१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विश्वकप लिग टु : कठिन मोडमा नेपाल

काठमाडौँ — नामिबिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले फेरि अर्को खेलमा चुनौती दिन सकेन । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा फितलो प्रदर्शन गरेको नेपाल विश्वकप लिग २ को खेलमा बिहीबार स्कटल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो ।

विश्वकप लिग टु : कठिन मोडमा नेपाल

विन्डहोकको युनाइटेड क्रिकेट क्लबमा टस जितेको नेपाल ३५.३ ओभर खेल्दै १ सय १९ रनमै अलआउट भयो । जवाफमा क्रिस्टोफार म्याकब्रिजले अविजित ४६ रन बनाएपछि स्कटल्यान्डले १७ ओभरमै १ सय २१ रन बनायो । लिग २ मा नेपालको यो छैटौं शृंखला हो । नेपालले पहिलो पटक शृंखलामा कुनै खेल जित्न सकेन ।

नामिबियासँग शुक्रबारको पहिलो खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो । नामिबियाले पहिलो ओभरमा ४ रन बनाएको अवस्थामा खेल रद्द हुन पुग्यो । स्कटल्यान्डसँग अर्को खेलमा १ सय ३७ रनमात्र बनाउन सकेको नेपालले ३ विकेटको हार बेहोरेको थियो । बुधबार २ सय ७५ रन बनाउँदै नामिबियाले नेपालसँगको खेल ८६ रनले जितेको थियो ।

३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको स्कटल्यान्डले उपाधि जित्ने निश्चित भइसकेको छ । ओमान ४४, नामिबिया ३७, अमेरिका ३५, यूएई २७ अंकसाथ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । नेपाल २४ खेलमा १८ अंकसाथ छैटौं स्थानमा छ । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् ।

बाँकी रहेको १२ खेलमा ९ मा विजय हात पारेमा नेपाल कम्तीमा शीर्ष ५ भित्र अटाउन सक्छ । नेपालले बाँकी रहेको तीनमध्ये दुई शृंखला घरेलु मैदानमा खेल्नेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग ४–४, स्कटल्यान्ड र नामिबियासँग २–२ खेल खेल्न बाँकी छ ।

नेपालले पछिल्ला ६ खेलमा ५ मा पराजय भोगेको छ । पछिल्ला ६ महिनामा खेलेको लिग २ का १२ खेलमा नेपालले ८ मा पराजय भोगेको छ भने २ खेलमात्र जित्न सकेको छ । बाँकी दुई खेलमध्ये एक ‘टाइ’ भएको थियो भने यसै शृंखलामा नामिबियासँगको १ खेल रद्द भएको हो ।

नेपालले पुनः एकपल्ट सुरुआत राम्रो गर्न सकेन । नेपालको १६ रन बन्दा ओपनरद्वय अर्जुन साउद (०), आसिफ शेख (१) र ज्ञानेन्द्र मल्ल (९) आउट भइसकेका थिए । कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । उनले ५७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी १४, आरिफ शेख १, गुलशन झा ५, सोमपाल कामी १६, ललित राजवंशी ११ रनमा आउट भए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले २–२ विकेट लिए ।

पूर्व कप्तान केयल कोइट्जर १६ रनमा आउट भए पनि जर्ज मुन्सी र म्याकब्रिजले स्कटल्यान्डलाई सजिलै विजय बनाए । मुन्सीले २८ बल खेल्दै ७ चौका र २ छक्कासहित ४५ रन बनाए । म्याकब्रिजले ४० बल खेलेर ७ चौका प्रहार गरे । नेपालबाट गुलशन र दीपेन्द्रले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर २२, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?