सुदूरपश्चिम फाइनलमा

काठमाडौँ — सुदूरपश्चिम प्रदेश आफ्नो शतप्रतिशत जित यात्रा कायम राख्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेटको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमको यो लगातार पाँचौं जित हो । सुदूरले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मधेस प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । यो जितपछि सुदूरपश्चिमको ५ खेलबाट १० अंक भएको छ ।

सुदूरपश्चिम फाइनलमा

बुधबार मूलपानी मैदानमा भएको अर्को खेलमा लुम्बिनीले वाग्मती प्रदेशलाई ८५ रनले हराएको थियो । यससँगै वाग्मतीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । हारका बावजुत वाग्मती ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ । फाइनल प्रवेशका लागि टोली बलियो प्रत्याशी रहेको छ । लुम्बिनी भने ४ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ ।

मधेस प्रदेश भने आफूले खेलेका सबै चार खेलमा पराजित रह्यो । टोली अंकविहीन अवस्थामा पुछारमै छ । लिग चरणका खेलको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ । सुदूरपश्चिमले जितका लागि १ सय २३ रनको लक्ष्य पाएकोमा त्यसलाई ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए । उनको आक्रामक इनिङ्समा ६ चौका र २ छक्का सामेल थियो ।

टस जितेर ब्याटिङ गरेको मधेस भने ३८.१ ओभरमा १ सय २२ रनमात्र बनाएर अलआउट भयो । अली अन्सारीले त्यसमा ३२ रनको योगदान दिए । सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । अर्कोतर्फ जितका लागि २ सय ३५ रन पछ्याएको वाग्मती ३५.१ ओभरमा १ सय ४९ रनमात्र बनाउन सफल रह्यो । त्यसका कप्तान अशोक पौडेलको ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४ विकेट लिए भने अभिषेक गौतम र तुलबहादुर थापाको नाममा समान २ विकेट रह्यो । यसअघि टस जितेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाउनु अगाडि २ सय ३४ रन बनाएको थियो । लुम्बिनीका देव खनालले ४६ रन बनाए । आकाश त्रिपाठीले ४० रनको योगदान दिए । यो जितपछि लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ । वाग्मती भने ५ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?