नेपालले दियाे नामिबियालाई १९८ रनको लक्ष्य- खेलकुद - कान्तिपुर समाचार
विश्वकप लिग-२

नेपालले दियाे नामिबियालाई १९८ रनको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७५ रनको शानदार इनिङ्स खेले पनि नेपालले विश्वकप लिग-२ मा नामिबियालाई १ सय ९८ रनको मात्र लक्ष्य दिएको छ । नामिबियाले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।

ज्ञानेन्द्रले विन्डहोकको युनाइटेड क्रिकेट क्लब मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । अघिल्लो महिना यूएईसँगको घरेलु शृंखलाको अन्तिम खेलमा ६४ रन बनाउनु एकदिवसीय अन्तर्राष्ट्रियमा यसअघि उनको उच्च स्कोर थियो ।

ज्ञानेन्द्रले ९४ बलको इनिङ्समा ७ चौका र २ छक्का प्रहार गरे । नेपाली ब्याटिङ सुरुआतदेखि दबिएर खेलिएको थियो । अर्जुन साउद र आसिफ शेखले पहिलो १० ओभरमा ३१ रन जोडेका थिए । अर्जुन १० औं ओभरको दोस्रो अन्तिम बलमा ४२ बलमा १८ रन बनाई बर्नान्ड स्कोल्ट्जको बलमा बोल्ड भए । अर्का ओपनर आसिफले ४६ बलमा २ चौकासहित २० रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमै आउट भए । ज्ञानेन्द्रले आरिफ शेखसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । आरिफले ४१ बल खेलि २ चौकासहित २१ रन बनाए । लिग २ मा दीपेन्द्रसिंह ऐरीको निराशाजनक प्रर्दशन निरन्तर रहयो । उनी पहिलो बलमै क्याच दिन पुगे ।

कुशल भुर्तेलले १२ बलमा १ छक्कासहित १३, गुलशन झाले १८ बलमा २ छक्कासहित १८ रन बनाए । सोमपाल कामी १७ बलमा १० रन बनाई आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले १० ओभरमा १ मेडन राख्दै ४२ रन खर्चेर ३, कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।

प्रकाशित : मंसिर १६, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा १८ हजारभन्दा बढी मत बदर

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणाली तर्फको निर्वाचनमा जाजरकोटमा १८ हजार ६२ मत बदर भएको छ । जसमध्ये प्रतिनिधिसभातर्फ ३ हजार ६ सय ९६, प्रदेशसभा (१) तर्फ १ हजार ७ सय ९०, प्रदेशसभा (२) १ हजार ६ सय ८० र प्रदेशसभा समानुपातिकतर्फ ५ हजार ५ सय १०, प्रतिनिधिसभा समानुपातिकतर्फ ५ हजार ४ सय ६ मत बदर भएको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिनिधिसभामा ६५ हजार ३ सय ३३ मत खसेको थियो भने प्रदेश (१) मा ३६ हजार ७ सय ६ र प्रदेशसभा (२) मा २८ हजार ७ सय ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नविन कठायतले बताए । उनका अनुसार प्रदेशसभा समानुपातिकतर्फ ६५ हजार ३ सय १६ र प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार ६ सय ८९ मत खसेको थियो ।

जिल्लाभर कुल १ लाख ३ हजार ३६३ मतदाता थिए । मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णयमात्रै गरेको तर प्रभावकारी कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको सरोकारवाला बताउँछन् । यस पटकको निर्वाचनमा मतदाता शिक्षाको जिम्मा स्थानीय तहका वार्ड कार्यालयहरुलाई दिइएको थियो ।

‘कर्मचारीहरूले मतदाताले मत दिएको चुनाव चिह्न हेर्न त मिल्दैन तर नजान्नेलाई एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्नेछ जस्ता सामान्य ज्ञान दिन भने सकिन्छ,’ उनले भने, ‘हाम्रो क्षेत्रमा यस्तै अलमलमा परेका मतदाताको मत बदर हुन पुगेको हो । मत बदर हुनुको अर्को कारण अशिक्षा पनि हो । कतिपय ठाउँमा दलकै कार्यकर्ताले पनि चाहिनेभन्दा बढी ठाउँमा स्वस्तिक छाप लाउन सिकाएको पाइएको छ ।’

जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जाजरकोटका ७ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको बताएको छ । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख कठायत बताउँछन् । ‘हामीले मतदाता शिक्षा दिन सक्दो प्रयास गरेकै हौं, ठूलो क्षेत्र र कम जनशक्ति भएकाले दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस गर्नुपर्थ्यो’ उनले भने ।

यसैबीच, मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार एक प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको जाजरकोटमा प्रदेशमा नेकपा एमाले पहिलो स्थानमा छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ ।

यस्तै, प्रतिनिधिसभातर्फ कुल ६५ हजार ६ सय ८९ खसेको मतमध्ये २२ हजार ९३४ मतसहित कांग्रेस पहिलो, दोस्रोमा एमाले १९ हजार ७४९ मत प्राप्त गरी दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले १४ हजार ४ सय १२ मत प्राप्त गरी तेस्रो स्थानमा छ । कुल मतमध्ये प्रदेशतर्फ ५ हजार ५१० मत बदर भएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×