एक सज्जन खेलकर्मीको अवसान

हिमेश

काठमाडौँ — २०५९ साल । भर्खरै जसो राजा ज्ञानेन्द्रको शाही शासन सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्मा पनि नयाँ नेतृत्व आउने भयो । त्यो पनि शाही परिवारको निकै नजिकका नातेदार । ती अरू कोही होइनन्, किशोरबहादुर सिंह थिए । सदस्यसचिवमा नियुक्त हुन साता दिनअगाडि नै उनीसँग भेट्ने अवसर जुरेको थियो । कालिकास्थानमा भएको त्यस भेटमा उनी आफ्नो काँधमा निकै ठूलो जिम्मेवारी आएको बताउँथे । काम सुरु गरिहाल्न हतार गरिरहेका थिए ।

एक सज्जन खेलकर्मीको अवसान

उनीसँगको त्यो समयको पहिलो भेटकै अनुभव थियो, यिनी निकै सज्जन छन् । उनले त्यतिबेला बोलेको पहिलो भनाइ ठ्याक्कै यस्तो थियो, ‘खेलाडी पृष्ठभूमिको व्यक्तित्वले गर्दा मलाई खेलकुदलाई नजिकबाट बुझ्न गाह्रो हुने छैन । मैले यसलाई चुनौतीको रूपमा पनि हेरेको छु र आफ्नो कार्यकाल सफल हुनेमा विश्वस्त छु ।’ कुराकानीका क्रममा उनमा कुनै प्रकारको दम्भ देखिएन । नम्र थिए, सरल पनि । केही विस्तारै बोल्थे ।

बीचबीचमा आत्मीयता जनाउने मीठो हाँसो पनि हुन्थ्यो । आफू तत्कालीन राजपरिवारको नजिक भएको परिचय पनि दिन चाहेनन् । यिनै सिंहको बिहीबार निधन भयो । सायद यो एक प्रकारले अप्रत्यासित रह्यो, किनभने बुधबारसम्म उनी साथीभाइसँगकै भेटघाटमै थिए । असामान्य केही देखिएको थिएन । राति केही असजिलो महसुस भएपछि अस्पताल लगिएको थियो । स्वास्थ्य स्थिति एकाएक जटिल भयो र सबैलाई स्तब्ध पार्दै मृत्युवरण गरे ।

उनलाई हृदयघात भएको थियो । उनी ७३ वर्षका थिए । नेपाली खेलकुदको नेतृत्वमा उत्कृष्ट खेलाडी पृष्ठभूमिका व्यक्ति विरलै पुगेका छन् । त्यसमध्ये एक सिंह थिए । उनी नेपाली खेलकुदका पक्का ‘लेजेन्ड’ थिए । खेलाडीको खेलजीवनमा निकै उतारचढाव आउने गर्छ, उनी यस्तै भन्थे । त्यसैले जस्तै स्थितिमा पनि आफूलाई अभ्यस्त राख्नुपर्ने उनको सल्लाह हुन्थ्यो । उनको निधन नेपाली खेलकुदका लागि वास्तवमै ठूलो क्षति रहेको छ ।

ब्याडमिन्टनका अब्बल खेलाडी

सिंहको जीवनलाई सम्भवतः दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो खेलाडीका रूपमा । दोस्रो खेल प्रशासकमा रूपमा । त्यसमध्ये उनलाई सम्झिनुपर्ने खास कारण भने ब्याडमिन्टन खेलाडीका रूपमा हो । खेलाडी पनि कस्ता भने निकै अब्बल दर्जाको । उनको नाममा रहेको एउटा कीर्तिमान खुबै महान् छ । त्यो हो, उनले २०२९ सालयता लगातार छपल्ट एकल उपाधि जितेर नेपाल च्याम्पियन बनेको । समग्र नेपाली खेलकुदमै यस्तो प्रदर्शन दुर्लभ रहेको छ । उनलाई नै सोध्ने अवसर प्राप्त भएको थियो, त्यो समय तपाईंको खेलमा त्यस्तो के थियो त ? यसको उत्तरमा उनी सबैभन्दा पहिले मुसुक्क हाँसे । अनि आफूमा खासै केही विशेष नरहेको बताए । तर उनले के माने भने आफू विपक्षी खेलाडीको प्रदर्शन हेरेर कस्तो खेल खेल्नुपर्छ भन्ने रणनीति बुन्न भने माहिर छन् । भनिन्छ, उनी आफ्नो जीवनको उत्कृष्ट लयमा हुँदा कोही पनि उनको छेउछाउ पुग्न सकेनन् । सायद उनी ब्याडमिन्टन खेल्नकै लागि जन्मेका थिए ।

नेपाली ब्याडमिन्टनको एउटा ठूलो विशेषता के हो भने यो खेल राजपरिवारसँग निकै नजिकबाट जोडिन्छ । राजा महेन्द्र ब्याडमिन्टन संघकै नेतृत्वमा पनि रहे । सायद यही पृष्ठभूमिमा सिंह पनि ब्याडमिन्टनसँग जोडिए । तर यो खेलसँग जोडिनु र अब्बल खेलाडी हुनु दुई फरक कुरा हो । उनी नेपालको प्रतिनिधित्व गरेर खेल्नु नै आफ्ना लागि सबैभन्दा ठूलो उपलब्धि रहेको मान्थे । उनले भनेका थिए, ‘मेरो समय नेपाली ब्याडमिन्टनको स्वर्णिमकाल थियो ।’

त्यसो भनेको उनको समयमा ब्याडमिन्टन नेपालको नम्बर एक खेलजस्तै बनेको थियो । सन् १९७० मा बैंककमा भएको एसियाली खेलकुदमा नेपालले ब्याडमिन्टनतर्फ पहिलोपल्ट भाग लिएको थियो । त्यसकै एक सदस्य थिए यिनै सिंह । ६ खेलाडीले त्यसमा सहभागिता जनाएका थिए, त्यसमा एक त सिंह भए । अन्य खेलाडी थिए मोहनबहादुर शाही, गेहेन्द्रमान सिंह, बलराम केसी, पुरुषोत्तम केसी र ज्ञानबहादुर खड्का । त्यस अर्थमा पनि सिंह नेपाली ब्याडमिन्टनका ऐतिहासिक खेलाडी भए ।

सदस्य–सचिवका रूपमा ‘सफा’

सिंह परिषदका १४ औं सदस्य–सचिव थिए । उनले ०६३ सम्म त्यस पदमा रहे । उनको कार्यकालको सबैभन्दा ठूलो पक्ष थियो, आर्थिक रूपमा पारदर्शी काम । उनले त्यो समय तदर्थवादमा चलेको संघहरूलाई औपचारिक रूप दिन खोजे, साधारणसभा र चुनावबाट नेतृत्व छनोट गर्ने बाटो बनाए । त्यो आफैंमा ठूलो परिवर्तन थियो । तर पछि तिनै संघलाई विघटन गरेपछि त्यसले ठूलो विवाद पनि लिएको थियो, शाही शासन अन्त्य भएपछि ।

उनले परिषदको नेतृत्व लिएलगत्तै नवौं दक्षिण एसियाली खेलकुदको तयारी सुरु भएको थियो । उनले यसलाई ठूलो प्राथमिकतामा राखेका थिए । एक प्रकारले भन्दा सदस्य–सचिवका रूपमा परिषदमा उनको नेतृत्व ठीकै रह्यो । सदस्य–सचिव नियुक्त हुँदा नै उनी नेपाल ओलम्पिक कमिटीसँग पनि आबद्ध थिए । पछि ओलम्पिक कमिटीसँग व्यक्तिगत मनमुटावसुरु भयो । उनको समयमा परिषद र ओलम्पिक कमिटीबीच निकै बेमेल रह्यो ।

सम्भवतः परिषद र ओलम्पिक कमिटीबीच विवादले चर्को रूप लिएको समय उनको परिषदको कार्यकाल पनि रह्यो । पानी बाराबारकै स्थिति पुगेको थियो र एक समय नवौं दक्षिण एसियाली खेलकुदमा नेपालको सहभागिता नै अन्योल बनेको थियो । ओलम्पिक कमिटीको चुनाव प्रक्रियामा भाग लिएर त्यसलाई मान्न अस्वीकार गर्नु पनि सिंहको कमजोरी रह्यो । विवादबीचमै उनले जिन्म्यास्टिक संघको नेतृत्व पनि सम्हाले । तय छ उनलाई धेरै उच्च सम्मानले सम्झिनुपर्ने मूल कारण खेलाडीका रूपमा नै हो । यो नै उनीप्रति सच्चा श्रद्धान्जली हुनेछ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?