कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

म्याराथन गन्तव्य नेपालगन्ज

हिमेश

काठमाडौँ — अनौपचारिक कुराकानीमा वैकुण्ठ मानन्धरले खुला दिलले भनेका छन्, आफ्नो नाममा रहेको म्याराथनको कीर्तिमान कसैले भंग गरे खुसी हुनेछ । सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) मा मानन्धरले बनाएको कीर्तिमानी प्रदर्शन अहिलेसम्म ज्युँको त्युँ छ । समय थियो २ घण्टा १५ मिनेट ०३ सेकेन्ड । लगभग ३५ वर्ष भइसकेको छ, यो दक्षिण एसियाकै कीर्तिमान अझै कायम छ ।

म्याराथन गन्तव्य नेपालगन्ज

खासमा यो समय आफैंमा उम्दा हो । त्यसैले कोही कसैलाई यसको छेउछाउ पुग्न उत्तिकै गाह्रो छ । नियमित प्रशिक्षणदेखि दृढ महत्त्वाकांक्षा चाहिनेछ यसलाई भंग गर्न । अहिलेको पुस्ताका अधिकांश म्याराथन धावकको मनमा त पक्कै होला, यस प्रदर्शनको छेउछाउ पुग्ने । भंग गर्ने कुरा आफ्नो ठाउँमा छँदै छ । यो सबै पृष्ठभूमि किनभने यही शनिबार नेपालगन्जमा हुने नेपालगन्ज म्याराथन धेरै हदसम्म कोही पनि धावकलाई आफ्नो प्रदर्शन सुधार्न ठीक गन्तव्य हुनेछ ।

म्याराथनमा दौडको रुट के कस्तो छ त्यसले धेरै फरक पार्नसक्छ । नेपालगन्ज म्याराथनको सबैभन्दा ठूलो विशेषता भन्नु नै यो यसको रुट गजब छ, ठ्याक्कैभन्दा ‘फ्लायट’ छ । समथल बाटोमा दौडिनु र उकालो ओरालो बाटोमा दौडिनुमा फरक हुने नै भयो । प्रतियोगितालाई लिएर केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बेला सागकी स्वर्णधारी खेलाडीद्वय गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले पनि मानेका थिए, नेपालगन्ज म्याराथनको रुट धावकका लागि सबैभन्दा सजिलो छ ।

फेरि यहाँनिर अर्को प्राविधिक तथ्य छ, नेपालगन्ज समुद्री सतहभन्दा जति माथि छ, त्यो भन्दा माथि काठमाडौं छ । त्यसैले काठमाडौंमा म्याराथन धावकलाई केही गाह्रो हुनसक्छ, विशेषतः विदेशीलाई । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका बेला पनि श्रीलंकाली एथलेटिक्स खेलाडीले भनेका थिए, ‘हाइअल्टिच्युड’ कारण आफूहरूलाई केही गाह्रो भएको थियो । त्यसमाथि काठमाडौंका बाटो उकालो ओरालोसहितका छन् ।

एथलेटिक्सका पूर्वप्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘ओरालोमा दौडिन अझ गाह्रो हुन्छ । जसले ओरालोमा दौडिन सजिलो भन्छ, त्यो नबुझ्नेले मात्र हो । पक्कै पनि नेपालगन्ज म्याराथनको रुट सजिलो छ । यसको मुख्य कारण भनेको एक त यो फ्लायट रुट हो, अर्को यो समुद्री सतहको काठमाडौंभन्दा तल छ ।’ उनी के मान्छन् भने खेलाडीले कडा मिहिनेत गर्ने हो र उत्तिकै लगनले खेल्ने हो भने नेपालगन्ज म्याराथन कीर्तिमान प्रदर्शनका लागि उपयुक्त गन्तव्य हो ।

सन् २०२० को नेपालगन्ज म्याराथनमा गोपीचन्द्रले नै २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेका थिए । यो आफैंमा निकै राम्रो समय हो । नेपाली भूमिमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन यसलाई मानिन्छ । त्यतिबेला दोस्रो स्थानमा आउने कृष्णबहादुर बस्नेतले पनि दौड २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरेका थिए । सन् २०१७ मा पहिलो भएका दुर्गाबहादुर बुढाले दौड २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।

अझ सन् २०१९ मा नवराज साउदले २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा दौड सिध्याएका थिए । अहिलेसम्म भएका सात संस्करणका म्याराथनमध्ये अधिकांश समय राम्रै समय निस्किरहेको छ । यसको एउटा ठोस कारण त्यही सजिलो रुट र कम हाइअल्टिच्युड नै हो । गोपी त के मान्छन् भने नेपालगन्ज म्याराथन नै त्यस्तो प्रतियोगिता हुनेछ, जहाँ ढिलोचाँडो कुनै न कुनै दिन कीर्तिमानी प्रदर्शन हुनेछ । नेपाली एथलेटिक्स पनि त्यसकै प्रतीक्षामा छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?