३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौँ — वाग्मती प्रदेशमाथि ७ विकेटको जित निकालेको सुदूरपश्चिम प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

मूलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो । वाग्मती प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेल्दा गजेन्द्र बोहोरा १९ रनमा अविजित रहे । यसअघि ओपनर दीपक बोहोराले १७ रनको व्यक्तिगत स्कोर बनाउँदा अर्का दीपक बोहोराले १० रनको पारी खेले । यस्तै मिलन बोहोराले ३३ रन जोड्दा ९ रन अतिरिक्त रन पाएको थियो । बलिङतर्फ वागमतीका रोशन विकले २ विकेट हात पारे भने प्रतिक श्रेष्ठको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले २८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २४ रनको योगफल बनाएको थियो । आकाश चन्दले ह्याट्रिक गरेका खेलमा प्रतीक श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा ओपनर सक्षम बस्ताकोटीले ३३ रनको योगदान गरेका थिए । रोशन विक २६ रनमा नटआउट रहे भने अन्य सात ब्याट्सम्यान शून्य रनमा पवेलियन फर्किएका थिए । वागमतीको इनिङलाई रोक्न आशास चन्दले ह्याट्रिकसहित ४ विकेट निकाल्दा हेमन्त धामीले ३, नरेन साउदले २ तथा युवराज खत्रीले १ विकेट आफ्नो नाममा लेखाए ।

लिग चरणका सबै खेलमा स्पष्ट जित निकालेर फाइनलमा स्थान बनाएको सुदूरपश्चिम प्रदेश १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । उता पराजित वागमतीले ६ खेलमा ८ अंक जोडेको छ । वागमती तालिकाको तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लुम्बिनी प्रदेशको समान अंक भएपनि नेट रन रेटको आधारमा देस्रो स्थानमा छ । अब लुम्बिनीले शनिबार हुने खेलमा मधेस प्रदेशलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ भने झिनो अन्तरले पराजित हुँदा पनि अघिल्लो चरण प्रवेश गर्नेछ । जारी प्रतियोगितामा एक खेलमा पनि जित निकाल्न नसकेको मधेस प्रदेशसँग फराकिलो अन्तरले पराजित गरेको अवस्थामा वाग्मतीको फाइनल प्रवेश सम्भावना रहन्छ ।

यस्तै कीर्तिपुर मैदानमा सम्पन्न अर्को खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै मधेस प्रदेशले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । मधेसले आफ्नो पाचौं खेलमा सुखद् नतिजा निकालेको हो । गण्डकीले दिएको २ सय १४ रनको लक्ष्य मधेसले निर्धारित ५० ओभर सकिन ९ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेटायो । पहिलो जित निकाल्ने क्रममा मधेस प्रदेशका ओपनर मयन यादवले ४९ रनको व्यक्तिगत स्कोर बनाउँदा मेघराज रामले ४३, इमरान शेखले २७, अलि अनसारीले ३२, सर्फराज मनसुरीले २१ रन जोडे । दाब्लु मलिक २१ तथा कप्तान अभिषेक तिवारी १३ रनमा अविजित रहे । मधेसको पाँच विकेट निकाकल्दा पाँच बलरले एक-एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । ओपनर गोविन्द बिकले अर्धशतकीय पारी खेले । ८४ बलको सामना गरेका गोविन्दले ४ चौकाको सहयोगमा ५३ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमाल ११ रनमा पवेलियन फर्किएका थिए ।

यस्तै सुजन गौतमले ३० रन जोड्दा, सुदीप अर्यालले २७, करण पंगेनीले २५, सिब्रिन श्रेष्ठले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । गण्डकीको सबै विकेट लिने क्रममा मधेसका अविजित मण्डल, नितिश यादव र अभिषेक तिवारीले समान २/२ विकेट हात पार्दा सिमन रोयले सर्वाधिक ३ तथा निकेश गुप्ताले १ विकेट निकाले । यससँगै गण्डकीले ६ खेलबाट पाँचौ हार भोगेको छ । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगितामा शनिवार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेश तथा मूलपानी मैदानमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर १६, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?