२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
विश्वकप २०२२

इंग्ल्यान्डलाई अफ्रिकी चुनौती

राजु घिसिङ

दोहा — इंग्ल्यान्डको प्रिमियर लिग विश्वकै सबैभन्दा लोकप्रिय घरेलु फुटबल प्रतियोगिता हो । मार्केटिङ र मिडियाको प्रभावको हिसाबले प्रिमियर लिगलाई युरोपकै अरू लिगले चुनौती दिन सकेको छैन । इंग्ल्यान्ड फुटबलको जन्मदाताको रूपमा पनि परिचित छ । तर, इंग्ल्याडको पुरुष टिम उपाधि खडेरीबाट तड्पिएको ५६ वर्ष भइसकेको छ । यही उपाधिविहीन यात्रालाई टुंग्याउने प्रयासमा अगाडि बढ्न इंग्ल्यान्डले विश्वकप २०२२ मा क्वाटरफाइनल प्रवेशका लागि अफ्रिकी च्याम्पियन सेनेगलविरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै छ ।

इंग्ल्यान्डलाई अफ्रिकी चुनौती

चेल्सीका डिफेन्डर कालिडोउ कोलीबेलीको कप्तानीमा रहेको सेनेगलको गोलपोस्ट चेल्सीकै गोलकिपर एडुवार्ड मेन्डीले सम्हाल्दै छन् । सेनेगलका १० खेलाडी इंग्ल्यान्डको लिग खेल्छन्, त्यसमध्ये ६ खेलाडी प्रिमियर लिग क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसैले कप्तान ह्यारी केन, फिल फोडेनसहित प्रिमियर लिगका स्टार खेलाडीले भरिएको इंग्ल्यान्डलाई अल बायत रंगशालामा चुनौती दिने स्थितिमा उभिएको हो क्यामरुन ।

फिफा वरीयतामा १३ स्थानमुनिको प्रतिस्पर्धीबारे इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘वरीयताको आधारमा हामीलाई फाइदा गरेको छ तर सेनेगल खतरनाक टिम हो । उसका धेरै खेलाडी प्रिमियर लिग तथा युरोपका लिगहरूमा खेलिरहेका छन् । यसबारे हामी जानकार छौं ।’ साउथगेटले सम्हालेको टिम इंग्ल्यान्ड ४ वर्षअघि रुसमा भएको विश्वकप २०१८ मा सेमिफाइनल पुगेको थियो, जसलाई उसलाई लुका मोड्रिचको टिम क्रोएसियाले रोकिदिएको थियो ।

सन् २०१६ देखि टिम सम्हालेका ५२ वर्षीय साउथगेटले इंग्ल्यान्डलाई राम्रो प्रदर्शन गर्ने र उपाधि होडमा उभिएको टिमको रूपमा स्थापित गरेका छन् । तर, उनी इंग्ल्यान्डले चाहेको उपाधिका लागि भने संघर्षरत छन् । रुस संस्करणको तुलनामा गत वर्ष भएको युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड उपाधिको एक कदम नजिक पुगेको थियो । तर, फुटबलको जन्मदातालाई घरमै ट्रफी राख्ने अवसरबाट वेम्बलीमा टाइब्रेकरमा जित हात पार्दै इटालीले वञ्चित गरिदियो । त्यसपछि केही खस्किएको इंग्ल्यान्डले कतारमा सुधारिएको प्रदर्शन गरिरहेको छ । तर, अझै उसको प्रदर्शनमा एकरुप आउन सकेको छैन ।

घरेलु भूमिमा सन् १९६६ मा विश्वविजेता भएको इंग्ल्यान्डले इरानमाथि ६–२ को फराकिलो जितसहित खाडी यात्रा थालेको थियो । दोस्रो खेलमै अमेरिकाविरुद्ध नीरस प्रदर्शन गर्दै गोलरहित खेल्यो । निर्णायक खेलमा दोस्रो हाफमा तीन गोल गरेपछि वेल्सको चुनौती ३–० ले समाप्त पार्दै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता हँुदै अन्तिम १६ मा प्रवेश गरेको थियो । सुरुमै नेदरल्यान्ड्सविरुद्ध २–० ले हारेको सेनेगलले त्यसपछि कतारलाई ३–१ र दक्षिण अमेरिकी टिम इक्वेडरलाई २–१ ले पराजित गरेर समूह ‘ए’ उपविजेताका रूपमा क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्यान्डविरुद्ध खेल्ने निश्चित गरेको थियो । दुई दशकअघि विश्वकप डेब्युमै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध पार्दै सनसनी मच्चाएको सेनेगल टिमका हिरो हुन् एलिउ सिसे । एसियामा पहिलोपल्ट भएको विश्वकपमा क्वाटरफाइनल यात्रा गरेको थियो । त्यसपछि छनोटमै असफल भएको सेनेगल रुस २०१८ मा फर्किए पनि विश्वकपको समूह चरणबाटै घर फर्किएको थियो । त्यसैले दोस्रोपल्ट एसियाले विश्वकप आयोजना गर्दा पनि सिसे र सेनेगल इतिहास रच्न आतुर छ ।

सिसे अहिलेको टिमका मुख्य प्रशिक्षक हुन् । अल खोरस्थित रंगशालामा सेनेगल मुख्य प्रशिक्षक सिसेबिना पनि हुनसक्छ । उनी शनिबार भएको प्रशिक्षण र पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन् । सहायक प्रशिक्षक रेगिस बोगाएर्टले भने, ‘उनी केही दिनयता बिमारी छन् । तर, आइतबार टचलाइनमा उपस्थित हुनेमा विश्वस्त छु ।’ बायर्न म्युनिकका स्टार साडियो माने चोटका कारण यो विश्वकपमा टिमबाहिरै छन् । वरीयतामा अफ्रिकाकै बसभन्दा अगाडि १८ औं स्थानमा रहेको टिमका प्रभावशाली मिडफिल्डर इद्रिस गुये पनि निलम्बनमा परेका छन् । त्यसको प्रत्यक्ष फाइदा इंग्ल्यान्डले लिन सक्छ ।

अफ्रिकी खेलाडी शारीरिक रूपमा बलिया छन् । प्रिमियर लिग सुहाउँदो प्रदर्शन गर्न उनीहरू सक्षम छन् । यो खेलमा इंग्ल्यान्ड फेवरेट टिम हो । तर, फुटबलमा जे पनि हुनसक्छ । जापानले जर्मनी र स्पेन, दक्षिण कोरियाले क्रिस्टियानो रोनाल्डो कप्तानीको पोर्चुगल, मोरक्कोले बेल्जियम, साउदी अरेबियाले लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई पराजित गरेजस्तै नतिजा सेनेगलले दिन सक्दैन भन्ने अवस्था छैन । इंग्ल्यान्ड र सेनेगल पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सेनेगलले विश्वकपको नकआउटमा खेलेका दुवै खेल अतिरिक्त समयसम्म लम्बिएको थियो । यसबाट इंग्ल्यान्ड सचेत छ । किनभने इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा अभागी रहँदै आएको छ । उसले पहिलोपल्ट टाइब्रेकरमा चार वर्षअघि जित हात पारेको थियो । रुसमा अन्तिम १६ को खेलमा इंग्ल्यान्डले टाइब्रकेरमा कोलम्बियालाई पराजित गरेको थियो । यसबारे प्रशिक्षक साउथगेटले भने, ‘हामी जे हौं त्योभन्दा धेरै टाढा छैनौं । केही कुराले साँघुरो अवस्थामा पनि हामीलाई निरास पार्ने गर्छ र त्यसका लागि हामीले तयारी गरेका छौं । सन्तुलनमै राखेर कुनै ठूलो नाटक आवश्यक हुने छैन तर यही बेला हामी तयार छौं भन्ने पनि निश्चित गर्न चाहन्छौं ।’

६ तथ्य

  • इंग्ल्यान्ड विश्वकपमा अफ्रिकी टिमविरुद्ध पछिल्ला ७ खेलमा अपराजित छ । उसले ४ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ । उसले ५ खेलमा विपक्षीलाई गोल गर्न दिएको छैन ।
  • इंग्ल्यान्डले अफ्रिकी टिमविरुद्ध एकपल्ट नकआउट चरणमा प्रतिस्पर्धा गरेको छ । उसले सन् १९९० मा भएको विश्वकपको क्वाटरफाइनलमा क्यामरुनमाथि अतिरिक्त समयमा ३–२ को जित हात पारेको थियो ।
  • पछिल्ला दुई खेलमा इंग्ल्यान्डले क्लिन सिट राखेको छ । उसले लगातार तीन खेलमा गोल नखाएको विश्वकप २००२ को प्रदर्शन कतारमा बराबरी गर्ने प्रयास गर्नेछ ।
  • सेनेगलले विश्वकपमा लगातार दुई खेल पहिलोपल्ट जितेको हो ।
  • सेनेगलले विश्व्कपका पछिल्ला १० खेलमा गोल नखाएको खेल नै छैन अर्थात् क्लिन सिट राख्न सकेको छैन ।
  • विश्वकपको नकआउट चरणमा सेनेगलले खेलेका अघिल्ला दुई खेल अतिरिक्त समयसम्म लम्बिएको थियो ।

प्रकाशित : मंसिर १८, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?