कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वाग्मतीको प्रभाव निरन्तर

काठमाडौँ — सुदूरपश्चिमले जस्तै वाग्मती प्रदेशले पनि वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो खेल जितेको छ । वाग्मतीले मंगलबार कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो । अर्को खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि १० विकेटको जित निकाल्यो । 

वाग्मतीको प्रभाव निरन्तर

सुदूरपश्चिम र वाग्मतीको समान ८ अंक छ । राम्रो रनरेटका हिसाबमा सुदूरपश्चिम शीर्षस्थानमा छ । सबै ७ प्रदेशले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । लुम्बिनी प्रदेशको ३ खेलमा ४ र प्रदेश १ को ४ खेलमा ४ अंक छ । कर्णालीले ४ खेलमा २ अंकमात्र जोडेको छ । गण्डकीले ४ र मधेसले ३ खेल हारेका छन् । कर्णाली, गण्डकी र मधेस फाइनल दौडबाट बाहिरिइसकेका छन् ।

ओपनर विपिन रावलले ६८ रन बनाए पनि कर्णाली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३६.२ ओभरमा १ सय ३० रनमै अलआउट भयो । कप्तान विपिनले ९२ बल खेल्दै ९ चौका प्रहार गरे । अर्का ओपनर मनीष थापाले ३५ बल खेलेर ४ चौका प्रहार गर्दै २५ रन बनाए । यी दुईबाहेक दोहोरो स्कोर बनाउनेमा अनिरुद्ध कुँवर (११) मात्र थिए ।

सक्रिय कार्कीले ५ विकेट लिँदै कर्णालीको स्कोर खुम्च्याउन सहयोग गरे । प्लेयर अफ द म्याच उनले ७.२ ओभरमा २ मेडन राख्दै २३ रन खर्चे । अहमद राजाले ७ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ तथा ओमकार यादव र अभिषेक कोइरालाले १–१ विकेट लिए ।

ओपनर लक्की कठायतले अविजित ५१ र कप्तान अशोक पौडेलले ५९ रन बनाएपछि वाग्मतीले ३०.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । सक्षम बस्ताकोटी २, उत्तम थापामगर १ रनमै आउट भए पनि लक्की र अशोकले तेस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे । लक्कीले ९२ बल खेलेर ८ चौका र अशोकले ६४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । कर्णालीका अनुज चुनारा, युनिश सिंह र आवास शाहले १–१ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले १९.३ ओभरमै ७२ रन बनायो । सोनु अन्सारीले ६७ बलमा ४ चौका र १ छक्कासहित ४५ र शुभन गहतराज ५० बलमा ३ चौका प्रहार गर्दै २४ रनमा अविजित रहे ।

यसअघि मधेसको इनिङ्स ३१.३ ओभरमा ७० रनमा खुम्चिएको थियो । ओपनर मायन यादवले १९ र दब्लु मलिकले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । प्रदेश १ का दीपेश कँडेलले ८.३ ओभरमा ३ मेडन राख्दै ६ र विपिन महतोले ८ ओभरमा २ मेडन राख्दै १४ रन खर्चेर ३–३ विकेट लिए । सन्देश भट्टराईले २ तथा आशिष मगर र अश्विन महतोले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?