१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

श्रीमतीको उजुरीपछि डा. पंकज चौधरी पक्राउ 

सुनिता बराल

महोत्तरी — दाइजो लिएर विवाह गरेको र श्रीमतीमाथि कुटपिट गरेको आरोपमा महोत्तरी रामगोपालपुर-५ का डा पंकज चौधरी पक्राउ परेका छन् । श्रीमती नेहा चौधरीले दिएको दाइजो तथा घरेलु हिंसाको उजुरीपछि उनी पक्राउ परेका महोत्तरी प्रहरीले जनाएको छ । 

नेहाले दाइजो बढी लिएर विवाह गरेको र आफूमाथि घरेलु हिंसा (कुटपिट) भएको भनी दिएको उजुरीका आधारमा बुधबार पंकजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए । एक हप्ता पहिले नेहाले जिल्ला अदालत महोत्तरीमा पंकजविरुद्ध दुईवटा मुद्दा चलाएकी थिइन् । घरेलु हिंसाको उजुरीमा जिल्ला अदालतले गत मंसिर २६ गते नै नेहालाई संरक्षणात्मक आदेश जारी गरिसकेको छ । नेहाको घाउ खत र घटना अनुसन्धान गर्दा नेहाको संरक्षण आवश्यक ठहर गर्दै अदालतले गाली, बेइज्जती, अपशब्द प्रयोग नगरी मानसिक र शारीरिक यातना हुने कुनै कार्य नगरी घरमा संरक्षणसहित राख्न पंकजको परिवारलाई आदेश दिएको छ । पंकजविरुद्ध परेको दाइजोको मुद्दा अझै अदालतमा रहेकाले पक्राउ परेका पंकजलाई एक हप्ताको म्याद थप गरी जिल्ला अदालत महोत्तरीले थुनामा राख्न आदेश दिएको छ ।

नेहा र पंकजले ९ महिना पहिले विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धपछि परिवारको सहमतिमा विवाह गरेका थिए । एक महिना पहिले नेहाले सामाजिक संजालमार्फत आफू घरेलु हिंसामा परेको भन्दै शरीरका निलडामसहित फोटा सार्वजनिक गर्दै न्यायको माग गरेकी थिइन् । छोरीलाई त्यस घरमा राम्रो होस् भनेर पंकजको परिवारले भनेजसरी घरमा चाहिने हरेक सामान किनेर दिएको र ५० लाख नगदसहित डेढ करोड खर्च गरेर छोरीको विवाह गरेको उनका बुबा सुरेश चौधरीले बताए ।

पंकजको परिवारको मागबमोजिम महोत्तरी र जनकपुरको ठूला होटलमा ३० लाखभन्दा बढी खर्च गरेर टीकाटालो र विवाह गरेको नेहाको परिवारले दाबी गरेको छ । डाक्टर पंकज काठमाण्डौंस्थित ग्राण्डी हस्पिटल र नर्भिक हस्पिटलमा जेनेरल फिजिसियनको रुपमा कार्यरत छन् ।

प्रकाशित : मंसिर २८, २०७९ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?