२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अब आहा–रारा पोखरा गोल्डकप

सहारा र हिमश्री फुड्सबीच १० वर्षे प्रायोजन सम्झौता
दीपक परियार

पोखरा — आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अब ‘आहा–रारा पोखरा गोल्डकप’ को नामबाट हुने भएको छ । पोखराको व्यावसायिक घराना केसी ग्रुपले थप १० वर्ष मुख्य प्रायोजनलाई निरन्तरता दिने सम्झौता भएसँगै प्रतियोगिताको नाम फेरिएको हो । केसी ग्रुपको हिमश्री फुड्स प्रालिले प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आएको थियो ।

अब आहा–रारा पोखरा गोल्डकप

उक्त अवधि १० वर्ष बढाउने प्रतियोगिता आयोजक सहारा क्लब र हिमश्री फुड्सबीच मंगलबार पोखरामा सम्झौता भएको छ । प्रालिका कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहाराका अध्यक्ष हरिराम गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । २०८८ सम्मको सम्झौताबमोजिम हिमश्रीले कुल २ करोड ७१ लाख क्लबलाई प्रदान गर्नेछ । पोखराका समाजसेवी, उद्योगी एवं पूर्वसांसद सूर्यबहादुर केसीको पहल र सक्रियतामा ०५९ मा आहा गोल्डकपमा हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउले मुख्य प्रायोजनको सम्झौता गरेको थियो । त्यसको १० वर्षपछि ०६९ आहा–रारा गोल्डकप नामकरणमा १० वर्षको करार भएकोमा अब आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नामकरणसहित सम्झौता भएको हो ।

मुख्य प्रायोजनवापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र ०८८ मा २७ लाख रुपैयाँ चरणबद्ध रूपमा प्रदान गर्ने सहमति भएको छ । प्रतियोगिताको व्यवस्थापकीय पक्षका लागि प्रालिले प्रत्येक ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र ०८८ मा ७ लाख रुपैयाँ प्रदान गर्नेछ । पछिल्लोसहित ३० वर्षसम्मको दीर्घकालीन सम्झौता नेपाली खेलक्षेत्रमा मुख्य प्रायोजनवापत सबैभन्दा लामो समयसम्मको पहिलो सम्झौता हो ।

यसबाहेक हिमश्रीले स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीलाई दुई वर्षदेखि वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । १० वर्षसम्मको उक्त सम्झौताबमोजिम ३० लाख रुपैयाँ प्राप्त भइसकेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बुवा (सूर्यबहादुर)को खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गरे । उनीहरूले बावुको पदचाप आफूहरूले पछ्याएको र आगामी दिनमा समेत सन्ततिले पनि सहारालाई टेवा दिइरहने विश्वास व्यक्त गरे । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा मोफसलको प्रतिष्ठित क्लब रहेको बताउँदै उनीहरूले आफूहरूबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

सहारा क्लबले पहिलोपल्ट ०५८ मा क्याराभान गोल्डकप गरेको थियो । त्योसहित अब २२ औं संस्करण पुस १४ देखि २३ पोखरा रंगशालामा हुँदै छ । प्रतियोगितामा १० टिमले भाग लिनेछन् ।

कठिन परिस्थिति एवं विपन्न वर्गका बालकलाई शिक्षा, दीक्षा तथा फुटबल सिकाउन आवासीय सुविधासहित क्लबले पोखरा–१७ दोभिल्लामा स्व.सूर्यबहादुर केसी सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचका १३ बालक आश्रित छन् ।

आहा–रारा पोखरा गोल्डकपको मुख्य प्रायोजन गर्ने सम्झौतापत्र गर्दै हिमश्री फुड्सकी प्रेमकुमारी केसी र आयोजक सहारा क्लबका हरिराम गुरुङ । तस्बिर : दीपक/कान्तिपुर

प्रकाशित : मंसिर १३, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?