कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनीको फाइनल आस

काठमाडौँ — गत वर्षको विजेता लुम्बिनी प्रदेशले वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने आस कायमै राखेको छ । लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्‍यो ।

लुम्बिनीको फाइनल आस

साबिक उपविजेता सुदूरपश्चिम प्रदेश पहिलो ५ खेल जितेर शीर्षस्थानमा छ । ५ खेलमा ४ विजय हात पारेको लुम्बिनी र वाग्मतीको समान ८ अंक छ । राम्रो रनरेटका हिसाबमा वाग्मती दोस्रो स्थानमा छ । सबै ७ प्रदेशले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

निर्मल गुरुङले ५ विकेट लिएपछि टस जितेको प्रदेश १ टोलीले २६.२ ओभरमात्र खेलेर ६९ रनमै अलआउट भयो । शुभन गहतराजले २२ र स्टेन रिजालले १९ रन बनाउनुबाहेक प्रदेश १ बाट अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । प्लेयर अफ द म्याच निर्मलले ४.२ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर उत्कृष्ट बलिङ गरे । दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले १–१ विकेट लिए ।

लुम्बिनीले १६ ओभरमै लक्ष्य पूरा गर्‍यो । देव खनाल १९, आकाश त्रिपाठी १७ र प्रज्ज्वल थापा १५ रन बनाई आउट भए । सुनील भण्डारी ६ र विशाल भुसाल ८ रन बनाई अविजित रहे । प्रदेश १ का कप्तान दीपेश कँडेलले ३ र विपिन महतोले १ विकेट लिए ।

अर्को खेलमा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । पहिलो ४ खेल हारेको गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले हरायो । कर्णालीले पनि गण्डकीले जस्तै ५ मध्ये ४ खेल हारेको छ । गोविन्द बिक र अर्जुन कुमालको अर्धशतकमा गण्डकीले मूलपानी क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ३४ रन बनायो । गोविन्दले ५५ र अर्जुनले ५० रन बनाउँदै पहिलो विकेटमा २६ ओभरभित्र ९५ रन जोडे । गोविन्दले ८७ बल खेल्दै ७ चौका र १ छक्का तथा अर्जुनले १ सय ६ बल खेल्दै ३ चौका प्रहार गरे ।

करण पंगेनी १० र सिब्रिन श्रेष्ठ २६ रन बनाई आउट भए । दीपक डुम्रेले २७ बल खेल्दै ४ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान सुवास भण्डारी १७ बलमा २१ रन बनाई अविजित रहे । कर्णालीका आवास शाहले ३ विकेट लिए, तर त्यसका लागि उनले १० ओभरमा ७० रन खर्चन पुगे । मोहन विकले २ र विनित खत्रीले १ विकेट लिए । जवाफमा आएको कर्णाली ३० ओभरमा १ सय २५ रनमा अलआउट भयो । सुवास ऐरले ३२ रन बनाए । उनले ३६ खेल्दै ५ चौका प्रहार गरे । मनीष थापा १८, कप्तान विपिन रावल १८ र युनिश सिंह १२ रनमा आउट भए । गण्डकीका कप्तान सुवासले ६ विकेट लिँदै प्लेयर अफ द म्याच प्रदर्शन गरे । उनले १० ओभरमा ३ मेडन राख्दै २७ रन खर्चेर उत्कृष्ट बलिङ गरे । सिब्रिनले ३ र निर्तेश गिरीले १ विकेट लिए ।

प्रकाशित : मंसिर १६, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?