कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नामिबियासँगको खेल  रद्द

काठमाडौँ — नेपाल र नामिबियाबीच विश्वकप लिग २ को खेल रद्द भएको छ । १ सय ९८ रनको लक्ष्य पाएको नामिबियाको इनिङ्स सुरु भएलगत्तै वर्षा भएपछि थप खेल हुन सकेन । 

नामिबियासँगको खेल  रद्द

नामिबियाले पहिलो ओभरको ४ बल खेल्दै ४ रन बनाएपछि वर्षा भएको थियो । वर्षा रोकिए पनि मैदान भिजेका कारण खेल अवरुद्ध भएको हो । दुवै टोलीले १–१ अंक पाएका छन् । नेपाल २१ खेलमा १८ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंकतालिकामा छैटौं स्थानमा यथावत छ ।

नामिबिया २८ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । ओमान ४४, स्कटल्यान्ड ४२, अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छ । यूएई २७ अंकसहित पाँचौं स्थानमा छ । लिग २ को शीर्ष तीन टोली सिधै विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छन् । यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७५ रनको सानदार इनिङ्स खेले पनि नेपालले नामिबियालाई मध्यम लक्ष्य दिन सकेको थियो । नामिबियाले टस जितेपछि ब्याटिङ गर्न आएको नेपाल ४९.५ ओभरमा १ सय ९७ रन बनाई अलआउट भयो ।

ज्ञानेन्द्रले विन्डहोकको युनाइटेड क्रिकेट क्लब मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । गत महिना यूएईसँग घरेलु शृंखलाको अन्तिम खेलमा ६४ रन बनाउनु एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर थियो ।

ज्ञानेन्द्रले ९४ बलको इनिङ्समा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन साउद र आसिफ शेखले पहिलो १० ओभरमा ३१ रन जोडेका थिए । अर्जुन १० औं ओभरको दोस्रो अन्तिम बलमा ४२ बलमा १८ रन बनाई बर्नान्ड स्कोल्ट्जको बलमा बोल्ड भए । अर्का ओपनर आसिफले ४६ बलमा २ चौकासहित २० रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमै आउट भए । ज्ञानेन्द्रले आरिफ शेखसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । आरिफले ४१ बलमा २ चौकासहित २१ रन बनाए । लिग २ मा दीपेन्द्रसिंह ऐरीको निराशाजनक प्रदर्शन निरन्तर रह्यो ।

कुशल भुर्तेलले १२ बलमा १ छक्कासहित १३, गुलशन झाले १८ बलमा २ छक्कासहित १८ रन बनाए । सोमपाल कामी १० रन बनाई आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले ३ र कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।

प्रकाशित : मंसिर १७, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?