राम्रो देखियो, विश्वकप २०२२ को अन्तिम १६ को खेलमा ।

स्विट्रजरल्यान्डविरुद्ध रोनाल्डोलाई ‘ड्रप’ गर्ने प्रशिक्षक फर्नान्डो सान्तोसको निर्णय सही नै साबित भयो ।

टिमको प्रदर्शन आफैंमा उम्दा रह्यो । त्यसैले त पोर्चुगल यो खेलमा स्विट्जरल्यान्डविरुद्ध मज्जाले ६–१ ले विजयी रह्यो । अब क्वाटरफाइनलमा उसको सामना मोरक्कोविरुद्ध हुँदै छ । भन्न सकिन्छ, सायद यो खेल जित्न पोर्चुगललाई गाह्रो हुने छैन, यदि रोनाल्डोले खेलेनन् भने । यसपल्ट सान्तोसले रोनाल्डोलाई टिमबाट हटाउने बहादुरीपूर्ण निर्णयमात्र गरेका छैनन्, दक्षिण कोरियाविरुद्ध रोनाल्डोले देखाएको व्यवहारको खुलेरै आलोचना गरेका छन् ।

त्यस खेलमा आफू सब्स्टिच्युट हुँदा रोनाल्डोले नमीठो ढंगले असन्तुष्टि पोखेका थिए । त्यसै कारण उनको स्थानमा युवा खेलाडी गोन्सालो रोमासले मौका पाए । उनले मौकामात्र पाएनन्, त्यसमा आफूलाई सिद्ध गरे । उत्कृष्ट र जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे । अहिले ३७ वर्षीय रोनाल्डोका लागि ठीक दिन चलिरहेको छैन । उनको घमण्ड र दम्भका कारण म्यानचेस्टरसँगको सम्बन्ध सधैंका लागि टुटिसकेको छ । उनले इंग्लिस प्रिमियर लिग क्लबको खुबै आलोचना गरेका थिए । अब यस्तै अवस्था आफ्नै राष्ट्रिय टिमबाट आइपरेको छ । केही समयअघिसम्म पनि धेरैका लागि अकल्पनीय अवस्था बनेको छ, पोर्चुगली टिममा रोनाल्डो ‘ड्रप’ गर्दा, त्यो पनि विश्वकप जत्तिको ठूलो प्रतियोगितामा । अझ त्यो पनि नकआउट चरणमा । सान्तोसले पोर्चुगाली टिम सम्हालेको पनि ८ वर्ष भयो । यसबीच उनले गरेको सबैभन्दा ठूलो र बहादुरीपूर्ण मात्र होइन, सही निर्णय भनेकै यही भएको छ, रोनाल्डोलाई नखेलाउने निर्णय ।

पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका सान्तोस बिरलै मात्र ठुल्ठूला निर्णय गर्ने प्रशिक्षकका रूपमा लिइन्छ । यदि पोर्चुगल अन्तिम १६ मै रोकिएको भए विश्वकपबाट बाहिरिनुको सबै दोष उनीमाथि नै हुन्थ्यो न कि रोनाल्डोमाथि । तर सान्तोसले यसपल्ट के बहादुरीपूर्ण निर्णय गरे, पोर्चुगलको प्रदर्शन निकै आक्रामक रह्यो । स्विस टिममाथि पोर्चुगल पूर्णतः छाएको थियो । कुनै त्यस्तो समय आएन, जतिबेला रोनाल्डोको आवश्यकता महसुस भयो ।

मिडफिल्डःमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेसले खेल पूर्णतः आफ्नो नियन्त्रणमा राखेका थिए । अगाडि २१ वर्षीय रामोस थिए । यसअघि उनीबारे धेरै सुन्न पाइएको थिएन । तर, २१ वर्षीय स्ट्राइकरले आफूमाथि गरेको विश्वासको पूर्ण न्याय दिलाए । स्विट्जरल्यान्डसँगको खेलअघिसम्म रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल नगरेको ५ सय १४ मिनेट पुगिसकेको छ । जबकि रामोसले ६७ मिनेटमात्र खेलेर तीन गोल गरे ।

रोनाल्डोको मनमा लागेको हुनसक्छ, जसरी म्यानचेस्टरमा उनको खेलजीवन सकिएको थियो, त्यसैगरी पोर्चुगलका लागि हुनसक्छ । त्यसैले बेञ्चमा रहेका बेला उनको अनुहारमा कुनै प्रकारको खुसी देखिएको थिएन ।

पोर्चुगलको राष्ट्रिय गीत बजिसकेपछि सबैको ध्यान उनमै थियो, रोनाल्डोको प्रतिक्रिया कस्तो हुन्छ भनेर । खेल सकिन १६ मिनेटअघि सान्तोसले रोनाल्डोलाई मैदानमा छिराए । तर, यो उनको व्यक्तिगत उपलब्धिमात्र रह्यो । रोनाल्डोले खेलमा कुनै छाप छाड्न सकेनन् ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×