कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उपाधि र बोनसको लडाइँ

विनोद पाण्डे

काठमाडौँ — नेपाललाई पराजित गरेमा स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ को शीर्षस्थानमा पुग्नेछ र विजेता बन्ने निश्चित हुनेछ । त्यसको विपरीत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संर्घषरत नेपाललाई स्कटल्यान्डमाथि विजय हात पारेमा त्यो ‘बोनस’ हुनेछ ।

उपाधि र बोनसको लडाइँ

नेपाल र स्कटल्यान्ड आइतबार नामिबियाको विन्डहोकमा भिड्दा समीकरणमा यी तथ्यहरू खेल्नेछन् । दुवैको नामिबियामा यो दोस्रो खेल हो । नेपाल र नामिबियाबीच शुक्रबार भएको खेल वर्षाका कारण रद्द भएको थियो । पहिला ब्याटिङ गरेको नेपाल अन्तिम ओभरमा अलआउट हुनु १ सय ९७ रन जोडेको थियो । नामिबियाले ४ बल खेलपछि वर्षाका कारण थप खेल हुन सकेको थिएन् ।

स्कटल्यान्डले बिहीबार नामिबियालाई ४ विकेटले हराएको थियो । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्षस्थानमा छ । स्कटल्यान्ड २९ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ । नेपालमाथि विजय हात पारेमा स्कटल्यान्ड नेट रनरेटमा ओमानलाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ ।

नेपाल २० खेलबाट १८ अंकमात्र जोडेर छैटौं स्थानमा छ । १५ मध्ये १० खेलमा विजय हात पारेमा नेपाल कम्तीमा शीर्ष ५ भित्र पर्ने सम्भावना रहन्छ । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३५, नामिबिया ३३, यूएई २७ अंकसाथ क्रमश: तेस्रोदेखि पाँचौं स्थानमा छन् ।

जुलाईमा स्कटल्यान्डलाई उसैको भूमिमा नेपालले १ सय ४४ रनमा अलआउट गरी ५ विकेटको विजय हात पारेको थियो । स्कटल्यान्डमाथि कुनै पनि संरचनामा नेपालको त्यो पहिलो विजय थियो । त्यसको चार दिनपछि अर्को खेलमा स्कटल्यान्डले नेपालमाथि ८ विकेटको विजय हात पारेको थियो ।

स्कटल्यान्डले पछिल्ला ५ मध्ये ४ खेल जितेको छ । डेढ महिनाअघि अस्ट्रेलियामा भएको ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजमाथि ४२ रनको विजय हात पार्दै नामिबिया पुगेको स्कटल्यान्डले पूर्वकप्तान कायल कोएटजरको ५४ रनमा घरेलु टोलीविरुद्धको पहलिो खेलमा विजयको कथा कोरेका थिए ।

नामिबियाविरुद्ध वर्षा हुनुअघिको अन्तिम बलमा फिल्डिङका क्रममा बाउन्ड्री लाइनमा जुध्दा घाइते भएका कुशल भुर्तेल र ललित राजवंशी स्कटल्यान्डविरुद्धको खेलअघि फिट भइसकेका छन् । दुई वर्षअगाडि राष्ट्रिय टोलीमा ओपनिङ ब्याटिङबाट सनसनी सुरुआत गरेका कुशललाई प्रशिक्षक मनोज प्रभाकरले मध्यमक्रममा खेलाउने गरेका छन् । स्पिन बलिङबाट उनी टोलीमा उपयोगी खेलाडी बनेका छन् ।

सन्दीप लामिछाने बलात्कारको आरोपमा जेल चलान भएपछि स्पिनमा नेपालको प्रमुख बलर बनेका ललितले लिग २ मा दुई खेल खेले पनि अझै बलिङ गर्न पाएका छैनन् । सन् २०२० को फेब्रुअरीमा ललितले अमेरिकाविरुद्ध लिग २ मा आफ्नो पहिलो खेल कीर्तिपुरमा खेलेका थिए । तर अमेरिकालाई ३५ रनमा अलआउट गरेको उक्त खेलमा बलिङ नै गर्न नपाएका उनले वर्षाका कारण रद्द भएको नामिबियाविरुद्ध पनि बलिङ नै गर्नुपरेन ।

देव्रेहातेद्वय ललित र सागर ढकाल नेपाली टोलीका नियमित स्पिनर हुन् । ज्ञानेन्द्र मल्ल लयमा आउनु नेपाली ब्याटिङमा ठूलो राहत बनेको छ । लगातार दोस्रो खेलमा अर्धशतक बनाउनेक्रममा उनले नामिबियाविरुद्ध ७५ रन बनाएका थिए, जुन एकदिवसीय अन्तर्राष्ट्रियमा उनको व्यक्तिगत उच्च स्कोर पनि हो ।

नेपालको प्रमुख चिन्ता पुन: दीपेन्द्रसिंह ऐरीको ब्याटिङमा छ । नामिबियासँग पहिलो बलमै आउट भएका उनले लिग २ का १७ खेलमा एउटै अर्धशतक बनाउन सकेका छैनन् । लिग २ मा उनको औसत पनि १० मुनि छ । कप्तानी जिम्मेवारी पाएयता रोहित पौडेलको ब्याटिङ पनि खुल्न सकेको छैन ।

प्रकाशित : मंसिर १८, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?