अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु


भैरहवा — स्व. शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आइतबारदेखि भैरहवामा सुरु भएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि प्रतियोगिता रोकिएको थियो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेस्ट बोर्डिङ स्कुल बुटवलले भैरहवाको साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानामा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । जसमा, मोहम्द हुसेनले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । एभरेस्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए ।
जवाफमा, एभरेस्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । उसको जितमा चार्ल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साइग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेस्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।
यसपटक महामारी कम भएकाले पुन: प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले बताए । प्रतियोगिताको बिजेता टिमलाई नगद ३० हजार रुपैयाँ र उपबिजेता टिमलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ ।
निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित : मंसिर १८, २०७९ १६:५६