१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

काठमाडौँ — लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो । लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे । लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेश २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउदले समान दुई तथा आकाश चन्दले एक विकेट लिए । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सँगै सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदलासमेत लिएको छ ।

प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश,वाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गर्‍यो ।

प्रकाशित : मंसिर १९, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?